माधवपुरमा ५८औँ चैते दशैं महोत्सव सुरु हुँदै, भलिबल सहित विविध खेलकुद र सांस्कृतिक कार्यक्रम हुने

उज्यालो नेपाल- माधवपुरमा ५८औँ चैते दशैं तथा खेलकुद–सांस्कृतिक महोत्सव आजबाट सुरु हुने भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा चैत्र १३ र १४ गते दुई दिनसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

समितिका अध्यक्ष गणेश तामाङका अनुसार पछिल्ला केही वर्ष कार्यक्रम हुन नसकेपछि यसपटक माधवपुरको पहिचान जोगाउन पुनः महोत्सव आयोजना गरिएको हो। महोत्सवअन्तर्गत भलिबल, छेलो फाल्ने, डोरी तान्ने लगायतका प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

भलिबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँसहित खसी, द्वितीयलाई ५० हजार रुपैयाँसहित खसी र तृतीय हुने टोलीलाई २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

चैत्र १४ गते राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने कार्यक्रम संयोजक राजु गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए। महोत्सव सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा ३ लाख रुपैयाँ वडा स्तरीय बजेटबाट व्यवस्थापन गरिएको छ।

वडाध्यक्ष आसिक तामाङले माधवपुरको इतिहास, कला र संस्कृतिको संरक्षण तथा जगेर्नाका लागि महोत्सव महत्वपूर्ण हुने बताए। महोत्सव माधवपुर खेल मैदानमा सञ्चालन हुने तय गरिएको छ।

Previous articleराप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै
Next articleकालिका नगरपालिकाको नयाँ प्रशासकीय भवनबाट आइतबारदेखि सेवा दिने, आजै गृह प्रवेशगर्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।