रत्ननगर,भदौ ६- पुर्वी चितवनको रत्ननगर-४ स्थित न्यू क्यापिटल कलेजले आफ्नो रजत महोत्सवको अवसरमा आयोजना गरेको पूर्वी चितवनस्तरीय आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।
शुक्रबार कलेज परिसरमा आयोजित उक्त प्रतियोगितामा कालिका नगरपालिकाको कालिका भजन समूहले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा खैरहनी-२ को जन चेतना आमा समूह दोस्रो, हंसेश्वर आमा समूह तेस्रो र खैरहनी-९ को धौलागिरी आमा समूहले सान्त्वना स्थान प्राप्त गरे। विजयी टोलीहरूले क्रमशः नगद रु. १७,०००, रु. १३,०००, रु. १०,००० र रु. ५,००० सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे। सो कार्यक्रममा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो।
कुल ९ वटा आमा समूहले सहभागिता जनाएको
प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष टिकाराम लामिछाने, सदस्य प्रकाशमणि सापकोटा र खैरहनी नगर शिक्षा समितिका सदस्य मीरा खरेल रहेका थिए ।
कार्यक्रमको सभापतित्व डा. तारा प्रसाद ढुंगानाले गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवन शाखाका पूर्व अध्यक्ष आनन्द रन्जित प्रमुख अतिथिको रूपमा रहेका थिए।
कलेजका प्राचार्य भूपेन्द्र धितालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन तथा समन्वय श्रद्धा अर्यालले गरेकी थिइन् ।
तीजको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै स्थानीय आमा समूहहरूको प्रतिभा प्रस्तुत गर्ने यो कार्यक्रमले समुदायमा उत्साह र एकता थपेको कलेजले जनाएको छ।

