
सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
दैलेखको गुराँस गाउँपालिका–आठ नम्बर वडा कार्यालयले आज जाजरकोटको छेडागाड नगरपालिका–५, बाँका थलह बस्दै आएका ४० घरपरिवारका १ सय ४४ जना राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

गुराँस आठका वडाध्यक्ष दीपेन्द्र ओली नेतृत्वको टोलीले राउटेलाई माघ, फागुन र चैत महिनाको प्रतिव्यक्ति चार हजारका दरले ५ लाख ७६ हजार रुपैयाँ सुरक्षा भत्ता वितरण गरेको वडा सचिव सुस्मिता खड्काले बताउनुभयो ।
उहाँले राउटेलाई ५ वर्ष अघि गुराँस गाउँपालिका–८, का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले उनीहरू जहाँ बसे पनि आठ नम्बर वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक २/३ महिनामा बस्ती सर्दै जाने गर्ने क्रममा हाल राउटेहरू जाजरकोटको छेडागाड नगरपालिका–५, बाँका थलहमा बस्दै आइरहेका छन् ।
https://ujyaalonepalnews.com/archives/20763


