रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

Click Image

चैत २५ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।

Previous articleजर्मनीका लागि नेपाली राजदूत रुपाखेतीविरुद्ध चितवन जिल्ला अदालतमा फौजदारी मुद्दा
Next articleदुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो काठमाडौँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।