काठमाडौं । नेपाल वायुसेवा निगमले यही मे १८ देखि २२ सम्म साउदी अरेबिया चार्टर्ड उडान गर्ने भएको छ । सरकारले काठमाडौंमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान निगमलाई सातवटा चार्टर्ड उडान गर्न अनुमति दिएको थियो । निगम प्रवक्ता करिश्मा श्रेष्ठले भारतीय नागरिकलाई साउदी लैजान पाँच दिनमा सातवटा उडान गर्ने तालिका सार्वजनिक गरिएको बताइन् । उनका अनुसार निगमले साउदी अरेबियाको रियाद पाँच र दमाम दुई उडान गर्नेछ ।
ती दुई गन्तव्यमा जान चाहने भारतीय नागरिकले निगमको कर्पाेरेट कार्यालयबाट टिकट काट्नुपर्नेछ । सरकारले नेपालस्थित भारतीय दूतावासको सिफारिस पाएका भारतीयलाई मात्रै साउदी लैजान भनेको छ । निगमले रियादका लागि प्रतिव्यक्ति ८९ हजार रूपैयाँ र दमामका लागि ८४ हजार ५०० रूपैयाँ शुल्क तोकेको छ ।सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान नेपाल एयरलाइन्सलाई सात र हिमालय एयरलाइन्सलाई तीनवटा चार्टर्ड उडान गर्न अनुमति दिएको छ ।

साउदी अरेबियाले भारतबाट हुने उडानमा रोक लगाएपछि साउदी जाने भारतीयहरु नेपाल आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी जाने गरेका थिए । तर नेपाल सरकारले कोरोना भाईरसको दोश्रो माहामारी रोक्न सम्पूर्ण उडान बन्द गरेपछि साउदी जान नेपाल आएका केहि हजार भारतीयहरु यतै फसेका छन् । तिनै भारतीयलाई उद्धार गरेर साउदी पुर्याउन भारतीय दुताबासले पहल गरेपछि नेपाल सरकारले चार्टर्ड उडानको अनुमती दिएको हो ।
सरकारले उडान बन्द गरेपछि छुट्टी र फाईनल एक्जिटमा नेपाल फर्कन टिकट लिएर बसेका हजारौ नेपाली भने विदेशमै अलपत्र परेका छन् ! कम्पनी बाट नेपाल फर्कन हिसाब राफसाफ गरेर बसेका नेपाली उडान बन्द भएपछी चर्को मारमा परेका हुन् । हजारौ कामदार समस्यामा परेपनि उद्धार उडान वा चार्टर उडान मार्फत ति नेपालीलाई स्वदेश ल्याउने बारे अहिलेसम्म कुनै पहलकदमी भएको देखिएको छैन ।
यस विषयमा कुरा गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव एवं प्रवक्ता दीपक काफ्ले यसो भन्छन्, “ यो अवस्था नेपालको मात्र होइन । जस्तो विभिन्न देशहरूले त अहिले नेपालबाट हुने व्यवसायीक उडानमा नै प्रतिबन्ध लगाएको अवस्था छ । त्यसकारण अहिले उहाँहरू जहाँ जसको संरक्षणमा हुनुहुन्थ्यो त्यो देशले पनि अहिले संरक्षण प्रदान गरेर राखेको अवस्थाहरू छ । त्यहाँ संरक्षण पनि नपाएको यहाँ फर्केर आउन पनि नपाएको सूचनाहरू हामीलाई प्राप्त भइसकेको छैन । सम्बन्धित देशमा रहेको राजदूतावासमा कुनै सूचनाहरू आएको रहेछ भने त्यो आउने क्रमहरू होला । किनभने यो त समन्वय गर्ने काम हो । नेपालले मात्र रोकेको होइन ।
यूएई, कुवेत, मलेसिया जस्ता देशले पनि प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् । यी देशमा पनि अप्ठेरो अवस्था छ । त्यस कारण अहिलेको अवस्थामा भनेको जो मानिस जहाँ छ कुनै न कुनै हिसाबमा सुरक्षित रहनका लागि सरकारले आह्वान गरेकै छ । तर पनि यदि कोही समस्यामा हुनुहुन्छ भनेदेखि मन्त्रालयको तर्फबाट गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने गरी हामी व्यवस्थापन गर्छौँ । हामी दिनैपिच्छे त्यसमा छलफल पनि गरिरहेका छौँ । अब अहिलेको अवस्थामा चाहिँ आफू रहेको देशमा कुनै समस्याहरू छन् भने दूतावासमा राख्ने र समाधानका लागि दूतावासमार्फत नै पहल थाल्ने हो । श्रमिकहरूले दूतावासमा समस्या राखेपछि दूतावासमार्फत नै हो हामीलाई पनि सूचनाहरू प्राप्त हुने र गर्नुपर्ने कामहरूको निष्कर्षमा पुग्नुपर्ने भएकाले श्रमिकहरूको समस्या स्वाभाविक रूपमा दूतावासको चासोको विषय हो ।
विश्वव्यापी रूपमै शिथिलता भएको अवस्था हो । त्यो हिसाबले अहिले जो जहाँ छौँ त्यही नै सुरक्षित रहौँ । यो अवस्थाबाट यही उपायबाट नै जित्न सक्छौँ भन्ने हो । त्यस कारण स्वदेश तथा विदेश जहाँ रहे पनि सबैभन्दा पहिला त हामी सुरक्षित रहने हो । सुरक्षित रहेपछि मात्रै हामी यात्रा गर्न सक्ने भएकाले उपयुक्त समयमा सरकारले पनि प्रयत्न गर्छ । व्यक्ति स्वयम् आफ्नो प्रयत्नमा पनि आउनुहुन्छ । तर यो समय लम्बिँदै गयो र समस्याहरू बढ्दै गए भने सरकारकातर्फबाट उचित निर्णयहरू आउलान् । त्यसको कार्यान्वयन हामी गर्दै जान्छौँ ।
https://ujyaalonepalnews.com/archives/14371


