माधवपुरमा राष्ट्रिय स्तरको भजन प्रतियोगिता हुँदै

चितवन । रत्ननगर नगरपालिका–१५ माधवपुरमा आगामी माघ २४ गते राष्ट्रिय स्तरको भजन प्रतियोगिता आयोजना हुने भएको छ। माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति रत्ननगर–१५ माधवपुरको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माधवपुर खेल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी भजन समूहहरूमध्ये प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वना हुने समूहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष मुक्तिप्रसाद लामिछानेले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा देशभरका भजन समूहहरूको प्रस्तुति रहनेछ। प्रतियोगितामा प्रस्तुत गरिने भजनहरू हिन्दु धर्म तथा नेपाली संस्कृति सँग सम्बन्धित हुनुपर्ने उनले बताए।

कार्यक्रमको संरक्षक रत्ननगर नगरपालिका वडा नं. १५ कार्यालय रहेको छ। मौलिक भजनहरू क्रमशः लोप हुँदै गइरहेको वर्तमान अवस्थामा यस्ता प्रतियोगिताले मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने रत्ननगर–१५ का वडा अध्यक्ष आसिक तामाङले बताए।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक भजन समूहहरूले माघ २२ गतेसम्म अनिवार्य रूपमा समूह दर्ता गराइसक्नुपर्ने आयोजक समितिले जनाएको छ। समूह दर्ता तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९८६५१९९८२१ र ९८४५२१७६६९ नम्बरमा सम्पर्क गर्न सकिने समितिले जानकारी दिएको छ।

Previous articleMadSlots Casino Latest Bonus Offers, Free Spins and Tournament Info
Next articleCrazy Star Casino Loyalty Rewards Program and Benefits Guide
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।