चितवन —गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १६ की ६८ वर्षीया कृष्णकुमारी थापा रहेकी छन् ।
थापालाई घरमै बसिरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा गैंडाले आक्रमण गरेको हो । मंगलबार बिहान खैरहनीको ज्यामिरे क्षेत्रमा २ जनालाई घाईते बनाएको सो गैंडाले दिउँसो रत्ननगर पुगेर थापालाई आक्रमण गरेको हो। खैरहनीमा घाइते हुनेहरुमा कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत छन्।
मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। थापाका श्रीमान् डम्बरबहादुर थापा समेत गैंडाको आक्रमणबाट घाइते भएका वडाध्यक्ष हेमराज थापाले जानकारी दिए।
रत्ननगरमा गैंडाको आक्रमणबाट थापाका श्रीमान् सहित अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा रत्ननगर न.पा.१२ बस्ने बर्ष ७२ का चेतनाथ चौलागाई, बर्ष ३९ की सीता पोख्रेल, बर्ष २५ को पुजन बि.क र रत्ननगर १४ बस्ने बर्ष ६० की मिना गुरुङ छन्। घाइतेहरूको भरतपुर सरकारी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको सो गैंडाले पौष १३ गते राप्ती नगरपालिकाको अमिलिपानी सामुदायिक वन क्षेत्रमा २ जनालाई घाइते बनाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।
मंगलबार विहान खैरहनी क्षेत्रमा देखापरेको गैंडालाई नियन्त्रणमा लिन हात्ती सहितको टोली खटिएको थियो। तर स्थानीयको अत्याधिक भीडका कारण गैंडा भड्किएर घटना घटेको मगरले बताए। गैंडा हाल रत्ननगरको वार्ड नम्बर ९ मा रहेको मिलिजुली सामुदायिक वनमा प्रवेश गरेको छ।।



