डडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग 

0
79

डडेलधुरा । डडेलधुरा सदरमुकाममा सयौँ नागरिक मिलेर सुरु गर्न थालेको भटमास उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

 फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका अध्यक्ष डा. तारा जोशीले अब छिट्टै उत्पादन सुरु गर्ने प्रक्रिया अगाडि बढ्ने  जानकारी दिनुभयो । 

तीन वर्षअघिदेखि ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर डडेलधुरामा ५० करोडको लागतमा भटमास प्रशोधन गरेर तेल उत्पादन र साबुन उत्पादन गर्ने उद्योग सञ्चालनको अन्तिम तयारीमा पुगेको हो । 

फार वेस्टर्न एग्रो ज्वाइन्ट लिमिटेडका रूपमा तीन वर्षको तयारीपछि उद्योग सञ्चालन सुरु हुन थालेको लिमिटेडका अध्यक्ष जोशीले जानकारी दिनुभयो  । 

“सुरुमा भटमास उत्पादन हुने जिल्लाहरू छनोट भयो र सम्भाव्यता अध्ययन भयो अध्यक्ष जोशीले भन्नुभयो, “तीन वर्षमा कृषकहरूसँग समन्वय, बजारको अध्ययन, चुनौतीहरूको पहिचान, क्षमता आकलन र सँगसँगै भौतिक पूर्वाधार निर्माणका काम भएको छ ।”

कम्पनीको भवन, गोदाम र कार्यशालालगायत भौतिक पूर्वाधार निर्माण भइसकेको छ । सुरुमा दुई करोड ५० लाख मूल्य बराबरको मसिन खरिद भएको छ, उत्पादन क्षमतासँगै अन्य उपकरण पनि थप्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

पहिलो चरणमा १० करोड बराबर लगानीको उत्पादन गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो । 

“पाँच वर्षमा उत्पादन र लगानी दोब्बर गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ”, डा. जोशीले उद्योगका विषयमा जानकारी दिँदै भन्नुभयो, “यो उद्योगमा डडेलधुराका कृषक मात्र संलग्न छैनन्, देशका करिब १२ जिल्लाका भटमास उत्पादक कृषक पनि यो उद्योगसँग जोडिएका छन् ।”

“यो लगानी बढ्दै जानेछ”,  सञ्चालक सदस्य तथा लिमिटेडका चार्टर एकाउन्टेन्ट प्रकाशदत्त भट्टले भन्नुभयो, “पाँच वर्षमा एक अर्ब लगानीको उत्पादन लक्ष्य राखेर तयारी भएको हो ।”

देशको सबैभन्दा बढी भटमास उत्पादन हुने डोटी, दोस्रोमा सल्यान, तेस्रोमा काभ्रे र सुदूर तथा कर्णालीका अन्य सबै जिल्लाहरूबाट सङ्कलन कार्य सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो । 

“भटमास कृर्षकहरूलाई उत्पादन वृद्धि गर्ने, असल बीउ बिजन र प्राविधिक सहयोग उपलब्ध गराउन सहकारी गठनको प्रक्रिया पनि सँगसँगै अगाडि बढेको छ ।” उहाँले भन्नुभयो ।  

https://www.ujyaalonepalnews.com/archives/17939

Previous articleथप ५१ जनामा कोरोना सङ्क्रमण
Next articleनेप्सेद्वारा सूचीकृत कम्पनीहरूको वर्गीकरण