रत्ननगर, चितवन — रत्ननगर १४ पिठुवास्थित जनजागृति माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई, शुभकामना तथा शैक्षिक परामर्श कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ३.६ जिपिएभन्दा माथिको नतिजा ल्याउने २५ जना मेधावी विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
सो अवसरमा एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई आफूले पढाएको विषयमा सफल गराउन योगदान दिने शिक्षकहरूलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ। परिक्षामा अङ्ग्रेजी, नेपाली र कम्प्युटर शिक्षामा शत प्रतिशत उत्तीर्ण भएका छन् भने अन्य सबै विषयमा ९०% बढी विद्यार्थी उतिर्ण भएका छन् । शत प्रतिशत विद्यार्थी उतिर्ण गराई सम्मानित हुनेहरुमा अंग्रेजी विषय तर्फ रोहिणी न्यौपाने, द्रोण नारायण पौडेल, धर्मराज बस्ताकोटी र राजीव पौडेल, नेपाली विषय तर्फ आत्माराम लम्साल, शारदा आचार्य, पुष्प खनाल र कम्प्युटर साईन्स तर्फ सन्दीप श्रेष्ठ छन्।

विद्यालयले एसईई २०८१ मा ९२.६८ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको उल्लेख गर्दै पूर्वी चितवनकै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार श्रेष्ठले विद्यालयको उपलब्धि र आगामी शैक्षिक योजनाबारे जानकारी गराउँदै प्राप्त नतिजा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयासको प्रतिफल भएको बताए।

त्यसैगरी कक्षा ११/१२ का इञ्चार्ज रामचन्द्र खनालले विद्यालयमा कक्षा ११ को भर्ना खुलिसकेको जानकारी गराउँदै कम्प्युटर साइन्स सहित व्यवस्थापन तथा शिक्षा समूह अन्तर्गत नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन सुरु गरिने जानकारी दिए।
कार्यक्रम नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले विद्यालयले देखाएको उत्कृष्ट शैक्षिक प्रदर्शनको मुक्तकण्ठले प्रशंसा गर्दै नगर र पूर्वी चितवनमै गौरवको विषय भएको उल्लेख गरे। विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको शुभकामना दिंदै नगरप्रमुख सापकोटाले विद्यालय र विषय छनौट गर्दा ध्यान दिनुपर्ने बताए । नगरभित्र कोही विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित नहोस् भन्ने सोचका साथ नगरपालिकाले आवश्यक व्यवस्था गरेको भन्दै उनले जनजागृतिको शैक्षिक उन्नयनमा आफु सधै सहयोग गर्न तयार रहेको आश्वासन पनि दिए।

कार्यक्रममा पुर्व प्रअ विनोद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खनाल, कार्यपालिका सदस्य सानु भण्डारी, पुर्व विद्यार्थी नवराज रिजाल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा निर्माण व्यवसायी समेत रहेका रिजालले रत्ननगर १४ बसोबास गरेर जनजागृति माविबाट एसईई परिक्षा दिई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद १० हजार सहित सम्मान गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक आत्माराम लम्सालले स्वागत् मन्तव्य राखेका थिए। कार्यक्रम विद्यालयका अर्का सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी रोहिणी न्यौपानेले संचालन गरेका थिए ।












