चाडपर्व मनाउन घर फर्कदै हुनुहुन्छ ? विदेशबाट फर्कनेलाई के के सामानमा भन्सार छुट ?

काठमाडौं : नेपालीहरुको महान चाड दशैँ नजिकिँदै छ। त्रिभुवन विमानस्थलमा दशैँ मनाउन स्वदेश फर्कनेको चाप बढ्दाे छ। वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीले स्वदेश फर्किंदा आफन्तका लागि महँगो ब्रान्डका रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुन–चाँदीका गहना लगायतका सामग्री लिएर आउने गरेका छन्। यसरी विदेशबाट आउनेले निश्चित परिणामका सामानलाई सरकारले भन्सार छुटको व्यवस्था गरेको छ। तर, सरकारले तोकेको भन्दा बढी सामान ल्याएको खण्डमा भन्सार तिर्नुपर्ने हुन्छ।

कतिपयलाई विदेशबाट कति सामान ल्याउँदा भन्सार छुट पाइन्छ र कति ल्याउँदा पाइँदैन भन्ने जानकारी नहुन सक्छ। जसका कारण विमानस्थलमा समस्या भोग्ने गरेका छन्। सरकारले तोकेभन्दा बढी सामान लिएर आउँदा समस्या हुने गरेको अध्यागमन विभागले जनाएको छ। सोही अनुसार श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीलाई दूतावासमार्फत जानकारी गराएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

अर्थ मन्त्रालयले जारी गरेको ‘झिटीगुन्टा आदेश अनुसार’ वैदेशिक रोजगारीमा कम्तीमा एक वर्ष बसेर फर्किएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन सक्ने सुविधा छ। ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याए इन्च अनुसार भन्सार तिर्नुपर्ने व्यवस्था छ। त्यस्तैगरी तीन थानसम्म नयाँ मोबाइल सेट र साथैमा रहेको मोबाइल लिएर आउँदा भन्सार छुट छ। तीन थानभन्दा बढी ल्याए बजार अनुसार भन्सार तिर्नुपर्ने व्यवस्था छ। रोजगारीका लागि नगएका व्यक्ति र एकवर्ष पूरा नभई फर्किएकाले भने छुट पाउने छैनन्। एकभन्दा बढी टीभी ल्याएमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने व्यवस्था छ।​

कस्ता व्यक्तिलाई के सामानमा छुट ?

विदेशबाट फर्किनेका हकमा १ लिटरसम्म रक्सी मात्र ल्याउने सुविधा सरकारले दिएको छ। त्यो भन्दा धेरै रक्सी ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्था छ। डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र र स्टेथेस्कोप, खेलाडीले खेलकुदसम्बन्धी सामान, संगीतकर्मीले वाद्यवादनका सामग्री लगायतका १/१ थान सामान ल्याउँदा भन्सार छुट हुने व्यवस्था छ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रूपमा अशक्तको सहाराका लागि ल्याइने सामग्रीमा पनि भन्सारमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ। यसैगरी ल्यापटप, कम्प्युटर वा ट्याबलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थानमा भन्सार छुटको व्यवस्था छ।

म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ। मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, अराइन, राइस कुकर २/२ थानसम्म ल्याएमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ।

१५ थान लुगाफाटा, जुत्ता, कस्मेटिकलगायतका समान पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाट ल्याउन सकिने व्यवस्था रहेको छ। विदेशबाट स्वदेश फर्कने नेपालीले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार छुट पाउने व्यवस्था छ। सो भन्दा बढी ल्याएको खण्डमा भन्सार शुल्क तिर्नुपर्ने कानुनी प्रावधान छ। तोके भन्दा बढी सामान लिएर नआउन सरकारले अपिल गरेको छ।

 

https://ujyaalonepalnews.com/archives/24461

Previous articleनेपाल रिलिजअघि नै ‘प्रेमगीत ३’ को पूरा हिन्दी भर्सन भारतबाट लिक
Next articleकतार एयरवेजले सातौंपटक जित्यो ‘एरलाइन अफ द इयर अवार्ड’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।