रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो चितवनको; प्रहरी भन्छ दोषीलाई कारबाही हुन्छ

Click Image

उज्यालो दर्पण- रातको समयमा चितवन भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको छ । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

घटना गत पुषको १५ गते आसपासको भएको बुझिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार संलग्न प्रहरीलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको लागी प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महत्तोको कमाण्डमा ५ सदस्यीयीय टोली परिचालन गरिएको छ। घटना आँपटारी गणेशस्थान आसपासको भएको भनिएता पनि स्थान र संलग्न प्रहरीको पहिचान खुलाईएको छैन ।

भिडियोमा एक प्रहरीले साँझको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घातरुपमा कुटपिट गरेको देखिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको पनि देखिन्छ । त्यहाँ सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देखिन्छ ।

‘कसलाई फोन गर्छस् गर’ भन्ने आवज समेत भिडियोमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ । ‘भिडियोको यथार्थ पहिचान गरेर सम्बन्धित प्रहरीमाथि प्रहरी ऐन अनुसार कारबाही हुन्छ,’ उनले भने ।

यसैबीच चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालले दोषीलाई तत्काल कारबाहीको लागी आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल संगको संवादमा ढकालले घटना प्रति निन्दा गर्दै दोषीलाई कारबाहीको लागी आग्रह गरेका हुन् ।

Previous articleएमाले रत्ननगरको दशौं अधिवेशनको तयारी; ५९९ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन
Next articleजनताको सेवा संगै कृषि कर्ममा रमाईरहेका पौरखी वडाध्यक्ष
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।