पोखराको नगर सभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

कास्की । पोखरा महानगरपालिकाको नगर सभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । 

पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जु देवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो ।

एमालेबाट निर्वाचित नगर सभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गर्नुभएको छ ।

एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगर सभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।”

महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट)मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गर्नुभयो । उहाँले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताब छापेका छैनौँ ।”

एमालेबाट निर्वाचित सदस्यहरूले नगर सभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताउनुभयो । 

https://ujyaalonepalnews.com/archives/22024

Previous articleखैरहनीमा १ अर्ब १ करोडको बजेट; कस्ताकस्ता कार्यक्रम परे? हेर्नुहोस् पूर्ण विवरण
Next articleबुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।