४१ वर्ष पुरानो नारायणी पुलको आडैमा बन्ने भयो झन्डै १ अर्बको नयाँ पुल

0
42

सडक विभागअन्तर्गतको पुल महाशाखाले नारायणी नदीमा नयाँ पुल बनाउन टेण्डर आह्वान गरेको छ। नयाँ पुल हाल पुल रहेको स्थानको आडैमा बन्ने गरी टेण्डर आह्वान गरिएको हो। पुल महाशाखामा प्रमुख इन्जिनियर उमेश विन्दु श्रेष्ठले पूर्व–पश्चिम राजमार्गको ‘राइट अफ वे’ भित्रै ४२० मिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी भएको बताए।

‘नयाँ पुल अहिले पुल भएको स्थानबाट माथि वा तल कहाँ बनाउने भन्ने यकिन भइसकेको छैन तर आडैमा बन्ने चाहिँ पक्का भयो,’ श्रेष्ठले भने, ‘अन्य ठाउँमा बनाउन आवश्यक पर्ने जमिन भेटिएन।’  श्रेष्ठले एक अर्ब रुपैयाँभन्दा बढी खर्चमा पुल बनाउनेगरी प्रकृया अघि बढेको बताए। पुल अहिलेको जस्तो सामान्य नभएर आकर्षक बन्ने उनले बताए।

‘करिब तीन महिनामा ठेक्का प्रकृया टुंगिएपछि कन्ट्र्याक्टरले ६ महिनामा डिजाइन पेस गर्छ, ९ महिनाभित्रमा सुरू हुन्छ,’ श्रेष्ठले भने। उनका अनुसार यस्तो पुल बनाउन सामान्य पुलको भन्दा दोब्बर खर्च लाग्छ। आगामी आर्थिक वर्ष सुरू हुनुभन्दा अघि नै काम सुरू भएर ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पुल महाशाखाले जनाएको छ।

नारायणी नदीमा चितवन र नवलपुरलाई जोड्ने पुल अहिलेसम्म एउटामात्रै छ। २०३८ सालमा बनेको नारायणगढस्थित पुल जीर्ण बन्दै गएको छ। महाशाखाका प्रमुख श्रेष्ठले नयाँ पुल बनिसकेपछि पनि हालको पुल सञ्चालनमै रहने बताए। ‘नयाँ पुल पर्यटकीय दृष्टिले पनि आकर्षक बन्ने छ। त्यो सिग्नेचर वा स्पेशल जे पनि हुनसक्छ तर अहिलेको भन्दा फरक र आकर्षक दुई लेनको पुल बन्नेछ। हालको पुल पनि सञ्चालनमै रहन्छ,’ श्रेष्ठले भने।

नारायणगढदेखि बुटवलसम्मको सडकलाई एसियन मापदण्डको राजमार्गका रूपमा विस्तारको काम अहिले चलिरहेको छ। नारायणगढदेखि भरतपुरको गोद्राङसम्मको सडकलाई ६ लेनको बनाउने काम पनि अहिले चलिरहेको छ। भरतपुरदेखि पथलैयासम्मको सडक पनि विस्तार हुनेक्रममा छ। पूर्व–पश्चिम राजमार्गलाई नै विस्तार हुँदै गर्दा नारायणी नदीमा पनि आकर्षक पुल बन्न लागेको हो। सतोपाती बाट

https://www.ujyaalonepalnews.com/archives/24681

Previous articleसरकारी खर्चमा स्वदेश आए साउदीमा मस्तिष्क घात भई उपचाररत जितेन्द्रकुमार
Next articleबस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर