२३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो ।
पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनकेा पाटन अस्पतालमै उपचार भइरहेको छ । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।

२५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान
२३ वैशाख, काठमाडौं । सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । २५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो ।
तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ । वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिए ।


