नमुना विद्यालय : जहाँ स्कुले विद्यार्थीले पढाइसंगै भात पकाउन सिक्छन्

0
67

 

सिन्धुपाल्चोक । गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र छरिएर रहेका मावि सम्मका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एकै विद्यालयमा राखेर गुणस्तर शिक्षा दिने उदेश्यले नमुना विद्यालय निर्माणको सुरुवात गरेको हो ।

हेलम्बु गाउँपालिका इचोकको घोप्टेघ्याङमा निर्माण सुरुवात गरिएको नमुना विद्यालयमा यो वर्ष १८ कोठाको विद्यालय भवन निर्माण सकिने र आगामी शैक्षिक सत्र देखि कक्षा नै सुरु हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

सुविधा सम्पन्न विद्यालयमा सबै विद्यार्थीहरुका लागि नयाँ शैलिको छात्राबास समेत निर्माण हुने छ । ‘हामी एकै कोठामा धेरै विद्यार्थी राख्ने भन्दा गाउँको परम्परागत शैलिको घरहरु निर्माण गरेर विद्यार्थीहरुलाई छात्राबासमा राख्ने योजना बनाएका छौ ।’ अध्यक्ष शेर्पाले भने ।

विद्यार्थीहरु आफै कृषि उत्पादनमा जोडिनेछन्,होस्टेलमा बस्ने विद्यार्थीहरुले आफैले उत्पादन गरेका कृषि सामग्री उपभोग गर्ने योजना गाउँपालिकाले अघि सारेको छ

निर्माण हुदै गरेको नमुना विद्यालय भवन र नमुना विद्यालयको बारेमा जानकारी दिदै गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा

‘हामीले ल्याएको अवधारणमा छात्राबासमा कम्तीमा ५ देखि ८ जना सम्म विद्यार्थीहरु बस्छन्,भान्साकोठा देखि सबै सुविधा छात्राबासमा नै हुने गर्छ’ अध्यक्ष शेर्पाले भने ‘विद्यार्थीहरु आफै खाना पकाएर खान्छन् र स्कुल छाड्दा कम्तीमा पनि खाना कसरी पकाउने यो उनीहरुले विद्यालयबाट नै सिक्छन् ।’

नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सार्वजनिक जग्गा र व्यक्तिको जग्गा भाडामा लिएर कृषि उत्पादनमा लगाउने योजना रहेको अध्यक्ष शेर्पाले सुनाए।

विद्यार्थीहरु आफै कृषि उत्पादनमा जोडिनेछन्,होस्टेलमा बस्ने विद्यार्थीहरुले आफैले उत्पादन गरेका कृषि सामग्री उपभोग गर्ने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

गाउँपालिकको आन्तरिक स्रोत,जिल्ला समन्वय समिति र वाग्मती प्रदेशको सामजिक विकास मन्त्रालयको सहयोगमा १४ कोठा र चार कोठा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको सहयोगमा यो वर्ष १८ कक्षा कोठा निर्माण सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिए ।

नेपालका हिमाली रेन्जका सामुदायिक विद्यालयहरु सुधार गर्ने हो भने सबै जिल्लामा यही अवधारण ल्याउनु पर्ने अध्यक्ष शेर्पाले बताए । ‘सरकारी विद्यालयहरु बचाउनका लागि पनि हामीले यो अवधारण ल्याएर काम समेत सुरु गरेका छौ,यो देशभरका लागि नमुना हुने छ,’ अध्यक्ष शेर्पाले भने । नमुना विद्यालय निर्माण हुने आसपासाका गाउँका बालबालिकाहरुका लागि भने बालविकासदेखि कक्षा १० सम्म यही विद्यालयमा पढाउने र गाउँपालिकाभरका मावि तहका विद्यार्थीहरुलाई भने यही विद्यालयमा ल्याएर अध्यापन गराउने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । सुरुमा कक्षा १० सम्म र त्यसपछि १२ कक्षा र पछि आवश्यकताको आधारमा स्नातक तहसम्म यही विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउने अध्यक्ष शेर्पाले बताए । यहाँ अध्ययन गरेका विद्यार्थीहरु पुर्णतय व्यावसायीक हुने छन् ।

विद्यालय टाढा हँुदा दैनिक चार घण्टा आवतवाजत हुँदा विद्यार्थीहरुले पढ्न नसकेको र विद्यालय छाड्ने समस्या धेरै नै भएपछि आफुहरुले सबैको सल्लाहमा यो अवधारण ल्याएको अध्यक्ष शेर्पाले प्रष्ट पारे ।

अहिले पनि मावि तहसम्म सञ्चालन भएका विद्यालयहरुमा पर्याप्त विषयगत शिक्षकहरु छैनन्,सरकारको खर्च पनि बढी नै रहेको छ ‘नमुना विद्यालयमा हामी एउटा विषयको कम्तीमा पनि १० जना विषयगत शिक्षकहरु राखेर गुणस्तरीय शिक्षा दिने छौ’ अध्यक्ष शेर्पाले भने । नमुना विद्यालय सञ्चालन भएपछि क्रमश गाउँपालिकाभरका मावि तहसम्म पढाई हुने विद्यालयहरु हटाउँदै लैजाने नीति गाउँपालिकाले अघि सार्ने गाउँपालिकाले जानकारी दिएको छ ।

हेलम्बु गाउँपालिकामा हाल नौ वटा मावि तहसम्मको पढाई हुने विद्यालयहरु रहेका छन् । ति मध्ये देशकै नमुना माविको रुपमा परिचित मेलम्ची घ्याङ मावि भने तत्कालन नहटाउने योजना रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

भुकम्पपछि हेलम्बु क्षेत्रमा कारितास स्वीजरल्याण्ड विद्यालय भवनहरु निर्माण सम्पन्न गरेको थियो । गाउँपालिकाको अग्रसरतामा निर्माण हुन लागेको नमुना विद्यालयको पनि सबै डिजाइन कारितास स्वीजरल्याण्डले निर्माण गरेको विद्यालय जस्तै हुने गाउँ पालिकाले जानकारी दिएको छ ।

यो वर्ष १८ कक्षा कोठा निर्माण सकिने र आगामी वर्ष अरु थप गरेर ४० वटा सम्म कक्षा कोठा निर्माण गरिने योजना गाउँपालिकाको रहेको छ । ४० कोठाले पनि पुगेन भने अरु कक्षा कोठा पनि क्रमश थप हुदै जानेछ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले थपे । नमुना विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाल,कम्प्युटर ल्याब,पुस्ताकालय,खानेपानी,खेल मैदान लगायत सबै सुविधा हुने छ ।

नमुना विद्यालयमा प्रधानध्यापकले शैक्षिक क्षेत्रको मात्रै व्यवस्थापन गर्नेछन् भने अरु सबै व्यवस्थापनका लागि विद्यालय निर्देशक नियुक्ती गर्ने योजना गाउँपालिकाका रहेको छ । ‘प्रअलाई नै सबै जिम्मा दिदा विद्यालयको पठनपाठन लगायत व्यवस्थापन राम्रो नहुने हामीहरुको अनुभवले प्रमाणित गरेको छ,त्यसैले निर्देशकले प्रशासनीक र अरु व्यवस्थापन हेर्छन्,प्रअले पठनपाठन हेर्छन् ।’ अध्यक्ष शेर्पाले भने ।

नमुना विद्यालयमा हेलम्बु गाउँपालिका सहित अन्य जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थी सहित करिब १ हजार विद्यार्थीहरु हुने गाउँपालिकाले अनुमान गरेको छ ।

The post नमुना विद्यालय : जहाँ स्कुले विद्यार्थीले पढाइसंगै भात पकाउन सिक्छन् appeared first on Rajdhani Daily News.

रत्ननगरको भद्रकाली मन्दिरमा पूजा आराधना सहित शिवरात्री पर्व मनाइयो

Previous articleहुलाकी सडकको काम गुणस्तरहीन : प्रभु साह
Next articleदेउवाद्वारा होलीको शुभकामना व्यक्त