विद्यालय नै बन्द गरेर शिक्षक/जनप्रतिनिधि ७ दिने भ्रमणमा

दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणमा निस्किएका छन्।

असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवारसहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना सुरु भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बुधबारदेखि ७ दिनका लागि विद्यालयमा तालाबन्दी गरिएको हो।

नमुना विद्यालय कार्यक्रमअन्तर्गत शिक्षा विभागबाट प्राप्त ६ लाख रुपैयाँ अनुदान खर्च गर्न यो भ्रमण आयोजना गरिएको बताइएको छ। बुधबार बिहानै विद्यालयबाट बस रिजर्भ गरेर भ्रमण टोली हिँडेपछि सयौँ विद्यार्थीको पठनपाठन ठप्प भएको छ।

भ्रमणमा वडा अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरूले आफ्ना आफन्तजस्ता असम्बन्धित व्यक्तिहरूलाई समेत लगेको आरोप छ।

विद्यालयका सहायक प्रधानाध्यापक चित्र थापाले यो कदम नमुना विद्यालय कार्यक्रमको नीतिविपरीत र पूर्णतः मनोमानी भएको बताए। ‘कार्यक्रम सञ्चालन समितिलाई कुनै जानकारी नदिई एकलौटी निर्णय गरियो। त्यसैले, म लगायत धेरै शिक्षकहरू यो भ्रमणमा गएका छैनौँ,’ थापाले भने।

यस विषयमा प्रतिक्रिया लिन प्रधानाध्यापक पूर्णबहादुर भण्डारीलाई पटकपटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।

Previous articleएसइई कायम राख्न मन्त्रालयको प्रस्ताव
Next articleबालमैत्री स्थानीय शासन प्रक्रियागत कार्यान्वयनको लागी सचेतना -याली कालिका ६ (फोटोफिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।