कालोबजारी गर्नेमाथि कडा कारबाही गर

काठमाडौं उपत्यकालगायत देशभरमा कोरोना संक्रमणको त्रास फैलिरहेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिरहेका छन् । कोरोना संक्रमणको त्रास फैलाएर उपभोक्तालाई एकैपटक खाद्यवस्तु किन्न लगाउने र मृल्यवृद्धि गर्ने काम गरिएको छ ।

व्यापारीले यसरी मनपर्दी गर्दा सरकारका सरोकारवाला निकायले कडा कारबाही गर्न सकेका छैनन् । विशेषगरी यस्तो विसम अवस्थामा सरकारका सम्बन्धित निकाय संवेदनशील भएर नागरिकका तमामखाले समस्या समाधान गर्न लाग्नुपर्छ । हिन्दूको महत्वपूर्ण पर्वमध्येको एक होली पर्वको आगमनसँगै उत्साह थपिइरहेको अवस्थामा सर्वसाधारण जनता महँगीको मार खेप्न बाध्य भइरहेका छन् । महँगीका कारण जनतामा त्यति धेरै उत्साह जागृत हुन सकेको छैन । दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नु अमानवीयताको पराकाष्ट हो । कोरोना भाइरसको आतंक सिर्जना भइरहेको अवस्थामा कालोबजारीको अर्को आतंक सिर्जना गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्ने माथि कडा कारबाही गर्ने बताए पनि उनले व्यावहारिक रूपमा त्यसरी कारवाही गर्न सकेका छैनन् । यस्तो अवस्थामा मन्त्री भट्ट आफैं बजार अनुगमनमा खट्नुपर्छ र आफ्ना संयन्त्रलाई नियमित रूपमा नै अनुगमनमा खटाउन सक्नुपर्छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रतिनिधिले पनि कालोबजारी रोकथाम गर्न आवश्यक पहल गर्नुपर्छ ।

अहिले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा माक्स, सेनीटाइजरलगायतका वस्तुको अभाव हुन थालेको छ । कोरोना भाइरसको संक्रमणको हल्ला यसरी फैलाइएको छ कि यसले सबै क्षेत्रलाई गाँजेको जस्तो भ्रम समेत फैलाइएको छ । वास्तवमा त्यस प्रकारको भ्रम फैलाउनु गलत हो । हामीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक सर्तकता अपनाउनुपर्छ । त्यसो भन्दैमा कोरोना भाइरसको संक्रमण फैलिएको जसरी नै तर्सनु र चिन्ता मान्नुपर्ने अवस्था भने किमार्थ छैन । सरकारले पनि आवश्यक तयारी र पूर्वसचेतता अपनाउन सबै नागरिकमा अपील गर्दै आइरहेको छ । विभिन्न जिल्लाका प्रशासन कार्यालयले पनि त्यस क्षेत्रका नागरिकले सचेतता अपनाउनुपर्ने आवश्यकता आंैल्याउँदै आएका छन् ।
हामीकहाँ कुनै पनि विषयलाई अतिरञ्जित बनाएर भयानक स्थिति सिर्जना गर्ने र अस्थिर तथा आतंकको वातावरण सिर्जना गरी आफ्नो निहित स्वार्थपूर्ति गर्ने पक्ष पनि निकै शक्तिशाली अवस्थामा छन् ।

हिजो भूकम्पको समयमा होस् वा अहिले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थामा होस् त्यस प्रकारको गलत प्रवृत्ति भएका व्यक्ति तथा समूह हाबी हुने प्रवृत्ति उस्तै अवस्थामा छ । यो सबै दण्डहीनताको संस्कृतिको उपज हो । लोकतन्त्रमा दण्डहीनताको संस्कृति मौलाउँदै गयो भने सिंगो शासकीय पद्धति नै कमजोर हुन सक्ने सम्भावना रहन्छ । त्यसैले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तत्वलाई समयमा नै पहिचान गरी कडाभन्दा कडा कानुनी दायरामा ल्याउन सकिएको भए नागरिकले समस्या भोग्नुपर्दैनथ्यो । सरकारी निकायमा रहेका मन्त्री, सचिव , महानिर्देशकले कुनै कार्यक्रममा गएर कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिने होइन उनीहरूले त कालोबजारी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने हो त्यसो गर्न सकेमा मात्रै सरकारप्रति जनताको विश्वासको वातावरण बढेर जान्छ ।

The post कालोबजारी गर्नेमाथि कडा कारबाही गर appeared first on Rajdhani Daily News.

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Previous articleमनाङको जितमा अञ्जन नायक
Next articleनेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।