काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले नेपालमै पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्न लागेको छ। दक्षिण कोरियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रत्यक्ष जानकारी र अवसर प्रदान गर्ने उद्देश्यसहित मेला आगामी नोभेम्बर ८ तारिखमा काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने संघले जनाएको छ। आज बागबजार स्थित हार्दिक होटेलमा आयोजित एक पत्रकार सम्मेलनमा संस्थाले यस सम्बन्धी जानकारी दिएको हो।
सन् २०२५ मा स्थापित गैरनाफामुखी संस्था नेक्सा (नेक्सा) ले शैक्षिक परामर्श क्षेत्रमा पारदर्शिता, सत्य निष्ठा र पेसागत मानकलाई प्रवर्द्धन गर्दै आएको संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विद्यार्थीको अधिकार संरक्षण र गुणस्तरीय परामर्श सेवा सुनिश्चित गर्न संस्था निरन्तर क्रियाशील रहेको अध्यक्ष सन्तोष खनालले बताए।
उक्त प्रेस विज्ञप्तिका अनुसार हाल दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि तीव्र रूपमा आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदै गएको छ। आधुनिक शैक्षिक पूर्वाधार, अनुसन्धान केन्द्रित शिक्षा, लचिलो प्रवेश प्रक्रिया, किफायती शुल्क र पढाइपछि रोजगारीका प्रशस्त अवसरहरूले यस देशलाई लोकप्रिय बनाएको संघको भनाइ छ। कोरियाली विश्वविद्यालयहरूले अङ्ग्रेजी भाषामै स्नातक तह अध्ययन गर्न सकिने, १०० प्रतिशतसम्म छात्रवृत्ति पाउने र नपाउने विद्यार्थीका लागि समेत किफायती शुल्कमा अध्ययन गर्न सकिने सुविधा प्रदान गर्ने गरेका छन्। त्यस्तै, पढाइसँगै पार्ट–टाइम काम गर्ने, पढाइपछि पोस्ट–स्टडी वर्क भिसा (PSW), E7 वा प्रत्यक्ष वर्किङ भिसा पाउने अवसर पनि उपलब्ध छन्।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस फेयरमा विद्यार्थीहरूले विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी अध्ययन कार्यक्रम, शुल्क संरचना, छात्रवृत्ति अवसर र भविष्यका रोजगारी सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउनेछन्। मेलामा न्यूनतम प्रति सेमेस्टर करिब ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मका कार्यक्रमहरू प्रस्तुत गरिने छन्, जसले फरक–फरक आर्थिक पृष्ठभूमिका विद्यार्थीका लागि अध्ययन विकल्प सहज बनाउनेछ।
फेयरमा सहभागी विद्यार्थीहरूले आकर्षक गिफ्ट ह्याम्पर, १०० प्रतिशतसम्म छात्रवृत्ति र ‘अन स्पट एडमिसन’ जस्ता विशेष सुविधा पाउनेछन्। मेलामा चार कोरियाली विश्वविद्यालय — Daewon University College, Yewon Arts University, Dong-Eui University र Namseoul University — का प्रतिनिधिहरू प्रत्यक्ष उपस्थित रहनेछन्। साथै, करिब ४० वटा प्रतिष्ठित शैक्षिक परामर्श संस्था सहभागी हुने बताइएको छ।
नेक्साका अनुसार, यो शैक्षिक मेलाले विगतमा देखिएका भ्रामक गतिविधिबाट उत्पन्न अविश्वास हटाई शैक्षिक परामर्श क्षेत्रप्रति पारदर्शिता र विश्वास पुनर्स्थापना गर्ने उद्देश्य राखेको छ।
संघका अध्यक्ष खनालका अनुसार यो फेयरले विद्यार्थी, अभिभावक र शैक्षिक समुदायलाई विश्वसनीय जानकारीका माध्यमबाट सही निर्णय गर्न सहयोग पुर्याउनेछ। साथै, यसले नेपालको शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, अनुशासित र सम्मानित बनाउन योगदान पुर्याउनेछ।
पत्रकार सम्मेलनलाई नेक्साका अध्यक्ष सन्तोष खनाल, वरिष्ठ उपाध्यक्ष आशिष कुँवर, कार्यक्रम संयोजक रविन ढकाल लगायतले सम्बोधन गरेका थिए भने महासचिव गणेश बेल्वासेले सञ्चालन गरेका थिए।




