उडान कम भएपछी ओभरस्टे जरीवाना तिर्दै नेपाली श्रमिक: जति बस्यो उति बढ्दै जरिवाना रकम
यूएईबाट कोरोना महामारी सुरु भएपछि घर फर्कनका लागि झण्डै आधा लाख नेपालीले फारम भरे । जसमध्ये १६ हजार ३७६ जना स्वदेश आइसकेका छन् । अझै झण्डै ३५ हजार नेपाली घर फर्कने पालो कुरिरहेका छन् । यूएईमा पनि सरकारले नियमित उडान त खुलाएको छ । तर ३५ हजार नेपाली घर फर्कन कुरिरहेको देशमा एक महिनाका लागि जम्मा २८ उडान तय भएको छ ।

समयमा घर फर्कन नपाउँदा यूएईमा अहिले श्रमिकहरु ओभरस्टे (भिसा अवधिभन्दा बढी बस्नु) बापतको शुल्क तिर्न बाध्य भएका छन् । कतिपय श्रमिक टिकट हातमा लिएर विमानस्थल पुगेपछि जरिवाना बापतको रकम तिर्न नसक्दा जहाज चढ्न पाएका छैनन् । यूएईमै अलपत्र परेका छन् ।

यूएई, अमेरिका, यूरोपजस्ता देशको ट्रान्जिट पनि हो । यहाँबाट नेपाल आउने जहाजले ट्रान्जिट यात्रु पनि बोक्नु पर्छ । तर अहिले सरकारले नियमित उडान खुलाएर तोकेको उडान सङ्ख्या कम हुँदा समस्यामा रहेका र घर फर्कनै पर्ने श्रमिकहरु समयमा फर्कन नपाउने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।

‘सामान्य अवस्थामा ८, १० हजार नेपालीको आवतजावत हुने यहाँबाट अहिले तोकिएको उडान कम छ, यसले समस्या भएको छ,’ राजदूत ढकाल भन्नुहुन्छ, ‘श्रमिकहरु जरिवाना तिर्न नसक्दा जान सकेका छैनन्, उनीहरु जान नसक्दा जति यहाँ बस्यो त्यति नै जरिवाना बापतको रकम बढ्छ, त्यसकारण अहिलेको एक मात्र उपाय भनेको उडान सङ्ख्या थप्नु नै हो ।’

राजदूत ढकालका अनुसार दूतावासले उडान सङ्ख्या कम भएको सम्बन्धित निकायमा जानकारी गराएको छ र उडान सङ्ख्या थपिदिन माग पनि गरेको छ । अहिलेको समस्यालाई मध्यनजर गर्दै सरकारले उचित निर्णय गर्ने प्रतिक्षामा रहेको राजदूत ढकालले बताउनुभयो ।


