उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ मा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाले एकवर्षमा झन्डै साढे पाँच करोड रुपियाँ बराबरको दुध र दुग्धजन्य पदार्थ विक्री वितरण गरेको छ। संस्थाले सो अवधिमा झन्डै ३ करोड रुपैयाँ बराबरको दुध तथा २ करोड ३२ लाख रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ उत्पादन तथा विक्री गरेको हो। शनिवार आयोजित संस्थाको ३३ औं वार्षिक साधारणसभामा सो तथ्यांक प्रस्तुत गरिएको हो।
साधारणसभामा सहकारीका गतिविधि, उपलब्धि र आर्थिक अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। सो अवसरमा बजारीकरण संयोजक रामचन्द्र दुवाडीले उत्पादन तथा विक्री वितरणसम्बन्धी प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अध्यक्ष गंगाराम गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था र भविष्यका योजनाबारे जानकारी दिए। त्यस्तै व्यवस्थापक गुणराज रेग्मीले आय–व्यय विवरण तथा लेखा संयोजक सन्तोष लामाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमा संस्थामा एकवर्षको अवधीमा धेरै दुध विक्री गर्ने किसानहरुलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो। पुरस्कृत हुनेहरुमा ६० हजार ८१४ लिटर दुध विक्री गर्ने निरा बस्नेत प्रथम, ५६ हजार ३२ लिटर दुध विक्री गर्ने मुना अर्याल दोस्रो र ४९ हजार ६१४ लिटर दुध विक्री गरी तृतीय देवकी रेग्मी छन् । उनीहरुलाई क्रमश १० हजार, ९ हजार र ७ हजार नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सान्त्वना पुरस्कारतर्फ भरत भण्डारी, सिता ढकाल र अर्जुनकुमार सापकोटालाई जनही २–२ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ।
त्यसैगरी गुणस्तरीय दुध विक्रीतर्फ पूर्णमान श्रेष्ठ र गौतम अधिकारी, दुध ल्याउने भाँडा सरसफाइतर्फ द्रोणप्रसाद रेग्मी र लक्ष्मीकान्त रेग्मी पुरस्कृत भएका छन्। उत्कृष्ट कर्मचारीतर्फ लेखापाल निरोज तिवारीलाई सम्मान गरिएको थियो। साथै निवर्तमान कार्यसमिति तथा लेखा समिति सदस्यहरूलाई पनि कदर गर्दै सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले स्थानीय सरकार सधैं किसानको हक र हितको पक्षमा रहेको उल्लेख गर्दै किसानका लागि पर्याप्त बजेट विनियोजन गरिएको र सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी अनुदान, तालिम र सहजीकरण गरिँदै आएको बताए।
त्यस्तै विशिष्ट अतिथि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको मागका आधारमा आवश्यक तालिम उपलब्ध गराइने र पशु स्वास्थ्य उपचारका लागि जिल्ला संघले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा जिल्ला सहकारी संघले सो संस्थालाई उपलब्ध गरेको टेलिभिजनको समेत रिमोट थिचेर उदघाटन गरिएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष बद्रीप्रसाद अर्याल, संस्थापक सदस्य नेत्रप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए। साधारणसभामा वडा सदस्यहरू सरिता गुरुङ, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, पिठुवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु भण्डारी कट्टेललगायत व्यक्तिहरू अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रबहादुर मगरले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव रोहिणी बजगाईले गरेका थिए। वि.स २०४९ सालमा स्थापित सो संस्थाले स्थानिय किसानहरु संगबाट दुध संकलन गरि विविधिकरण तथा बजारीकरण गर्दै
आईरहेको छ ।









