Home Blog Page 99

रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको बिदाई

चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको बिदाई गरिएको छ ।

बन मन्त्रालयमा सरुवा भएका सुवेदीलाई शुक्रबार नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र विभिन्न संघ संस्थाले बिदाई गरेका हुन् ।

१७ महिना अघिदेखि रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदीको बन मन्त्रालयमा सरुवा भएको हो ।

सुवेदीलाई नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव प्रसाद पाठक लगायतले फुलमाला सहीत मायाको चिनो प्रदान गर्दै बिदाई गरेका हुन् ।

सुवेदीको सरुवा भएसँगै रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने भएका छन् ।

ठुलीभेरी नगरपालिका डोल्पामा कार्यरत लम्सालको रत्ननगरमा सरुवा भएको हो।

राप्ती नेकपा एसमा नयाँ नेतृत्व : अध्यक्षमा रामकुमार पण्डित चयन

राप्ती । नेकपा एकीकृत समाजबादी राप्ती नगर कमिटीको अध्यक्षमा रामकुमार पण्डित चयन भएका छन् । विहीबार सम्पन्न सो पार्टीको प्रथम नगर अधिवेशनले पण्डितको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा राजकुमार रुम्बा, सचिवमा राजकुमार विक, उपसचिवमा दीपक गोेले, ललीता चौधरी, योगेश तामाङ चयन भएका छन् । नगर कमिटी सदस्यमा माधव घिमिरे, कल्पना राई, रिता ओली, कृष्ण बहादुर डिमडङ, श्रीधर चौलागाई, अनिता उप्रेती, बृद्धिमाया श्रेष्ठ, गायत्री रुवाली, हर्क लोप्चन, नर्व लामा, कमला पौडेल, अन्जन रेग्मी, मिरा अम्गाई, सम्झना थापा, विकास विक, संजिव सुनार, शुष्मा प्रजा, लालीमाया थिङ, हरिबहादुर तामाङ, आशमान प्रजा, सन्तराम प्रजा र अमृता प्रजा चयन भएका छन् ।

खसआर्य तथा अन्य कोटाबाट डम्बर बहादुर रिमाल, एकराज पाण्डे, प्रविण खनाल, बालकृष्ण श्रेष्ठ, भवानी पाठक, शान्तिराम सापकोटा, दलीत कोटाबाट चुडामणि दर्जी, सन्त परियार, भिम बहादुर विसुन्के, जनजाती कोटाबाट वाबुराम चौधरी, सुरेन्द्र चौधरी, लक्ष्मण श्रेष्ठ, कृष्ण गुरुङ, युवाकोटाबाट सुदिप गिरी, हिरा बहादुर श्रेष्ठ, अनिल अधिकारी, विना दर्जी, अप्सरा थापा महिला कोटाबाट भरती थापा, तिलकुमारी राई, रिता चेपाङ, कृष्णमाया मानन्धर र अमृता पुलामी मगर नगर कमिटी सदस्यमा चयन भएका छन् ।

राप्ती नगर अधिवेशन नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका थिए । सो अबसरमा नेता नेपालले भ्रष्टाचारीका विरुद्धमा पार्टी एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । भष्टाचारकै कारण मुलुक संकटमा फसेको भन्दै उनले स्वच्छ राजनीति अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । भ्रष्टाचारीका विरुद्धमा पार्टी एकजुट भएर लाग्नुपर्ने बेला आएको छ उनले भने भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन । देशमा सुशासन जरुरी रहेको बताउदै उनले भ्रष्टाचार र अनियमिततामा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताए । अध्यक्ष नेपालले आर्थिक विकासको आधार कृषि उद्योग, जलश्रोत रहेको बताउदै यसको समायोजित विकास गर्न सके देशले कोल्टो फेर्ने धारणा राखे ।

कार्यक्रममा सो पार्टीका उपमहासचिव गंगाराज मानन्धर, राप्ती नगरपालिकाका मेयर तथा सो पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य शमशेर लामा, जिल्ला कमिटी अध्यक्ष अरुणपीडित भण्डारी, वडा नं ७ की वडा सदस्य तथा प्रदेश कमिटी सदस्य सुमिता डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए । अधिवेशन राम सेढाईको अध्यक्षतामा भएको थियो ।

एनएसएल : पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ ।

पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ । पोखरा प्लेअफमा पुगिसकेको छ । धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ । हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन् । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ । झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ । तर बराबरी या हारले अरु खेलको नतिजामा निर्भर हुनेछ । चितवन प्लेअफ होडबाट बाहिरिसकेको टोली हो । यी दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् ।

हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौF र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ ।

चितवनका पोल्ट्री व्यवसायी भन्छन्–‘व्यवसाय जोगाउने वा समाप्त पार्ने राज्यको हातमा छ’

चितवन, पुस ६-

पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उहाँले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुग्नुभयो ।

यद्यपि, अहिले पनि अण्डाको लागत मूल्य पाउन अझै सकेको छैन । कोभिडको महामारीपछि निरन्तर नोक्सानमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता व्यवसायीमा छ । किसान पोखरेलको नेतृत्वमा बनेको नेपाल लेयर्स कुखुरापालक सङ्घले बजारीकरण गर्दै आएको छ । फार्मको अण्डालाई सोझै किसानको भान्सामा पु¥याउने गरी काम गरिरहेको छ ।

किसान पोखरेलको भनाइमा प्रतिक्रेट (३० वटा अण्डाको) लागत मूल्य रु चार सय २० हाराहारी पर्दछ । अहिले पनि प्रतिक्रेट रु तीन सय ७० मा बिक्री गर्नुपर्ने बाध्यता छ । सङ्घ गठन भएपछि केही महिना लागत मूल्यसम्म पुगेको भए पनि पुनः घटेको हो । यद्यपि पहिलेको झैँ निकै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अहिले नरहेको उहाँले बताउनुभयो ।

चार वर्षअघि दैनिक ६० हजार कार्टुन (एक कार्टुनमा सात क्रेटसम्म अण्डा उत्पादन हुने गरेकामा यो घटेर २४ हजार कार्टुन हाराहारीमा झरेको छ । एक हजार चार सय हाराहारी फार्मबाट घटेर तीन सय हाराहारीमा झरेको जनाइएको छ । ठूला फार्म सञ्चालनमा आएकाले धेरै अण्डा देखिए पनि फार्मको सङ्ख्या निकै घटेको छ ।

किसान र व्यवसायीको अवस्था निकै खस्किएर व्यवसाय धान्ने सङ्घर्षमा रहेका छन् । आत्मनिर्भर यस व्यवसायलाई सरकारले सम्बोधन गर्न नसकेमा समाप्त हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अझै पनि सरकारले सम्बोधन गर्न सक्यो भने व्यवसाय जोगिन सक्छ ।”

सङ्घकै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ सञ्चालन गरेर देशभरका अण्डा सङ्कलन गरी बजारीकरणसमेत गर्दै आएका छन् । यसले अण्डाको बजारीकरणमा सहयोग पुगेको उहाँको भनाइ थियो ।

अभियानमा लाग्नुभएका पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पोल्ट्रीजन्य उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा नियमित नोक्सान व्यहोर्नु परेको बताउनुभयो । धेरै किसान विस्थापित भइसकेको उहाँको भनाइ छ ।

उहाँको भनाइमा विगतको तुलनामा ४० प्रतिशतभन्दा बढी लेयर्स कुखुरा घटेका छन् । ब्वायलर प्यारेन्ट ४५ प्रतिशत, लेयर्स प्यारेन्ट ४३ प्रतिशत र अण्डाको उत्पादन ६५ प्रतिशतभन्दा बढीले घटेको छ । किसानसँग कुखुरा पाल्न आर्थिक अभाव भएको उहाँको भनाइ थियो ।

सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैङ्कको ऋणको भरमा छन् । उनीहरुलाई बैङ्कको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैङ्कको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष एवं उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले भन्नुभयो, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैङ्कलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”

पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले बैङ्कको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै समयमा सुधार हुन नसके कूल ग्रार्हस्थ्य उत्पादनमा चार प्रतिशतभन्दा बढी योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने बताउनुभयो । राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पु¥याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।”

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले नेपालको पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी रहेको बताउनुभयो । समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।”

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषि पौडेलले कोभिड अघिसम्म तीन सय ४४ वटा ह्याचरी रहेकामा अहिले एक सय १७ मा झरेको बताउनुभयो । तीमध्ये पनि ८० हाराहारीले मात्रै चल्ला उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । लेयर्स चल्लाको उत्पादन लागत मूल्य रु ५५ प्रतिगोटा पर्ने भन्दै उहाँले अहिले रु ४५ हाराहारीमा बिक्री गर्न बाध्य रहेको बताउनुभयो ।

निरन्तरको घाटाका कारण धेरै ह्याचरी बन्द भएको उहाँको भनाइ छ । सातामा लेयर्स चल्ला तीन लाख उत्पादन हुने गरेकामा अहिले यसको उत्पादन एक लाख २५ हजार र ब्वायलर चल्ला सातामा ४५ लाख उत्पादन हुने गरेकामा अहिले २० लाख मात्रै उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

भारतीय खुल्ला सिमानाबाट अवैध रुपमा आउने पोल्ट्रीजन्य पदार्थ, बढ्दो बैङ्कको ब्याजदर, नागरिकमा घटेको क्रयशक्ति, कच्चापदार्थको लगाइएको भन्सार लगायतका कारण यो व्यवसाय टिक्न मुस्किल भएको हो । यससँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य नबढ्नु र पोल्ट्रीका लागि आवश्यक दाना, औषधि, कच्चापदार्थको मूल्य बढ्नु र जनशक्तिको पारिश्रमिक थपिँदै जानुले सन्तुलन कायम गर्न नसकेर व्यवसाय धराशयी हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

सरकारको स्पष्ट नीतिको अभावमा आत्मनिर्भर व्यवसाय पलायन हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यसबाट प्रत्यक्ष रुपमा बैङ्किङ क्षेत्रसमेत प्रभावित हुने देखिन्छ । रासस 

हेटौँडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु

मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आजबाट हेटौँडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । हेटौँडा–१० स्थित टीसीएन खेल मैदानमा आगामी पुस १७ गतेसम्म चल्ने महोत्सवको आज एक समारोहका बीच बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले खेलकुदसँगै आर्थिक रुपमा जोडिएको हुँदा यसले दुवै क्षेत्रलाई टेवा पु¥याउने बताउनुभयो । उहाँले विशेष गरि खेल क्षेत्रको विकासको पवित्र उद्देश्यका साथ सञ्चालित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । विभिन्न धर्म संस्कृतिका झाँकी, विद्यार्थी, खेलाडी, विभिन्न झाँकीसहित हेटौँडा बजार परिक्रममा गरी महोत्सव स्थल पुगेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पूर्व नगर प्रमुख हरि बहादुर महत, हेटौँडाका वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न खेलकुद सङ्घसंस्थाका अध्यक्षहरू, खेलका प्रशिक्षकहरू लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यता रहेको थियो ।

महोत्सव अवधिभर किनमेल, साङ्गीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने खड्गीले बताउनुभयो । उहाँका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा करिब २ सय ६० वटा स्टल रहेका छन् ।

फेवा तालको किनारमा २५ औँ सडक महोत्सवको तयारी तीव्र

कास्की । फेवा किनारमा हुने २५ औँ सडक महोत्सवको तयारी तीव्र पारिएको छ । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा आयोजना हुने सडक महोत्सवको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्ने रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान)ले जनाएको छ । पोखराको सडक महोत्सव नेपालको अन्तर्राष्ट्रिय व्राण्ड वनेको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन् ।

सडक महोत्सव संयोजक विश्वराज पौडेलले ५ दिन सम्म सडकमै खाऊँ सडकमै रमाऊँ भन्ने नारा सहित रैथाने उत्पादनलाई विशेष जोड दिएको बताउनुभयो ।

पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास समेत महोत्सवले गर्ने पौडेलले बताउनु भयो ।

चौबिस बर्ष अगाडि ‘सडक मै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ ।पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारयण श्रेष्ठले भन्नु भयो । पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताउनु भयो । उहाँले यस यस वर्ष महोत्सवमा झण्डै ५ लाख दर्शकले अवलोकन गर्ने उनीहरूको व्यवस्थापनमा पर्यटन व्यवसायीहरू लागेको बताउनु भयो। उहाँले भन्नु भयो “पोखरा पर्यटकीय सहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ ।”

महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका महोत्सव आकर्षक थलो बन्ने आयोजकको ठहर छ ।

रेवान पोखराले हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ । पोखराको ब्रान्डका रूपमा स्थापित हुँदै गएको यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको व्यवसायीहरूको ठहर छ ।

लेक साइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित हुने महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म चल्नेछ । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन् यसैगरी पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू समावेश गरिएको रेवानले जनाएको छ । महोत्सवमा उठेको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रेवानको छ ।

कालिकामा आजदेखि पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

कालिका, ४ पौष । चितवनको कालिकामा आजदेखि पाँचौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले सम्बृद्ध नगर बनाउन खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कालिका नगरपालिकामा शैक्षिक क्षेत्रलाई अगाडी बढाउने क्रममा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको नगर प्रमुख रेग्मीको भनाई छ । शिक्षा क्षेत्रको विकासका लागि खेलकुद पनि एउटा महत्वपूर्ण अंग भएकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताले शैक्षिक विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो । विद्यार्थीहरुलाई सृजनशील बनाउन नगरपालिकाले खेलकुदका सामाग्री उपलव्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तरसँगै आगामी दिनमा नगरपालिकाले खेलकुदलाई पनि निरन्तरता दिँदै जाने नगर प्रमुख रेग्मीले स्पष्टपार्नुभयो ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले शिक्षा क्षेत्रमा राष्ट्रपति रनिङ शिल्डप्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुृद भन्ने नाराका साथ आयोजना गरिएकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताले विद्यार्थीहरुलाई सृजनशील बनाउने विश्वास व्यक्तगर्नुभयो । विद्यार्थी लक्षित खेलकुद सामग्री नगरपालिकाले आवश्यकताका आधारमा उपलव्ध गराउँदै आएको समेत उहाँले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाका शिक्षा अधिकारी गंगाधर रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालयका प्रकाशचन्द्र अर्याल, वडा न.४ का संस्थापक वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कालिका वडा नं.५ का वडा अध्यक्ष दीपकबहादुर भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखसँगै नगरक्षेत्र भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यापक तथा प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रममा स्काउट लगायत सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए । प्रतियोगीता भोली सकिनेछ ।

खैरहनीमा क्यूआरबाट कर तिर्ने व्यवस्थाको सुरुवात

खैरहनी, ४ पौष । खैरहनी नगरपालिका चितवनले ‘क्यूआर कोड (स्क्यान) गरी नगरपालिकामा तिर्नु पर्ने कर तिर्न सकिने व्यवस्था बुधबार देखि लागू गरेको छ । अब खैरहनी नगरबासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवान तत्काल क्युआर कोड मार्फत तिर्न सक्नेछन् ।

डाईनामिक क्यूआर कोडको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाले बताएका छन् ।

सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुरुमा इसेवा बाट सुरुवात गरिएको भुक्तानी प्रणालीलाई निरन्तर सुधार गरी हाल इ(सेवा संगै खल्ती, कनेक्ट आइपियस र डायनामिक क्युआर कोड मार्फत भुक्तानीको व्यवस्था गरिएको नगर प्रमुख खनियाले उल्लेख गरेका छन् । नगर उपप्रमुख कविता उप्रतीले नगरपालिकाको सेवालाई विद्युतीय शासन मैत्री बनाउँदै नागरिकहरुले नगरपालिकाको सेवा घर घरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोगमा नगरपालिकाले कार्यसम्पादन गरिरहेको बाताएका छन् ।

नगरपालिकाले यस अघि नै राजस्व रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो । सोही प्रणालीलाई थप समायानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी क्यूआर स्क्यान सुविधा ल्याएको जनाइएको छ । नगरपालिकाले प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकासका लागि तालिमको सञ्चालन गरेको छ भने स्थानीय कलेजहरुसंगको सहकार्यमा नगरबासीलाई विद्युतीय भुक्तानी प्रणालीको बारेमा अभ्यस्त गराउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

रत्ननगर अस्पताल १०० शैयामा स्तरोन्नती

४ पुस, काठमाडौं । बागमती प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताल १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालाई १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

बैठकले रत्ननगर सँगै धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट र सिन्धुली अस्पताल सिन्धुलीलाई समेत १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिए ।

त्यस्तै हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय भएको जोशीले बताए ।

दोश्रो रत्नप्रिय कपको उपाधि प्याराडाइज युवा क्लवलाई

रत्ननगर । प्याराडाइज युवा क्लव रत्ननगर वडा नं ७ सिसुवारले दोस्रो रत्नप्रिय कपको उपाधि जितेको छ । टिकौली चौरमा बुधवार सम्पन्न फाइनल खेलमा खेलकुल विकास समिति रत्ननगर १२ लाई २–१ गोल अन्तरले पराजित गरी प्याराडाइज युवा क्लवले उपाधि रक्षा गरेको हो ।

प्याराडाइजलाई उपाधि जिताउन विकी चाम्लिङ राई र रोशन क्षेत्रीले एक एक गोल गरेका थिए । खेलकुद विकास समिति रत्ननगर १२ का तर्फबाट अनिस महर्जनले सान्तवना स्वरुप एक गोल गरेका थिए । प्रतियोगिताको उपाधि विजेता प्याराडाईज युवा क्लवलाई १ लाख ५५ हजार ५५५ रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता खेलकुद विकास समिति रत्ननगर १२ लाई ७७ हजार ७७७ रूपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।

फाइलन खेलमा प्याराडाइजका विकी चाम्लिङ राई म्यान अफ दी म्याच, रत्नप्रिय क्लवका खेलाडी समीर मोक्तान उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक प्याराडाइजका सरोज तामाङ, सबै भन्दा बढि गोल गर्ने प्याराडाइजकै सन्तबहादुर गुरुङ, र रत्ननगर १२ का सजिन थापामगर सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटाले रत्ननगर नगरपालिकाले खेलकुदको विकासको लागि योजना निर्माणमा उच्च प्राथमिकता दिएको बताए ।

नगर भित्रका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउन रहेक खेललाई प्राथमिकता दिएर गतिविधि सञ्चालन भइरहेको मेयर सापकोटाको भनाई छ । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरी, चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, खेल संयोजक विवेक अम्गाई लगायतले मन्तव्य राखेका थिए ।

रत्नप्रिय क्लवले आयोजना गरेको सो प्रतियोगितामा चितवन,नबलपरासी र मकवानपुरका १० वटा टिमले भाग लिएका थिए । क्लवका सचिव विजय लामाले सञ्चालन गरेको समापन कार्यक्रममा उपाध्यक्ष रामु पौडेलले स्वागत मन्तब्य राखेका थिए । सो प्रतियोगितामा हरेक दिनको क्यान अफ दी म्याचको पुरस्कार राशी सफा उर्जा उत्पादन प्रा.लि.ले प्रायोजन गरेको थियो ।