दैवको अगाडी कसको के लाग्ने रहेछ? त्यस्तो रुप र यौवन अहिले यस्तो कन्तविजोक

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गरेकी हुन् । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । ‘आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचार समेत हुन सकेन ।’ उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले भने–‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’

दाहालका अनुसार दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले नपत्याउने दाहाल सुनाउँछन् । ‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ ।’ दाहालले भने–‘मनकी धनी मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।बिहीबार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला ।’ चिकित्सकहरुलाई उद्धृत गर्दै दुर्गा दाहालले भने–‘तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेसपोन्स गर्नसक्ने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् ।

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस् ।’ निशाका बुबाले भने–‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको संभव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । समाजसेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौ असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छिन् । नेपाल समाचारपत्रमा खबर छ

https://ujyaalonepalnews.com/archives/14606

Previous articleराहत बाड्न हिंडेका ज्ञानेन्द्र शाहीको समूहमाथि आक्र’मण, शाहीसहित नौ घा’इते
Next articleराहातको बोरा काँधमा बोकेर दिल बहादुर चेपांगले भने मेरो लागी राज्य भनेकै सपना भिलेज हो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।