रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति सहकारी ठगी आरोपमा पक्राउ

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ कृष्णप्रसाद जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।

सहकारी रजिस्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पेस गरेको धनुष सहकारीको बचत रकम हिनामिना सम्बन्धी छानबिन प्रतिवेदनपछि सोमबार उनी पक्राउ परेका हुन्।

धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृष्णप्रसादले कृत्रिम खातामार्फत ८२ लाख रूपैयाँ हिनामिनामा संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

उक्त सहकारी ठगीमा संलग्न देखिएका अन्य चार जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ।

सहकारी रजिस्ट्रारको कार्यालयले पेस गरेको छानबिन प्रतिवेदनमा धनुष सहकारीबाट १९ करोड १८ लाख रूपैयाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ।

सहकारी ठगीमा पक्राउ परेका कृष्णप्रसादले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, सहकारीका सञ्चालक एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई लगायत विरूद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक समेत रहेका रवि, सञ्चालक जिबी लगायत विरूद्ध एक अर्ब ५१ करोड रूपैयाँ हिनामिना मुद्दा अदालतमा विचाराधीन छ।

Previous articleचितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
Next articleअवैध क्रिप्टो करेन्सीको धन्दा चलाउने दुईजना चितवनबाट पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।