पाँच महिना अगाडि होटेल म्यानेजमेन्ट पढ्ने भन्दै चीन पसेका एक जना भाइ केही दिन मात्रै चीनबाट दुईगुना बढी भाडा तिरेर चीनबाट थाइल्यान्ड हुँदै नेपाल फर्केका छन् । पढाइको सिलसिलामा चीनको सिचुवान प्रान्तमा बस्ने उनको इनटर्न सुरु हुनै लागेको थियो । २० दिन बढी कोठाभित्रै बिताएका उनी खानाको कमी भएर नेपाल फर्केका हुन् । उनका अनुसार जब उनी त्रिभुवन विमानस्थलमा उत्रिए उनले सोचेअनुसार शारीरिक चेकजाँच केही पनि भएन । ज्वरो आएको छ कि भनेर सामान्य जाँचसम्म पनि भएन । हेल्थ डेस्क राखेर बसेका आफ्नै तालमा परै मस्त थिए । समग्रमा उनको कुनै पनि प्रकारको स्वास्थ्य जाँच गरिएन । ३ हजारभन्दा बढी प्रकारका धान मात्र फलाउने चीनमा अहिले खानाको कमी भए पनि प्रत्यक्ष्य स्वास्थ्यकर्मीको निगरानीमा रहेका उनलाई यदि नेपालमा त्यस्तो केही भइहाल्यो भने हाम्रो सरकारले यही पाराले काम गर्दा कसरी उम्कन नसकिएला भन्ने बढी चिन्ता लागेको सुनाए । अहिले पनि चीनबाट दिनहुँ सयौंको संख्यामा चाइनिज नेपाल आइरहेका छन् । यसरी सजिलै आउन सक्ने वातावरणमा कुनै न कुनै दिन उनीहरूले कोरोना भाइरस नेपाल नभियाउलान भन्न सकिन्न । विमानस्थलमा हुने चेकजाँचलाई औपचारिकतामा मात्र सीमित नराखी आफ्ना जनताको जीउज्यानको सुरक्षाको प्रबन्ध गहिराइसाथ गरिनुपर्छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा ७५ हजार बढी संक्रमित र २१ सयभन्दा बढीको मृत्यु भइसकेको छ । चीनबाहेक अन्य देशमा ५ सय जना संक्रमित ६ जना भन्दा बढीको मृत्यु भएको भनिएको छ । कोरियाले पनि २५ हजार मानिसलाई घर बाहिर ननिस्कन भनेको छ । चीनले कोरोना भाइरसको प्रभाव घटाउन गरिरहेका कामलाई विश्वले सह्रानीय भनिरहेको छ । १० दिनमा १ हजार शøयाको अस्पताल बनाउन सक्ने चीनलाई समेत कोरोना भाइरसले अहिले आतंकित बनाएको छ । ती भाइरसका अनुसार विश्वमा अहिलेसम्म अपनाइएका सुरक्षाका सबैभन्दा बढी उपाय चीनले अपनाइरहेको छ । अहिलेसम्म कसैसँग नझुकेको चीनले संयुक्त राष्ट्रसंघलगायत अन्य देशसँग सहयोग लिन तयार भएको देखिन्छ । लगभग देशैभरि मानिसलाई घरबाहिर जानबाट वञ्चित गरिएको छ । तीन दिन दिइएको बिदा १९ दिनसम्म बढाइएको छ । साढे १ हजारभन्दा बढीको ज्यान गएको भनिए पनि मृत्युदर यो भन्दा बढी पनि हुन सक्ने आंकलन गर्न थालिएको छ । स्याटालाइटबाट देखिएको वुहान राज्यमाथि मान्छेको लास जलाउँदा निस्कने सल्फरडाइअक्साइडको मुस्लोले स्थानीयलाई आतंकित बनाइरहेको छ ।
केही वर्षअघि गाउँमा रहेकी मेरी आमाले एकसाताको अन्तरालमा पाँचवटा दाँत झिक्नुभयो । उनका अनुसार वर्षैपिछे अस्पतालमा दाँतका डाक्टर आएकाले अब दाँतको दुखाइ सहनुभन्दा ती डाक्टर यहाँबाट जानुभन्दा पहिले सबै दाँत झिकिसक्ने उनको विचार रहेछ । केही दिनअघि कर्णाली प्रदेशको हुम्लामा भाइरल ज्वरोले सात जनाको ज्यान लिनुका साथै गाउँभरि सिटामोलको अभाव भएको थियो । दुर्गममा बेलाबेला ज्वरो, पखालजस्ता रोगको समयमै औषधि पु¥याउन नसक्दा कतिपयको ज्यान जाने गरेको छ । रगतको अभावमा घाइते, सुत्केरी भएका महिलाले आर्मीको भर पर्नुपरेको छ । अहिले पनि कर्णाली जिल्लामा सय रुपैयाँ नतिरे तुइनसम्म चढ्न नपाइँदो रहेछ । यस्तोमा सामान ढुवानी गर्न अत्यन्तै कठिनाइ हुन्छ । यस्तै ठाउँमा जनचेतना, साक्षरता, सरसफाइको कमीले विभिन्न रोग देखापर्ने गर्छन् । गाउँघरमा बसोबास घटेसँगै बँदेलजस्ता जंगली जनावरको बिगबिगी बढेको छ । घरसम्मै आइपुग्ने बँदेलको शरीरमा सबैभन्दा बढी नाम्लेकीरा हुन्छन् । यदि यस्ता किराहरूबाट कोरोनाजस्तै भयानक रोग लाग्ने हो भने एउटा पनि ठूलो अस्पताल नभएको र जीवनजलसम्म नपाइने दुर्गम ठाउँको हालत कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ ।
सरकारी अस्पतालमा उपचारका लागि जाँदा उपकरण नभएर वा कमिसनका लागि निजी अस्पतालमा उपचार गर्न पठाउने कतिपय सरकारी अस्पतालको अवस्था आवश्यक उपकरण र डाक्टरको अभावमा नाजुक रहेको देखिन्छ । २०७५ फागुनमा सरकारले देशका पाँच अत्याधुनिक अस्पतालभित्र डडेल्धुरा अस्पताल पनि पारेको थियो । ४२ जना विशेषज्ञ चिकित्सक, २ सय बढी स्वास्थ्यकर्मीको दरबन्दी भए पनि केही महिना अगाडि अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक थिएनन् । निमित्त एक जना मेडिकल सुपरिटेन्डन पनि सुत्केरी स्याहार बिदामा गएपछि पूरै अस्पताल अहेबको भरमा चलेको थियो । एउटा छापाका अनुसार कान्ति बालअस्पतालमा एक महिनामा २ हजार २ सय बिरामीलाई मेसिन बिग्रेकाले निजी अस्पतालमा पठाइएको रहेछ ।
बिरामीको ढाड सेक्नेगरी त्यति धेरै बिरामीलाई निजीमा पठाउँदासम्म किन समयमै उपकरण बनाउने प्रयास हुँदैन वा नयाँ उपकरण खरिद हुँदैनन् ? वीर अस्पतालमा रेडियोथेरापी सेवा, मेसिन अभावका कारण चार वर्षदेखि बन्द रहेछ । सो सेवा बन्द हुनुभन्दा अगाडि दैनिक ७० जनासम्मले रेडियोथेरापी सेवा लिने गरेका रहेछन् । देशभरिका गरिब तथा साधारण नागरिकले उपचार गर्न सक्ने भनेको वीर अस्पताल हो । त्यहाँ पनि करिब ४८ करोडमा अमेरिकाबाट किनेर ल्याएको क्यान्सरको उपचार गर्ने मेसिन पनि स्थान अभावकै कारण थन्क्याएर राखिएको रहेछ ।
केही महिना अगाडि झोले डाक्टरको गलत उपचारको कारण बाँकेमा साला र भिनाजु नाता पर्ने दुई जनाको मृत्यु भएको थियो । त्यसपछि झोले डाक्टर फरार छन् । यसरी नै त्यहाँका जनता वर्षौंदेखि झोले डाक्टरले दिएको महँगो औषधि खाने र ज्यान गुमाउँदै आएको थाहा भएको छ । आफ्नो देशको उपचार सर्वसुलभ र भरपर्दो नभएकै कारण कतिपय बिरामी भारतको लखनउ, पिथौरागढ र दिल्लीसम्म पुग्न बाध्य छन् । जाडोको समयमा पानी कम वा नपर्ने भएकाले प्रदूषणको मामलामा विश्वमै सातौं नम्बरमा रहेको राजधानीमा धुवाँधुलोको मात्रा बढ्दै जानुले मास्कले पनि काम नगर्ने जनाइएको छ । यसले स्वास्थ्य समस्या झनै निम्त्याउने देखिन्छ । बालबच्चा र वृद्धवृदालाई यसलै अझै सताउने देखिन्छ । प्रदूषणका कारण पनि निमोनिया हुन सक्ने जनाइएको छ ।
नेपालको संविधानको भाग ३ को धारा ३५ को उपधारा एकमा स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिएको छ । जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भन्ने लेखिएको छ । तर, अहिले हेर्ने हो भने धुवाँ, धुलो, खानामा हालिने कीटनाशक औषधि तथा अन्य कारणले विभिन्न रोग देखा परेर बिरामीको संख्या बढ्दै गइरहेको छ । तर यस्ता रोगको उपचार भने यति धेरै महँगो र अप्ठेरो छ कि कतिपय बिरामीलाई यसले बाँच्नु न मर्नुको दोसाँधमा ल्याएर उभ्याएको छ । उपचार गर्न नसकेर गरिब नेपालीले बेलाबेलामा आफन्तको ज्यान जोगाउन सञ्चार माध्यमबाट सहयोगको याचना गर्ने गरेका छन् । यदि हाम्रो देशमा सस्तो र सर्वसुलभ उपचार हुन्थ्यो भने उपचारका लागि भीख माग्नुपर्ने अवस्था कहिले पनि आउँदैनथ्यो ।
The post चीनबाट सिक्नुपर्ने पाठ appeared first on Rajdhani Daily News.
फ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी


