नेपालले अमेरिकालाई दियो १९१ रनको चुनौती

0
79

आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकासामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको हो।

एक समय ४९–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।

ओडीआईमा यो नेपालको कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी पनि हो। कुशलले ५० र विनोदले ५९ रनको महत्वपुर्ण योगदान गरे।

खराब सुरुवात गरेको नेपाललाई दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गर्दै केही इनिङ उकासेका थिए। तर, ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए। ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे। ५२ बलको सामना गरेका पारस २ चौकासहित १९ रनमा पवेलियन फर्के। उनी क्यामरोन स्टेभनको बलमा क्याच आउट भए।

ओपनिङ फेरबदल गर्दै सुवास खकुरेल र ज्ञानेन्द्र मैदान उत्रेका थिए। ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलोे बलमा सिलिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट हुन पुगे। सुवासले १० बलको सामना गरे।

कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै जेभियर मार्शलबाट शून्यमा आउट भए। आरिफ शेख २ रनमा कप्तान सौरभ नेत्रवलमको बलमा क्याच आउट भए। करण केसी १२, सन्दीप लामिछाने शून्य रनमा आउट भए।

कुशलको विश्व कीर्तिमान

बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटको डेब्यू खेलमै विश्व कीर्तिमान कायम गरेका छन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३ सय ४० दिनको रहेको छ। ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान कायम गरेका हुन्।

यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए। रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन ओडीआई क्रिकेटमा सर्वािधक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

सो अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेको थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए।

विनोदको पहिलो अर्धशतक
विकेटकिपर विनोद भण्डारीले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन। विनोदले ६२ बलमा अर्धशतक पूरा गर्दै आफ्नो ओडीआई करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन्। विनोदले ७९ बलमा ६ चौका र १ छक्कासहित ५९ रनको योगदान गरे।

 

१९ जनामा कोरोना सङ्क्रमण, १८ जना डिस्चार्ज

Previous articleअल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
Next articleविष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !