Home Blog Page 100

विद्यालयको गुणस्तर विकासको लागी भद्रकालीमा उत्प्रेरणा कार्यक्रम

उज्यालो नेपाल, रत्ननगर- रत्ननगरको वडा नं. १६ मा रहेको भद्रकाली माध्यमिक विद्यालयमा विद्यालयको गुणस्तर सुधारको लागी उत्प्रेरणा कार्यक्रम  संचालन गरिएको छ । भूतपूर्व विद्यार्थी संघ भद्रकालीको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विद्यालय व्यवस्थापन समितिको लागी उत्प्रेरणा कार्यक्रम  संचालन गरिएको  हो ।

अभिभावक, शिक्षक र बिद्यार्थीको सम्बन्ध सुधार्ने, सबैलाई आफ्नो दायित्वबोध गराउदै कर्तव्य पालनमा अग्रसर गराउने र विद्यार्थीको उज्वल भविष्य निर्माणमा गर्न सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रम’ सञ्चालन गरिएको संघका अध्यक्ष एलिन गुरुङले बताए ।

विद्यार्थी र अन्य सहभागीको लागी छुट्टाछुट्टै सेसन संचालन गरिएको कार्यक्रममा विद्यार्थी प्रतिको दायित्व, मनोभावना बुझ्ने तरिका, शिक्षक–शिक्षिकाको हौसला बढाउने विधि, विद्यालयप्रतिको दायित्व, विद्यार्थीलाई अभिभावक र शिक्षाप्रतिको कर्तव्य र जीवनका आयाम आदि विषयमा प्रशिक्षण दिइएको थियो ।

आयोजक भूतपूर्व विद्यार्थी संघलाई धन्यवाद दिंदै वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज थापाले भद्रकालीलाई रत्ननगरकै उत्कृष्ट शैक्षिक धरोहरको रुपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गरे । प्रधानाध्यापक तिलक बहादुर कुँवरले उत्प्रेरणा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रेरक वक्ता विष्णु कुमार देवकोटाले सहजीकरण गरेका थिए ।

रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिलाहरुको आयआर्जनको लागि कुसन बनाउने तालिम मंगलबारबाट सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले सीप मुलक तालिम मार्फत जीविकोपार्जनको आधार तयार गर्न तालिमको आयोजना गरेको हो ।

संघका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेको सो तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । सीप मुलक तालिम मार्फत गरिवी निवारण गर्न तालिम आयोजना गरिएको संघका अध्यक्ष गिरीले बताए ।

पछिल्लो समय डल कुसनको बजारमा माग बढी रहेका कारण सम्भावनाको खेजि गरी आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई तालिममा सहभागि गराइएको उनको भनाई छ । सात दिन सम्म चल्ने तालिममा कमला लेडिन एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक कमला श्रेष्ठले डल कुसन बनाउन सिकाउने संघ अन्तर्गतको महिला उद्यमी प्रर्वधन समितिकी संयोजक इश्वरी सिंखडाले जानकारी दिइन् ।

संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शंकर गिरीले गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष हरि अधिकारी सहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

चौतारी चितवनको भवन निर्माणका लागि व्यवसायी सापकोटाले गरे आर्थिक सहयोग

३, पुस, चितवन । श्रमजीवि पत्रकारहरूको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी होटल व्यवसायी यमलाल सापकोटाले आर्थिक सहयोग गरेका छन् ।

जापानमा रहेर होटल व्यवसायको क्षेत्रमा स्थापित भएका सापकोटाले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

गैंडाकोटमा ताजमहल एभरेष्ट होटल सञ्चालन गरेका सापकोटाले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

पत्रकारहरुको संगठनले चितवनमा भवन बनाउन लागेको र त्यसमा आफूले सानो भए पनि सहयोग गर्न पाएको खुसी भएको सापकोटाले बताए ।

अहिले सहयोगको सुरुवात मात्रै गरेको भन्दै सापकोटाले आउने दिनमा पनि आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने प्रतिवद्दता जनाए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले विदेशमा होटल व्यवसायको क्षेत्रमा स्थापित भएर स्वदेशमा पनि केही गरौं भन्ने भावनाका साथ गैंडाकोट, भरतपुर, काठमाण्डौं लगायतका क्षेत्रमा लगानी गरेका सापकोटाले चौतारी चितवनको भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिए ।

उनले विभिन्न क्षेत्र तथा ब्यक्तिहरुबाट मिलेको सहयोगले चौतारीको देश कै पहिलो भवन निर्माणमा ठूलो टेवा पुगेको भन्दैं भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए ।

सो अवसरमा प्रेस चौतारी बागमती प्रदेश कमिटी सचिवालय सदस्य गोविन्द घिमिरे र सेतोपाटीका चितवन सम्वाददाता राजेश घिमिरेको उपस्थिती रहेको थियो ।

चितवन भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ ।

भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरू रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।

यसैबीच, नेकपा एमाले साविक गुञ्जनगर गाउँकमिटीका पूर्व अध्यक्ष स्वर्गीय लिलाबल्लभ सुवेदीको स्मृतीमा प्रेस चौतारी चितवनका लागि रु. ५ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

सुवेदीका छोरा रामचन्द्र सुवेदीले प्रेस चौतारी चितवनको भवनका लागि आफूले बुवाको नाममा सहयोग गर्न इच्छा राखेको बताए । उनले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका थिए ।

जाडोबाट बच्न यी चार कुरा खानुहोस, जसको कयौं फाइदा छन्

काठमाडौं, ३० मंसिर । जाडो मौसम नजिकिँदै जाँदा हाम्रो खाने बानीमा पनि परिवर्तन हुन्छ । गर्मीको तुलनामा जाडोमा हामीले आफ्नो आहारमा केही कुरा समावेश गर्छौं, जसले शरीरलाई न्यानो राख्छ र चिसो र रोगबाट बचाउँछ।

त्यसैले जाडोमा चिसोबाट बच्न शरीरलाई न्यानो राख्ने खानेकुरा खानुहोस् । यस्ता धेरै चीजहरू छन्, जुन खाँदा शरीरमा न्यानोपन आउँछ। जाडोमा आफ्नो आहारमा यी ४ कुरा समावेश गर्नु भयो भने तपाइलाइ फाइदा हुन सक्छ ।

खजूर
जाडोमा खजूर खानु निकै फाइदाजनक हुन्छ । खजूरमा भिटामिन ए र बी राम्रो मात्रामा पाइन्छ । खजुरहरूको प्रकृति तातो हुन्छ। जसले चिसो मौसममा राहत दिन्छ । यसले हाम्रो शरीरलाई भित्रबाट तातो राख्छ। यसमा फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर पनि पर्याप्त मात्रामा पाइन्छ। जसले हामीलाई धेरै रोगबाट मुक्ति दिन्छ ।

गुड़
जाडोमा गुड़को सेवन गर्नु निकै फाइदाजनक हुन्छ । गुड़ पेट र सम्पूर्ण शरीरको लागि धेरै लाभदायक छ। यसको सेवनले हाम्रो मेटाबोलिजम राम्रो रहन्छ । यो पाचनका लागि पनि निकै फाइदाजनक हुन्छ, यसमा आइरन पाइन्छ । जसले एनिमिया जस्ता समस्यालाई कम गर्न मद्दत गर्छ । साथै जाडोको चिसोमा गुड़ले शरीरमा न्यानोपन पैदा गर्छ ।

तिल
जाडो मौसममा तिलको दाना खानु निकै फाइदाजनक हुन्छ । तिलको गुण प्राकृतिक रूपमा तातो हुन्छ। त्यसैले जाडोमा शरीरलाई भित्रबाट न्यानो राख्न मद्दत गर्छ। तिलमा फ्याट र प्रोटिन पाइन्छ, जसले शरीरलाई ऊर्जा दिन्छ। यो हड्डीका लागि पनि फाइदाजनक हुन्छ । तिलको दाना खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रुघाखोकी जस्ता सामान्य रोगसँग लड्ने शक्ति मिल्छ ।

बदाम

जाडोमा बदाम खानु निकै फाइदाजनक हुन्छ । बदाममा राम्रो मात्रामा फ्याट र प्रोटिन पाइन्छ जसले ऊर्जा प्रदान गर्छ र शरीरलाई न्यानो राख्छ। यसबाहेक बदाममा भिटामिन ई, म्याग्नेसियम, फस्फोरस र अन्य खनिजहरू पनि पाइन्छ जसले चिसोसँग लड्न मद्दत गर्छ। बदाम खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ, जसले हामीलाई रुघाखोकी जस्ता रोगबाट बचाउन मद्दत गर्छ । त्यसैले जाडोमा बदाम शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

 

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।

समायोजन पश्चात् काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो रत्नप्रिय कप : प्याराडाइज सेमिफाइनलमा प्रवेश

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । भण्डारा एपिएफलाई ४–१ गोल अन्तरले पराजित गर्दैै प्याराडाइज युवा क्लव विजयी भएको हो ।

निर्धारित समयमा दुबै तर्फबाट एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा प्याराडाइजले तीन गोल गर्दा भण्डारा एपिएफले एक गोल पनि गर्न सकेन । निर्धारित समयको खेलमा प्याराडाइजको तर्फबाट सन्तबहादुर गुरुङले एक र भण्डारा एपिएफको तर्फबाट सन्देश श्रेष्ठले एक गोल गरेका थिए ।

शुक्रबारको खेलबाट भण्डारा एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ भने प्याराडाइज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका प्याराडाइज युवा क्लवका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् ।

उनलाई वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, युवा समाजसेवी तथा खेलाडी सुजन नेपाल, व्यवसायी सुर्यचन्द्र खतिवडा, क्लवका अध्यक्ष बसन्त रानाले पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

भोली (शनिबार) पेङ्गुन एजुकेशन भरतपुर २४ र गैंडाकोट फुटवल क्लव बीच खेल हुने क्लवका सचिव विजय लामाले जानकारी दिए ।

कोभिड पछि सौराहामा पहिलोपटक हात्ती महोत्सव हुँदै

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी कोभिडका कारण चार बर्ष देखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गर्न लागेको जानकारी दिएको हो ।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । चालु आर्थिक बर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । ति मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अबलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलो पटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटन गतिविधि सुरु गरेका हुन् ।

साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । अधिकारकर्मीहरुले प्रश्व उठाउन थालेपछि व्यवसायीहरुले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृगार प्रतियोगिता, हात्ती बनभोज र डुंगा दौड प्रतियोगितालाई यथाबत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासंगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ ।

खस्किएको चितवनको पर्यटनलाई माथी उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्बधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।

महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाईमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उनको भनाई छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

चितवनमा बन्ने रेलमार्गको डिजाइन अन्तिम चरणमा, रत्ननगरका कुनकुन वडामा रेलमार्ग पर्छ?

हेटौंडा । रेल विभागले मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको बताएको छ ।

फुलब्राइट कन्सलटेन्सी प्रालिले १३ वर्षअघि बनाउन सुरु गरेको परियोजनाको डिजाइनलाई अन्तिम चरणमा पु¥याएको हो । हेटौंडा–भरतपुर खण्डमा यात्रु स्टेशन ५ वटा रहने प्रारम्भिक अध्ययनमा उल्लेख छ ।

निजगढ–सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ । यात्रु स्टेशनका लागि १६० मिटर चौडाइ र १७० मिटर लम्बाइ भएको जमिनको आवश्यकता पर्ने बताइएको छ ।

बाराको निजगढ नगरपालिका वडा नं ३, ४, ५, १०, ११, १३ र जीतपुर सिमरा उपमहानगरपालिका २२ नं वडामा निर्माण गरिने रेलवे लाइनका लागि स्थानीय सरोकारवालाबीच छलफल भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

हेटौंडा उपमहानगर वडा नं ८, ९, १२, १३, १४, १५ र १६ तथा मनहरी गाउँपालिका वडा नं ३, ५, ६, ८ र ९ मा रेलवे लाइन निर्माण हुनेछ ।

त्यस्तै चितवनको राप्ती नगरपालिका वडा नं १, २, ३ र ६, खैरहनी नगरपालिका वडा नं ५, ७ र १०, रत्ननगर नगरपालिका वडा नं ४, ५ र ९ तथा भरतपुर महानगर वडा नं ४, ५, ७, ८ र १६ मा रेलवे निर्माण गर्न प्रस्ताव गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंगलको ४ किमि क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा भने छलफल भइरहेको विभागले जनाएको छ ।

हेटौंडा–१६ र जीतपुर सिमरा उपमहानगर वडा नं २२ बीच पर्ने चुरे पहाडमा करिब ७ किमि सुरुङ मार्ग निर्माण गरी रेलवे लाइनले बारा र मकवानपुर जोड्ने गरी अध्ययन अगाडि बढाइएको छ ।

सरकारको प्रचलित नियम–कानूनअनुसार रेलवे आयोजनाले स्थानीयमा पर्नसक्ने सामाजिक, सांस्कृतिक, वातावरणीय प्रभावका बारेमा पनि अध्ययन गरी प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

यसका लागि हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सरोकारवालाबीच सार्वजनिक सुनुवाइ पनि आयोजना गरिने बताइएको छ । रेलवे सर्भेको विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा छलफल भैसकेको छ । उपमहानगरको अरु वडामा कुनै समस्या नभए पनि हेटौंडा वडा नं १५ र १६ मा केही समस्या देखिएको तर त्यस समस्यालाई समाधानको प्रयास भैरहेको बताइएको छ ।

थप छलफलको लागि पुसको दोस्रो साता हेटौंडा– १५ का वडाध्यक्ष सुनिल मोक्तानको सहभागितामा सर्वपक्षीय बैठक आह्वान गरिएको छ ।

रेलवे परियोजनाका लागि निजगढ–हेटौंडा–भरतपुर खण्डमा निजी जग्गा करिब ४०० हेक्टर अधिग्रहण गर्नुपर्ने देखिएको छ । सरकारी जमिन वा जंगल क्षेत्र करिब ७०० हेक्टर र खोला, खहरे, नदी बगर आदि ४० हेक्टर जग्गा आवश्यक देखिएको प्राविधिकहरुले बताएका छन् । सरकारले २०६७ सालमा रेल विभाग स्थापना गरेको थियो ।

कालिका- १० को वडा कार्यालय भवन उद्घाटन

रत्ननगर, मंसिर २७ । चितवनको कालिका नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन निर्माण भएको छ । नगरपालिकाको १ करोड रुपैँया लगानीमा निर्माण भएको भवनको बुधवार कालिकाका नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गरेका हुन् ।

बैठक हल सहित ६ कोठाको भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने नगरपालिका र वडा कार्यालयको बिस्वास छ । अस्थायीका साथै साँघुरो भवनबाट सेवा दिन समस्या भएको भन्दै नयाँ भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष नर जंग प्रजाको अध्यक्षतामा भएको हो ।

प्रमुख अतिथि नगर प्रमुख रेग्मीले कार्यक्रममा बोल्दै वडा नं. ८ को कार्यालय भवन बाहेक सबै वडाको भवन निर्माण सम्पन्न भईसकेको बताए । यता नगरमा समेत भब्य र सुविधा सम्पन्न कार्यालय भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भई अन्तिम चरणमा रहेको जानकारी दिए । कालिका वडा नं। १० का विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि लगाएतका कार्यहरु अगाडी बढिरहेको बताए ।

उनले भने, ‘वडा कार्यालय राम्रो मात्र भएर हुदैन यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले जनतालाई मुस्कान सहितको सेवा दिनुपर्छ, उनीहरुको समस्या सुन्ने, उत्पादन संग जोडेर आय आर्जनमा विशेष जोड दिनुपर्छ ।’

उप-प्रमुख विमला तामाङले नगरका संस्थापक नगर प्रमुख र उप प्रमुखले नगरका वडा कार्यालय भवनको निर्माण कार्य सुरुवात गरिदिनुभएकोमा खुसी लागेको बताइन् । कार्यालयमा सेवा दिदा यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले मुस्कान सहितको सेवा दिन आग्रह उनले गरिन् ।

उनले भनिन्, ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’

कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, पूर्वाधार समितिका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष लक्षमण पौडेल, संस्थापक वडा अध्यक्ष दिल वहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए ।

१० का वडा अध्यक्ष प्रजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २ का वडा अध्यक्ष लक्षमण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, ९ का वडा अध्यक्ष निलकण्ठ मगर, ११ का वडा अध्यक्ष कृष्ण प्रजा, वडा सदस्य, नगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति थियो ।

नगरका सुचना अधिकारी प्रकाश चन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा नं. १० की वडा सदस्य सुमित्रा तामाङले स्वागत मन्तव्य राखेकी थिईन् ।

चितवनमा ढुंगा प्रहार गरि छोराले गरे बाबुको हत्या

चितवन । चितवनमा छोराले बाबुको हत्या गरेका छन् । चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा रक्सीको नसामा रहेका १९ बर्षिय सुनिल चेपाङले आज दिउँसो बाबु ३८ बर्षिय रामशरण चेपाङलाई ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।

ढुंगा प्रहारबाट घाइते भएका रामशरण चेपाङको इच्छाकामना आधाभुत अस्पताल कुरिनटारमा प्राथमिक उपचार गरि थप उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटो मै मृत्यु भएको हो ।

रक्सीको नसामा रहेका सुनिललाई घरमा जाउ भनि बाबुले कर गरेपछि ढुंगाले प्रहार गरेको स्थानियहरुले बताएका छन् । शबलाई पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडा नम्बर २ काउले घर भएका चेपाङ परिवार चुम्लिङ्गटारमा डेरा गरि बस्दै आएका थिए । उनिहरु चुम्लिङ्गटारमै मजदुरी गर्दै आएका थिए ।