काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
कांग्रेसले मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्ताव सदनमा आज दर्ता गराएको हो ।
प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला सङ्ग्रौला पन्त तथा समर्थकमा सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमति शाही छन् ।
वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवालाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन, सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका समस्याको दीर्घकालीन समाधान खोज्नका लागि उक्त प्रस्ताव छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ ।
यसैगरी रोजगारीका क्रममा बिरामी भएका युवाको उचित उपचार र आश्रित परिवारलाई आर्थिक सहयोग गर्नु पर्ने प्रस्तावमा उल्लेख छ ।
यस्तै मलेसिया सरकारसँग गरिएको सम्झौताअनुसार शून्यलागतमा कामदारलाई पठाउन सरकारले नै मलेसियाली कम्पनीसँग सिधा संवादमार्फत रोजगारी सुनिश्चित गर्न छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
The post कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता appeared first on Koshi Online.