सप्तरी जिल्ला राजविराज डुम्रीका २३ वर्षीय पञ्चदेव शाह २०७३ साउन ३२ गते साउदी गए । लेबरमा श्रम स्वीकृति लिएको केही दिनमा उनी म्यानपावरले पेन्टिङमा काम लगाईदिने आश्वानसन दिएपछि साउदी उडे । उनको समूहमा १२ जना रहेकोमा ११ जनाको अघिल्लै दिन उडान भएको हुँदा दोस्रो दिन उनी एक्लै साउदीको राजधानी रियादस्थित विमानस्थलमा उत्रिए । आफूलाई लिन आउने रोजगारदाता कम्पनीको प्रतिनिधिलाई पर्खिएर बसेका उनीसमक्ष एक जना व्यक्ति आई आफू कम्पनीको प्रनिनिधि रहेको भन्दै आफूसँग जान आग्रह ग¥यो ।
नजिकै रहेको स्थानीय प्रहरीलाई उक्त व्यक्ति आफ्नो रोजगारदाता (काफिल) भए नभएको यकिन गर्न कागजात देखाउँदा प्रहरीले सोही व्यक्ति नै उनको कफिल रहेको बताएपछि शाह तिनै व्यक्तिसँग गए । उनलाई उक्त व्यक्तिले मरभूमीमा पु¥याए । त्यहाँ उनलाई उँट चराउने काममा लगाइयो । पेन्टरको काममा गएका उनलाई उँट चराउन लगाएपछि अलमलमा परेका उनले परिचयपत्र (अकामा) मागे । निरन्तर उनले अकामा मागेपछि दिक्क भएको त्यस व्यक्तिले केही समय पछि उनलाई अरबी भाषामा लेखिएको कागजको सानो टुक्रा दिए ।

करिब ४ महिनासम्म त्यसरी सम्पर्क विहिन भएर काम गर्दा कुनै पारिश्रमिक नपाएका शाहले आफू त्यहाँबाट फर्किन चाहेको त्यस व्यक्तिलाई बताए । त्यसपछि सो व्यक्तिले शाहलाई दिनभरी आङ्खनो निगरानीमा उँट चराउन लगाउने र रात भरी फलामको साङ्लोले बाधेर राख्ने क्रम शुरु ग¥यो । करिब १ वर्षसम्म उनलाई सो व्यक्तिले त्यसरी बाँधेर राखे । त्यस्तै यता भने उनी लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि उनका दाजु सकलदेव शाह लगायतका परिवारका सदस्यहरु नेपाल सरकारको विभिन्न निकायहरुको ढोका ढक्ढक्याउन पुगे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म उनीहरु पुगेपछि त्यहाँबाट साउदीस्थित नेपाली दूतावासलाई खोजी गरिदिन निर्देशन दिएको थियो भने वैदेशिक रोजगार विभागमा समेत म्यानपावर कम्पनी मार्फत उनलाई खोजी गर्न निर्देशन दिएको थियो । तर, उनको अवस्था भने कहिँ कतैबाट पनि पत्ता लाग्न सकेन । उता करिब एक वर्षसम्म उनलाई त्यसरी रातभरी सिक्रिले बाध्ने र दिनभरी उँट चराउन लगाउने क्रम भने जारी नै रहेको थियो । त्यत्तिकैमा उनलाई दैनिक रुपमा त्यसरी बाँधेर राख्ने व्यक्ति बिरामी परे । उनले आफ्नो सट्टा आफ्नो भाईलाई शाहको निगरानीको जिम्मा दिएर आफू आराममा बसे । उक्त नयाँ व्यक्तिले उनलाई जुन रात उनले बाँधेनन् उनी त्यही रात त्यो व्यक्ति निदाएपछि उनी त्यहाँबाट भाग्न सफल भए ।
करिब ४ घण्टा भागेर एक झुपडीमा पुगेका उनलाई सोही झुपडीमा रहेका मानिसले भने सहयोग गरे । केही बेर पछि बालुवामा परेको पैतालाको निशाना पछ्याउँदै शाहलाई निगरानीमा राख्न जिम्मा पाएको मानिस आइपुगे र उनलाई खोज्दै त्यहीँ झुपडीमा नै आइपुगे । झुपडीको मानिसले त्यस किसिमको मानिस त्यहाँ नआएको बताएपछि उनी त्यहाँबाट फर्किए । झुपडीको मानिसकै निर्देशनमा उनी निकै टाढा देखिएको प्रकाशलाई पछ्याउँदै अगाडी बढे । त्यसपछि राजमार्गमा पुगेका उनी त्यहाँबाट लरी चढेर राजधानी रियाद पुगे । त्यसपछि प्रहरीको पक्राउमा परी २६ दिन जेल परेका उनलाई नेपाली दूतावास साउदीअरबले यात्रा अुनमति पत्र बनाई स्वदेश फर्काएको थियो । गत पुस १८ गते उनी स्वदेश फर्किएका थिए ।
https://ujyaalonepalnews.com/archives/15510


