रत्ननगर — भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा पौष २७ गते आइतबार सम्पन्न गरिएको छ। साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा ११ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार गर्दै करिब १० लाख रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिईएको छ।
सहकारीले आर्जन गरेको नाफाबाट किसानहरूलाई दुध विक्रीको आधारमा ८.५ प्रतिशतको दरले बोनस वितरण गरेको छ। हाल सहकारीले दैनिक करिब २५ सय लिटर दूध संकलन गर्दै आएको छ। साधारणसभामा सहकारीका सचिव शिवप्रसाद पुडासैनीले वार्षिक प्रगति प्रतिवेदन र आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गरे भने लेखा समिति संयोजक अनुप बुढाथोकीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा किसानलाई लक्षित गर्दै लागू गरिएको कृषक संचित कोषसम्बन्धी व्यवस्थाबारे पनि जानकारी दिइएको छ। उक्त व्यवस्थाअनुसार किसानले पाउने दूधको भुक्तानीबाट प्रति लिटर ४ रुपैयाँ कट्टा गरिनेछ र सहकारीले प्रतिलिटर थप २ रुपैयाँ जोडेर जम्मा ६ रुपैयाँ कृषक संचित कोषमा जम्मा गर्नेछ। संचित रकममध्ये हरेक तिहारमा प्रति लिटर २ रुपैयाँ किसानलाई वितरण गरिने र बाँकी रकम कोषमै जम्मा गरिने सहकारीले जनाएको छ। यसले किसानलाई चाडपर्वको समयमा खर्च व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
सहकारीको आगामी नीति तथा कार्यक्रममा मागको आधारमा साईलेज पिट निर्माणका लागि १ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने र शेयर सदस्यहरूका लागि अवलोकन भ्रमणको व्यवस्था गर्ने जस्ता विषय समेटिएका छन्।

कार्यक्रमका वडा कार्यालयले सहकारीलाई एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ। सो अवसरमा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडाध्यक्ष हेमराज थापाले प्रविधियुक्त सहकारी निर्माणको उद्देश्यसहित कम्प्युटर हस्तान्तरण गरिएको बताए। उनले साईलेज निर्माणका लागि किसानलाई अनुदान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
साधारणसभामा विभिन्न विधामा १४ जना किसानलाई सम्मान तथा पुरस्कृत गरिएको छ। सबैभन्दा धेरै दूध बिक्री गर्ने किसानतर्फ संस्थाकै अध्यक्ष युवराज थापाले पुरस्कार प्राप्त गरे। उनले एक वर्षमा २५ हजार लिटरभन्दा बढी दूध बिक्री गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, २४ हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने किसान खमवीर ढकालले ४८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। अन्य पुरस्कृत किसानहरूमा पार्वती थापा, होमबहादुर भण्डारी, सावित्री गुरुङ, शिवप्रसाद पुडासैनी, प्रकाश खनाल शैलेश, आइता गुरुङ, बुद्धिबहादुर थापा, यमकला भण्डारी, मधु थापा, बुधकुमारी पाण्डे र सावित्री थापा रहेका छन्। यसैगरि गुणस्तरीय दूध बिक्रीतर्फ निरा पुडासैनीलाई पुरस्कृत गरिएको थियो। उनले विक्री गरेको दुधले प्रतिलिटर १३९.६३ रुपियाँ प्राप्त गरेको थियो।

कार्यक्रममा वडा सदस्यहरू सरिता गुरुङ, चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, कृषि तथा पशुपन्छी शाखा प्रमुख प्रविन लामा, पशुप्राविधिक हरिलाल डाँगी, वडा कर्मचारी उज्जवल देवकोटा, सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरी पनेरु लगायतको उपस्थिति थियो। यस्तै, एकीकृत कृषक साकोसका अध्यक्ष विष्णुप्रसाद अर्याल, पिठुवा सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष देवबहादुर राना, किसान प्रतिनिधि सिता नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा सहकारीका उपाध्यक्ष ताराबहादुर नेपालले स्वागत मन्तव्य राखेका थिए भने लेखा समिति संयोजक अनुप बुढाथोकीले कार्यक्रम संचालन गरेका थिए।


















