चितवनमा सहकारी संघको डेरी उद्योग खुल्ने, दुधबाटै बन्नेछ आइसक्रिमदेखि चकलेटसम्म

भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानको दूधलाई मूल्य र बजार दुवै सुनिश्चित गर्ने लक्ष्यसहित दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधीकरण उद्योग सञ्चालन गर्ने भएको छ। शनिबार सम्पन्न संघको २६औँ वार्षिक साधारणसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष किशोर बगालेले संघकै अगुवाइमा प्रशोधन र विविधीकरण उद्योग अघि बढाइने घोषणा गरे।

अध्यक्ष बगालेका अनुसार उद्योग सञ्चालनका लागि जिल्ला सहकारी संघ चितवनको जग्गा भाडामा लिइनेछ भने आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य पनि चरणबद्ध रूपमा अघि बढाइनेछ। हाल संघले रत्ननगर नगरपालिका–५, झुवानीमा रहेको गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रूपमा दूध प्रशोधन सुरु गरिसकेको छ।

दूध प्रशोधनलाई दीर्घकालीन र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका–१५, फूलबारीमा पाँच कठ्ठा जग्गा खरिद भइसकेको अध्यक्ष बगालेले जानकारी दिए। “फूलबारीबाट दूध प्रशोधन हुनेछ भने विविधीकरण उद्योग संघकै जग्गा भाडामा लिएर सञ्चालन गरिनेछ,” उनले भने, “यसका लागि आवश्यक बजेट प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ।”

कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले फूलबारीमा दूध प्रशोधन उद्योग सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको बताइन्।

हाल झुवानीमा दैनिक करिब एक हजार लिटर दूध प्रशोधन हुँदै आएको छ। यहाँबाट घिउ, नौनी, पनिर, खुवा, दही, मोहीजस्ता दुग्धजन्य उत्पादन बजारमा आउन थालेका छन्। फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने संघको लक्ष्य छ। भविष्यमा आइसक्रिम, चकलेटलगायतका मूल्यवर्द्धित उत्पादनसमेत सुरु गरिने अध्यक्ष बगालेले बताए।

दाना अभाव र पटक–पटक हुने मूल्यवृद्धिले किसान मारमा परेपछि संघले गुणस्तरीय ‘सुपर दाना’ उत्पादन थालेको संघका सचिव कल्याण अधिकारीले जानकारी दिए। संघद्वारा सञ्चालित दाना उद्योगबाट सबैभन्दा बढी दाना खरिद गर्ने तीनवटा दुग्ध सहकारीलाई सम्मानसमेत गरिएको छ। त्रिवेणी दुग्ध उत्पादक सहकारी भरतपुर–६ पहिलो, गंगानगर दुग्ध उत्पादक सहकारी दोस्रो र उज्ज्वल दुग्ध उत्पादक सहकारी तेस्रो भएका छन्।

साधारणसभामा छ वटा उत्कृष्ट दुग्ध सहकारीलाई पनि सम्मान गरिएको छ। नवउज्ज्वल धारा (भरतपुर–१३), परेवाश्वरी (राप्ती–२), शान्तिकुञ्ज (रत्ननगर–१२), भटेनी (कालिका–६), राधाकृष्ण (खैरहनी–१०) र विजय दुग्ध उत्पादक सहकारी संस्था (भरतपुर–१६) सम्मानित भएका हुन्।

संघ र हेफर इन्टरनेसनल नेपालबीच गत फागुन २४ गते भएको सम्झौताअनुसार ‘द मिल्की–वे : ट्रान्सफर्मिङ डेरी सेक्टर अफ नेपाल’ कार्यक्रम सञ्चालनमा रहेको अध्यक्ष बगालेले बताए। यसअन्तर्गत फार्म तथा पशु आहार व्यवस्थापन, सदस्यहरूको क्षमता अभिवृद्धि, दक्ष प्राविधिक व्यवस्थापनदेखि नश्ल सुधारसम्मका काम भइरहेको उनले बताए। साथै चितवन उद्योगसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय डेरी एक्स्पो र डेरी मार्ट सञ्चालन गर्ने योजना पनि संघको छ।

संघले अघि सारेका योजनामा बजेटको सुनिश्चितता गर्न आफू तयार रहेको मन्त्री बिनु रायमाझी पौडेलले प्रतिबद्धता जनाइन्। “संघले योजना मागे बजेटको व्यवस्था गर्न म तयार छु,” उनले भनिन्।

सभामा लेखा संयोजक विष्णुहरि घिमिरेले प्रस्तुत गरेको आय–व्यय विवरणअनुसार संघले एक आर्थिक वर्षमा ६० लाख रुपैयाँ शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. शरणकुमार पाण्डे, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवर, डिडिसीका महाप्रबन्धक सञ्जीव झा, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेललगायतले मन्तव्य दिएका थिए। सो अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो।

चितवन जिल्लामा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ। जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ। चितवनमा उत्पादित दूध काठमाडौँ, पोखरा, हेटौँडा लगायतका सहरसम्म पुग्ने गर्दछ। जिल्लाका १५५ वटा सहकारीमार्फत दूध सङ्कलन हुँदै आएको छ भने ४० हजारभन्दा बढी किसान यस क्षेत्रमा आबद्ध छन्। संघमा आबद्ध सहकारीको संख्या ११५ रहेको छ।

Previous articleCreate Your Kingdom Casino Account in Minutes and Start Winning
Next articlePurple Casino Honest Player Ratings and Community Feedback
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।