कोभिडले जुराएको सफलता, विदेशबाट फर्केपछि बाख्रापालनमा

0
37

स्याङ्जा । कोभिड–१९ ले धेरै युवाहरूलाई उद्यमशीलतातर्फ लाग्न बाध्य बनायो । जब सन २०१९ मा कोभिडको महामारी फैलियो धेरैको रोजगारी गुम्यो, व्यवसायबाट विस्थापित हुन पुगे धनजनको क्षति भयो तर  धेरैलाई आफ्नै गाउँ ठाउँमा कर्म गर्न बाध्य पनि बनायो । यस्तैको भिडमा वालिङ ९ राउतडाँडाका नुमाकान्त गैह्रेलाई पनि कोभिड–१९ ले अहिले उद्यमी बनाएको छ । ५ वर्षसम्म साउदीमा परिश्रम गर्नुभएका गैह्रेलाई छुट्टीमा नेपाल आउँदा कोभिडले गर्दा जान रोकिनुभयो । 

कोभिडले विदेश जान रोकेपछि उहाँले आफ्नै बुवाआमाले गर्दै आउनुभएको बाख्रा पालनलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच बनाउनुभयो र कृषि फर्म दर्ता गरी अहिले व्यावसायिक रुपमा अगाडि बढ्नुभएको छ  । अलि समय विदेशमा बसेर पछि आफ्नै ठाउँमा केही गर्ने सोच त गैह्रेको थियो तर यति छिट्टै कृषि कर्ममा लाग्ने भने योजना थिएन । गैह्रेले भन्नुभयो, ‘विदेश बसाइको बिदामा आएपछि कोभिडका कारण देश ठप्प भयो त्यसपछि विदेश जान तत्काल सम्भव भएन । केही त गरौँ भन्ने सोचले बाख्रा पालनमा लागेँ ।’ 

पुरन कृषि पशुपालन फार्म दर्ता गरी विगत दुई वर्षदेखि पशुपालनमा लाग्नुभएका गैह्रेको आधुनिक खोरमा अहिले साना ठुला गरी ५३ बाख्रा छन् भने भैँसी समेत पाल्नुभएको छ । दैनिक ९ लिटर दुख वालिङ बजार पुर्‍याउँदै आउनुभएका गैह्रेले बजारीकरणको समस्या नभएको बताउनुहुन्छ । ‘बजारीकरणको समस्या छैन । उत्पादन गर्न सक्नुपर्छ ।’ उहाँले भन्नुभयो । 

खरी र बोयर क्रस जातका बाख्रा पालन गर्दै आउनुभएका गैह्रेले फाइटर कुखुरा समेत पाल्नुभएको छ । परिवारको साथ सहयोगले नेपालमै पनि केही गर्न सकिने रैछ भन्ने उहाँको अनुभव छ । यो २ वर्षको अवधिमा उहाँलाई दियालो, साना किसान र नगरपालिकाले समेत प्रोत्साहन स्वरूप रकम प्रदान गरेको छ भने अहिले नेपाल लाईभस्टक सेक्टर आयोजना अन्तर्गत विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको साझेदारीमा १६ लाखको योजना अन्तर्गत आधुनिक खोर समेत बनाउनुभएको छ । 

३१ वर्षका गैह्रेले अब पशुपालन तथा कृषिलाई नै विस्तार गरी रोजगार प्रदान गर्ने र अन्य युवाहरूलाई समेत प्रोत्साह गर्ने लक्ष्य छ । खोर व्यवस्थापन तथा बाख्रा गरी २० लाख बढी लगानी गरिसक्नुभएका गैह्रे परिवारसँगै बसेर जीविकोपार्जन गर्न पाउँदा निकै सन्तुष्ट पनि हुनुहुन्छ । 

कृषि तथा पशुपालनमा परिश्रम गर्न सकियो भने आफ्नो परिवार चलाउन विदेश नै जानुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । कृषकलाई विना धितो ऋण दिएर अनुदानका लागी धेरै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकियो भने अझ राम्रो हुन गैह्रे बताउनुहुन्छ । कृषककै फर्ममा गएर त्यही अनुसार अनुदान दिइयो भने प्रभावकारी हुने गैह्रेले बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/22553

Previous articleकिसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने
Next articleवीरगंज महानगरले सम्पत्ति करको शुल्क घटायो