पिठुवा डेरीमा नेपाल–बंगलादेश किसान अन्तरक्रिया

Click Image

रत्ननगर, चितवन । दुग्ध उत्पादन तथा पशुपालन क्षेत्रमा देखिएका चुनौती र सम्भावनामाथि नेपाल र बंगलादेशका किसान बीच अन्तर्क्रिया कार्यक्रम गरिएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा नेपाल भ्रमणमा रहेका १८ सदस्यीय बंगलादेशी टोली र स्थानीय किसानबीच रत्ननगरको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थामा प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा दुग्ध उत्पादन, पशुपालन प्रवर्द्धन, सरकारी नीति, दुग्धजन्य पदार्थको बजार विस्तार, मूल्य अस्थिरता, उत्पादन लागत, र भण्डारण प्रणालीजस्ता विषयमा विस्तृत छलफल भएको थियो।

दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार, यो कार्यक्रमको उद्देश्य नेपालमा उत्पादन हुने दुग्धजन्य पदार्थ बंगलादेशमा निर्यात गर्न सकिने सम्भावना पहिचान गर्नु हो। “नेपालमा गुणस्तरीय दूध उत्पादनको राम्रो आधार छ। यदि सरकारी प्रणाली, भण्डारण, प्रशोधन र अन्तर्राष्ट्रिक मापदण्ड पूरा गर्न सकियो भने नेपालबाट बंगलादेशमा दूधजन्य पदार्थ बिक्रीको ठूलो बाजार खुल्न सक्छ,” अध्यक्ष बगालेले बताए।

कार्यक्रम अन्तर्गत बंगलादेशी टोलीले पिठुवा डेरीमा सञ्चालित दुग्ध विविधिकरण आयोजना अवलोकन गरेको थियो । साथै टोलीले खैरहनी–४ स्थित सृजना पशुपंक्षी फर्म, र रत्ननगर–१२ मा अध्यक्ष बगालेले नै संचालन गरेको गोरखकाली गाई फर्म समेत अवलोकन गरेको थियो। यी फर्महरूमा दाना व्यवस्थापन, जैविक सुरक्षा, आधुनिक गोठ संरचना, मलमुत्र व्यवस्थापन, घाँसखेती, दूध संकलन र बजारीकरण लगायतको विषयमा टोलीले प्रत्यक्ष अध्ययन अध्ययन गरेको थियो ।

आगन्रतुकहरुलाई स्वागत गर्दै रत्ननगर–१६ का वडा अध्यक्ष हेमराज थापाले कृषि र पशुपालनमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका थिए। यस्तै पिठुवा डेरीका अध्यक्ष गंगाराम गुरुङले नेपालमा दुग्ध उत्पादन र बजारीकरणमा सफल ‘सहकारी मोडल’ का बारेमा बंगलादेशी टोलीलाई अवगत गराएका थिए ।

कार्यक्रम पिठुवा डेरीका सचिव रोहिणी बजगाईंले सञ्चालन गरेका थिए ।

Previous articleशिक्षा मन्त्रीको शिक्षा : सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ
Next articleजेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।