विदेश जानेलाई खोप लगाउनै सास्ती; खोप पाउनु यु’द्ध जिते बराबर

काठमाडौँ — दिउँसोको साढे एक बजेको छ । चर्को घाममा छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल परिसरमा लामो लाइनमा उभिएका छन् मानिसहरु । कोही छाता ओढेर उभिएका थिए भने कोही हातमा पानीको बोतल समाएका । चर्को घामले घण्टौं बस्दा असिनपसिन देखिन्थे । कोभिडविरुद्धको खोप लगाउनका लागि घण्टौंदेखि उभिरहेका थिए उनीहरु । सामाजिक दूरी कायम गरेको देखिँदैन । कोरानाबाट बच्न खोपका लागि लाइन बसेका उनीहरु आफै संक्रमित हुने जोखिममा देखिन्थे ।

भीड व्यवस्थापनमा कसैको चासो गएको देखिँदैन । न त टोकन नै बाँडिएको थियो । खोपका लागि मानिसहरु अस्पतालको गेटदेखि ४ सय मिटरसम्म लाइनमा उभिरहेका थिए । कतिबेला पालो आउला भनेर पर्खाइमा बसेका देखिन्थे । लाइनमा उभिन नसकेर भुइँमा थ्याच्च बसेर टोलाइरहेकी भेटिइन् धादिङकी ३९ वर्षीया माइली मोक्तान । उनका श्रीमान् पनि वैदेशिक रोजगारमै छन् । मोक्तान भन्छिन्, ‘५ जना छोराछोरी छन् । आर्थिक अवस्था उकासियोस् भनेर जान लागेको हो कतार ।’ उनले खोपका लागि ३ दिनदेखि धाइरहेको बताइन् । ‘अस्ति पनि बिहान आएको खोप सिद्धियो भने । हिजो पनि उस्तै भयो । खै आज पाउने हो कि होइन,’ निराश हुँदै उनले भनिन् ।

माइलीसँगै खोपको पर्खाइमा छाता ओढेर बसेका थिए सुनसरीकी २३ वर्षीय अजिता राई, सिन्धुलीकी २३ वर्षीया रेखा तामाङ र झापाकी २७ वर्षीया सविता पुरी । अजिता र रेखा दुवै जना एउटै मेनपावरबाट कतार जान लागेका हुन् । अजिता खोप लगाउनका लागि मनमैजुबाट सातै बजे ‘पठाओ’ चढेर खोप केन्द्र आइपुगेकी रहिछन् । उनले अनलाइन रेजिस्ट्रेसन गरेपनि घण्टौं लाइन बस्नुपरेकोमा दु:ख व्यक्त गरिन् । ‘टोकन दिएको भए राम्रो हुन्थ्यो ।खोप सिद्धियो भनेर पठायो भने झ्याउ हुन्छ ।’ उनले लाइनतिर नियाल्दै भनिन् ।

लाइनमै थकित मुद्रामा भेटिए झापाका ३१ वर्षीय सुरज महतो । विगत ३ वर्षदेखि कतारमा काम गरिरहेका उनी छुट्टीमा घर आएका थिए । लकडाउन भयो । त्यसपछि उनी पुन: जान पाएका छैनन् । २ पटक त टिकट नै क्यान्सिल भइसक्यो । महतो भन्छन्, ‘खोप लगाएपछि मात्र कहिले जाने भन्ने कन्फर्म हुन्छ । नलगाएपछि जान पाइँदैन ।’ उनले खोपका लागि ५ बजेदेखि नै लाइनमा बसेको बताए । उनी खोप लगाउनका लागि धाउन थालेको दुई दिन भइसक्यो । ‘हाम्रो मुख्य समस्या त के छ भने यहाँबाट खोप त लगाइयो तर फेरि खोपको प्रमाणिकरण कार्ड लिन अन्तै जानुपर्ने रे,’ महतोले भने ।

जितपुरका आशिष खतिवडाले लाइन व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिएको भन्दै आक्रोश पोख्दै भने, ‘यतिका बेर लाइनमा उभिएका छौं । आफैले संक्रमण होला भन्ने डर । प्रमाणिकरणका लागि पनि लाइन बस्ने होला । दुनियाँमा कस्तो–कस्तो सिस्टम आइसक्यो । हामी लाइन बसेको बसै । कतार जाने सोचमा छन् कञ्चनपुरका माधव बोहोरा । जानका लागि खोप अनिवार्य बनाइएपछि उनी खोप लगाउनका लागि काठमाडौं आएका छन् । हातमा बोतल अनि छाता ओढेर बसेका बोहोराले मलिन अनुहार लगाउँदै भने, ‘यत्रो लाइन भइसक्यो । खोपको अझै पत्तो छैन । बिहान ७ बजेदेखि बसेको । खाना खाएको छैन । लाइन बस्ने सबै गरिबकै छोरा त हो । धनी मान्छे यसरी लाइन बस्दैन ।’

बोहोरा भन्छन्, ‘खोप लगाउनको लागि यत्रो गाह्रो छ । आफ्नो देशमा त काम पाउन गाह्रो छ । बाहिर जानको लागि पनि यस्तो दु:ख । जोसुकै नेता आओस् जनताको दु:ख सधैं हुने रहेछ ।’ वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल तथा नेपाल प्रहरी अस्पताल खोप केन्द्रका लागि तोकेको छ । दुईवटा मात्र खोप केन्द्र तोकिँदा अत्यधिक भीड छ । बुनु थारु, दिपेन्द्र रोक्का/ कान्तिपुर 

https://ujyaalonepalnews.com/archives/15261

Previous articleकतार जानेलाई फेरी नया नियम, फर्कदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने
Next articleमहँगा महँगा लक्जरी कार चोरेर बेच्ने आरोपमा मलेसियामा नेपाली युवा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।