चितवन–१ मा एमाले पहिलो हुन्छ, अन्य दल दोस्रोका लागि प्रतिस्पर्धा गर्दैछन् : दावा लामा

Click Image

खैरहनी, १० माघ । नेकपा (एमाले) चितवन क्षेत्र नं. १ का उम्मेदवार दावा दोर्जे लामाले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी निर्विकल्प रूपमा पहिलो हुने दाबी गर्नुभएको छ। शनिबार खैरहनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामाले चितवन–१ मा एमाले प्रथम हुने निश्चित रहेको जिकिर गर्दै अन्य राजनीतिक दलहरू दोस्रो स्थानका लागि प्रतिस्पर्धामा रहेको टिप्पणी गर्नुभयो।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई राष्ट्रियता, लोकतन्त्र, सुशासन, समृद्धि र विकासका पक्षमा जनमत संग्रहको रूपमा व्याख्या गर्दै उहाँले विगतका जनआन्दोलन तथा क्रान्तिका शहीदहरूको योगदानलाई स्मरण र सम्मान व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा एमाले नेता कपिल पोखरेलले उम्मेदवार लामाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो। पोखरेलले लामालाई अनुभवी, पहाड र तराई दुवै भूगोलमा परिचित तथा भरपर्दो नेताका रूपमा चित्रण गर्नुभयो। विसं २०३४ देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय लामाले यसअघि जनपक्षीय प्रधानपञ्च, जिल्ला विकास समिति सदस्य, बागमती प्रदेशसभा सदस्य तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउनुभएको जानकारी दिइयो। उहाँ हाल लोकतान्त्रिक तामाङ संघको केन्द्रीय अध्यक्ष र बागमती प्रदेश कमिटीको उपाध्यक्ष समेत रहनुभएको छ।

सो अवसरमा एमालेले विगतमा आफ्ना निर्वाचित प्रतिनिधिहरू जेपी भेटवाल, सुरेन्द्र पाण्डे, लालमणी चौधरी र जेएन थपलियाको पहलमा सम्पन्न भएका विकास निर्माणका कार्यहरूको बारेमा जानकारी दिइएको थियो। राप्ती नदी नियन्त्रण, तटबन्ध निर्माण, विभिन्न खोलाहरूमा कंक्रिट पर्खाल, पुल तथा झोलुङ्गे पुलहरूको निर्माण, बकुलहर रत्ननगर अस्पतालको स्तरोन्नति र सौराहामा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण जस्ता आयोजनाहरूलाई एमालेको उपलब्धिको रूपमा व्याख्या गरिएको थियो।

निर्वाचनका लागि आफ्ना भावी योजनाहरू सार्वजनिक गर्दै एमालेले पूर्व–पश्चिम राजमार्गको चार लेन विस्तार, सुरुङ मार्ग, वैकल्पिक राजमार्ग र चक्रपथ निर्माण जस्ता रणनीतिक सडक सञ्जालको विकासलाई प्राथमिकतामा राखेको छ। त्यसैगरी, विपद् जोखिमरहित सुरक्षित तथा योजनाबद्ध बसोबासको विकास, पर्यटन पूर्वाधारको विविधीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र मानव पूँजी निर्माणलाई पनि मुख्य एजेन्डा बनाइएको छ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणका साथै औद्योगिक विकास, लगानी प्रवर्द्धन, सामाजिक सुरक्षा र युवाहरूका लागि स्वरोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता एमालेले व्यक्त गरेको छ। यी प्रतिबद्धताहरूलाई विस्तृत रूपमा प्रतिबद्धता–पत्रमार्फत छिट्टै जनसमक्ष ल्याउने बताउँदै उम्मेदवार लामाले क्षेत्रवासी मतदातालाई सूर्य चिह्नमा मतदान गरी विकासका बाँकी कार्यभार पूरा गर्ने अवसर प्रदान गर्न अपिल गर्नुभयो।

Previous articleरास्वपासँग कुनै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही छैन : कुलमान घिसिङ
Next articleप्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन (घोषणा पत्रसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।