भरतपुर, ४ माघ- चितवन प्रहरीले मेला महोत्सव तथा भीडभाडमा चोरी गर्ने समूहलाई पक्राउ गरेको छ । भीडभाडमा नगद र गरगहना चोरीमा संलग्न ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुरका प्रियंका देवि, अतिम्मा देवि, पायल देवि, नितु देवि, शिला देवि, मञ्जु देवि र आरोही भारती पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु १८ देखि ४० वर्षभित्रका महिलाहरु छन् । नारायणगढको लायन्सचोक स्थित ठेलामा सामान किनिरहेका भरतपुर–१०का बसन्त र सिता गिरीलाई घेरा हालेर झोला माग्ने, गफिएर उनीहरुले सामान चोरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी नरहरी अधिकारीले समूह बनाएरै चोरी गरिरहेकै अवस्थामा ७ जना पक्राउ गरिएको बताए ।
६ हजार नगद र ९४ हजार बराबरको २ वटा औँठी चोरी गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद अनुमति लिएर उनीहरुमाथि अनुसन्धान भैरहेको उनले बताए । यसैबीच, भरतवुर–५ कल्याणपुरकी ७४ वर्षिया चन्द्रमाया श्रेष्ठले ७ जना महिलाको समूहले २ लाख बराबरको सुनको सिक्रि चोरी गरेको भन्दै उजुरी दिनुभएको छ । चोरी कार्यमा संलग्न ती भारतीय महिलाबाट भएको किटानी जाहेरी दिनुभएको छ ।


