विराटनगर, १२ फागुन । कांग्रेसले बिपी कोइरालाको वृक्षको फल खाइसकेर, पात लुछेर बोक्रासमेत ताछ्न थालेको कांग्रेसबाट निर्वाचित उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले बताएका छन् ।
मोरङ कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् । उनले पार्टी र संगठनमा लागि खट्ने नै कोही नभएको गुनासो गरे ।
नेपाली जनप्रतिनिधि आफ्नै ढंगले परिचालन हुन थालेको र पार्टीको निर्देशनसमेत नमान्ने गरेको गुनासो बढेपछि अयोजना गरिएको छलफलमा पार्टी पंक्ति र जनप्रतिनिधिबीच एकअर्कामा आरोपप्रत्यारोप चलेको छ ।
जनप्रतिनिधिले मनोमानी गरेको आरोप लगाउँदा, पार्टीले समेत सहयोग नगरेको जनप्रतिनिधिको गुनासो थियो ।
पार्टीको टिकट पाएर पालिकामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेका जनप्रतिनिधिको व्यवहार दुई वर्षमै फेरिएको भन्दै टिकाटिप्पणी हुने गरेको छ ।
कांग्रेस भातृ संगठन तरुण दल विराटनगरका सभापति अरुण न्यौपानेले जनप्रतिनिधिले पार्टीले टिकट दिएको कारण विजयी भएको भन्ने कुरा बिर्सन नहुने बताए ।
सोमबार आयोजित छलफलमा भने पार्टी प्रतिनिधिले जनप्रतिनिधिलाई आफ्नो धरातल नभुल्न र पार्टीलाई वाईपास नगर्न सुझाएका छन् ।
नेपाली मोरङ कांग्रेसले आयोजना गरेको नेपाली कांगे्रस र जनप्रतिनिधिबीच एक दिने अन्तरसंवाद कार्यक्रममा पार्टी प्रतिनिधिले आफ्नो गुनासो खुलेर राखेका छन् ।
फेरि पार्टी नै चाँहिदैन जस्तो व्यवहार जनप्रतिनिधिबाट हुने गरेको सहभागीको गुनासो थियो ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस क्षेत्रीय सभापति दिपिल पोखरेलले हिजो टिकट दिने पार्टीलाई नै वास्ता नगर्दा जनप्रतिनिधिसंग जनता र सिंगो पार्टीपंक्तिको गुनासो चुलिएको बताए ।
नेपाली कांग्रेस विराटनगरका कार्यवाहक सभापति अरुणकुमार न्यौपानेले स्थानीय तहमा धेरैजसो जितेर जानेहरु युवा भएकोले उनीहरुले त्यहीअनुरुपको कार्यक्रम ल्याएर जनस्तरमा जानुपर्ने बताए ।
उनले भने ,‘‘अब बाँकी अढाई वर्ष कसरी काम गर्ने भन्ने स्पष्ट खाका बनाउनु पर्छ । पार्टीसंग सुझाव लिंदा पनि हुन्छ । फेरि जनतासंग जाँदा के दियौ भनेर प्रश्न उठ्ने भएकोले त्यसबारे सचेत हुन जरुरी छ ।’’
न्यौपानेले आउँदो चुनावको एजेन्डा नै जनप्रतिनिधिको कामको आधारमा पार्टीले तय गर्ने भएकोले अति नै सुझबुझ ढंगले काम गर्नुपर्ने बताए ।
उर्लाबारी नगरपालिकाका प्रमुख तथा मोरङ क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोले वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आदि नेताहरुले बनाएको कांग्रेसको पात झरेर अब बोक्रामात्र रहेजस्तो देखिएको टिप्पणी गरे ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले कांग्रेसबाट निर्वाचित बनेका ठाउँमा नेकपा सरकारले असहयोग गर्ने अधिकृत पठाउने गरेको गुनासो गरे ।
जनताले करको विषयमा धेरै नै गुनासो गरेकोले आफ्नो पालिकामा समेत त्यस विषयमा पुर्नविचार गर्ने योजना रहेको सुनाए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ हुन निरन्तर छलफल जरुरी भएको सुनाए । पराजुलीले कांग्रेसले जितेका पालिकाहरुमा निक्कै राम्रो काम भएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य डा। डिला संग्रौलाले विकासमा कुनै पनि कमजोरी नगर्न र जनताको भवनाको कदर गर्न पालिका प्रमुख तथा जनप्रतिनिधिहरुलाई सुझाव दिएकी थिइन ।
मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध टुटे जस्तो, केही अभाव भए जस्तो र समन्वय नभए जस्तो देखिएकोले नै कार्यक्रम आयोजना गरिएको बताए ।
The post कांग्रेस वृक्षको फल खाएर पात लुछियो, बोक्रा उक्काउँदैछौँ appeared first on Koshi Online.


