Home चितवन सेरोफेरो चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन, मंसिर ७– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो ।

एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइदैछ । यही खण्डमा पर्ने टिकौली जंगल खण्डमा नेपालकै पहिलो आकर्षक फ्लाइओभर समेत बन्ने भएको छ । बरण्डाभार क्षेत्रमा पर्ने सडक खण्डमा फ्लाइओभर बनाउन लागिएको हो । आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको जानकारी दिए । दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ ढकालले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ जुन पुलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकले फोटो र भिडियो खिच्न पाउने उनले सुनाए ।

फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन् । ‘फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ‘वन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् ।’

आयोजनाले नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा रहेको र निर्माणका लागि तयार पारिएको डिजाइन पनि स्वीकृत हुने चरणमा रहेको ढकालले जानकारी दिए । जसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए ।

Previous articleकालिकामा जिप दुर्घटना हुँदा खैरहनीका राममणि न्यौपानेको मृत्यु
Next articleदुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।