कतारमा ईलिगल बस्नेहरुलाई खुशीको खबर: जरिवाना र कैद बिना नै आममाफी

कतारमा ईलिगल बस्नेहरुलाई खुशीको खबर: जरिवाना र कैद बिना नै आममाफी

दोहा, कतार : कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई कैद र जरिवाना नलिई आममाफी दिने भएको छ । कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा पुगेका कामदारलाई सरकारले कैद र जरिवाना बिना नै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले २०१५ को कानून नं २१ को प्रावधान अनुसार आप्रवासीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आममाफीको प्रक्रिया शुरु गरिएको बताएको छ । आममाफीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ । आममाफीका लागि अवैधानिक हैसियतमा रहेका विदेशी कामदारले कतार सर्च एण्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइमिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।

कतारले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि श्रम कानूनमा व्यापक रूपमा सुधार गरिरहेको बताउँदै आएको छ । तर कतारमा कार्यरत नेपालीका संस्था तथा स्वयं कामदारहरूले कम्पनीले समयमा भिसा नवीकरण नगरिदिएको, तलब सुविधा नदिएको र कम्पनी बन्द भएका कारण बाध्यतावश कम्पनी छाड्दा गैरकानूनी हैसियतले बस्नुपरेको बताएका छन् ।

कतारमा वैधानिकरूपमा झण्डै तीन लाख नेपाली कतारमा कार्यरत रहेको भएपनि अवैधानिक हैसियतले बसेका नेपालीको संख्या एकिन हुन नसकेको कतारस्थित नेपाली दूतावासले बताउँदै आएको छ । तिलु शर्मा पौडेल/मध्यान्ह 

https://ujyaalonepalnews.com/archives/16071

Previous articleमलेशियामा विशाक्त र’क्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृ’त्यु
Next articleप्रचण्ड चितवन ओर्लेकै दिन ४५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।