थ्री स्टार र सुदूरपश्चिम उपाधि भिडन्तमा

0
51

धनगढी । मोफसलकै सर्वाधिक धनराशिको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणले मंगलबार नयाँ च्याम्पियन पाउदै छ । नयाँ च्याम्पियन बन्ने दाँउमा ललितपुरको रुस्लान थ्री स्टार क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदै छ ।

खेल धनगढी रंगशालामा दिउँसो २ बजेपछि हुनेछ । यसअघिको तीन संस्करणमध्ये पहिलो संस्करणमा मनाङ–मस्र्याङ्दी क्लब, दोस्रो संस्करणमा विभागीय त्रिभुवन आर्मी क्लब र तेस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।
मंगलबार हुने फाइनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । चौथो संस्करणसम्म आइपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । दुवै टोली मंगलबार खप्तड गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् । थ्री स्टार लगातार दोस्रोपटक फाइनलमा पुग्दै उपाधि नजिक पुगेको हो । अघिल्लो वर्ष थ्री स्टार पुलिससँग पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो । यसपटक थ्री स्टार त्यो गल्ती नदोहो-याउने योजनासहित घरेलु टोलीविरुद्ध मैदानमा उत्रनेछ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो भएको थ्री स्टार औसत खेल र खेलाडीको बाबजुत घरेलु टिमलाई निराश बनाउने योजनामा छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले फाइनल खेल फाइनल नै हुने र मिहिनेत गरेर खेल्दै स्कोर निकाल्न सकिए च्याम्पियन बन्न सक्ने बताएका छन् । एक साताअघि झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मच्छिन्द्रसँग पराजित भएर उपाधि विमुख बनेको थ्री स्टार लिगपछिको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यता, पहिलोपटक घरेलु दर्शकमाझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम–११ थ्री स्टारलाई पराजित गर्दै अर्काे इतिहास रच्ने दाउमा रहनेछ । सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्नेमा ढुक्क रहेको बताएका छन् ।

९ फागुनदेखि सुरु भएको चौथो संस्करणको गोल्डकपमा १२ टोलीले प्रतिपर्धा गरेको थियो । गोल्डकपको विजेताले २१ लाख १ रुपैयाँ हात पार्नेछ । उपविजेताले १० लाख १ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाइकल प्रदान गरिनेछ । यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार प्रदान गरिनेछ ।

The post थ्री स्टार र सुदूरपश्चिम उपाधि भिडन्तमा appeared first on Rajdhani Daily News.

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल

Previous articleवीउ विजन किनबेचमा ४६ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्धा
Next articleआवाज, अक्षर र लोकतन्त्र