उज्यालो दर्पण- चितवनको खैरहनीमा आयोजित अन्तरविद्यालय चित्रकला प्रतियोगितामा आधारभूत विद्यालय शान्तिबजारकि शुभेच्छा काफ्ले प्रथम भएकी छन्।
खैरहनी ३ को आधारभूत विद्यालय गोठश्वरको ५७ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित सामुदायिक विद्यालयको आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा काफ्ले प्रथम भएकी हुन् ।
प्रतियोगितामा नगर भित्रका २० वटा सामुदायिक विद्यालयका ३८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा जनएकता आधारभूत विद्यालयका छात्र रोशन राजवंशी द्वितीय र माध्यमिक विद्यालय गवैका छात्र आरभ ढकाल तृतीय हुन सफल भएका छन् भने आधारभूत विद्यालय कुनाघारीका छात्रा करिश्मा कुमारी बैठाले सान्त्वना पुरस्कार जितेकी छन् ।

विद्यार्थीमा अन्तरनिहीत प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक गोकुल पराजुलीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष पूर्ण बहादुर गुरुङ, कार्यपालिका सदस्यद्वय विष्णुमाया विक र आनन्दराम दराई, वडा सदस्यहरू प्रज्वला कुमारी घिमिरे, माधव श्रेष्ठ र कृष्णबन्धु भुर्तेल, विद्यालय व्यवस्थापन समितिको सदस्य शिव आले मगर लगायतको उपस्थिति थियो ।

सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रममा वार्षिक खेलकुद, पुरस्कार वितरण, शिक्षक सम्मान, विज्ञान प्रदर्शनी, लगायतका कार्यक्रम हुनेछन् । वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल कार्यक्रम यहि पौष २२ गते हुनेछ ।




