रत्ननगर १५ मा लोकसेवा तयारी कक्षाको समापन

Click Image

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाको समापन गरिएको छ । सोमबार माधवपुर माविमा आयोजित एक औपचारिक कार्यक्रमका बिच तयारी कक्षाको समापन गरिएको हो ।

समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले विद्यार्थीहरुलाई आफ्नो निजामती जीवन बारेको अनुभव सुनाउंदै कठोर मेहेनत गरेमात्र लोकसेवा परिक्षामा सफलता पाईने बताए । सरकारी सेवाको क्षेत्रमा चितवनबासीको सहभागिता अत्यन्त न्यून रहेको भन्दै लम्सालले यस्ता नि:शुल्क तयारी कक्षाहरुले रत्ननगरका युवालाई सरकारी सेवामा जोड्न मद्दत मिल्ने बताए ।

कार्यक्रममा सभाध्यक्ष, वडाध्यक्ष आशिक तामाङले शिक्षित बेरोजगार न्यूनीकरणका लागी वडा कार्यालयले कक्षा संचालन गरेको जानकारी दिए । तयारी कक्षाले ‘देश बनेन भनेर चिन्तित युवा’हरुलाई देश बनाउने अभियानमा जोडने तथा विदेश पलायन रोक्ने विस्वास आफुले लिएको उनले बताए ।

लोकसेवा सारथि प्रा.लीले तयारी कक्षाको सहजीकरण गरेको थियो । कक्षामा ३५ जना विद्यार्थी सहभागी थिए । सुरुमा ६० दिन भनेर सुरु गरिएको कक्षा विद्यार्थीहरुकै अनुरोधमा ८० दिन सम्म संचालन गरिएको हो । कक्षामा सहभागीहरुलाई नि:शुल्क पुस्तक समेत वितरण गरिएको थियो।

कार्यक्रममा वडासदस्यद्वय लिलादेवी पोखरेल र रुकमाया परियार, लोकसेवा सारथीका संचालक महेश घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य मदन भुजेलले संचालन गरेका थिए ।

Previous articleक्यानडा समिट २०२५ आयोजना गर्दै आइसीसीसी
Next articleसबेरै भूकम्पको धक्का; सयौं मानिसहरू सडकमा निस्किए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।