Home Blog Page 129

विद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन

चितवन- दसैँपछिको दश दिनमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र मात्रै पाँच महिना अवधिसम्म विद्युत् महसुल नबुझाउने एक हजार ७९ जना ग्राहकको लाइन काटेको छ ।

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुल बक्यौता रहेका सेवाग्राहीको लाइन काटी ७ सय ६० जनाबाट एक करोड ३७ लाख रुपैयाँ बढी बाँकी बक्यौता रकम संकलन गरेको कार्यालयका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो ।

६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत वक्यौता रकम असुली गरिएको प्राधिकरणले जनाएको छ । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले वक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उहाँले बताउनुभयो । मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाईने नियम छ ।

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने प्रमुख श्रेष्ठले बताउनुभयो । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने पनि प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।

दसैँअघि पाँच महिनाभन्दा बढी अवधिसम्म महसुल नबुझाउने तीन हजार ४ सय बढी ग्राहक रहेकोमा लाइन काट्ने महाअभियान सुरु गरेको १० दिनमै ९८१ मा झरेको भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ । लाइन काटिने डरले एक हजार ५०० बढी ग्राहकले आफैँ विद्युत महसुल बुझाएको प्राधिकरणले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33055

एन्फाको विशेष साधारणसभा हेटौँडामा सुरु, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै

मकवानपुर- अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा मकवानपुरको हेटौँडामा सुरु भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आज आफु माथि लागेको अविश्वासको प्रस्ताव सामना गर्दै हुनुहुन्छ ।

गत भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अध्यक्षले विशेष साधारणसभाबाट अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको थियो ।

अविश्वासको प्रस्ताव सहित आज विभिन्न एजेण्डामा छलफल र निर्णय हुने बताइएको छ । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साधारणसभा स्थलमा ५० भन्दा बढि प्रहरी परिचालित गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33053

ट्रकको ठक्करबाट युवकको मृत्यु

बाँके- बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घट्नास्थलमै ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

https://ujyaalonepalnews.com/archives/33052

वर्षाले अवरुद्ध सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीन महिनापछि पुनः सुरु

पाल्पा- तीन महिनादेखि निर्माण अवरुद्ध भएको सिद्धबाबा सुरुङ् मार्ग निर्माणको काम पुनः सुरु भएको छ । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएकोमा अहिले निर्माण कार्य सुरु भएको हो ।

सुरुङमार्गको कामले अब गति लिने विश्वास गरिएको छ । वर्षा सकिएपछि क्षति पु¥याएको स्थानबाट पुनः काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।

वर्षातका कारण रोकिएको काम सुरु भएको सिद्धबावा सुरुङ् मार्ग योजना कार्यालयका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । वर्षात्अघि नै टनेलभित्र छिरेर काम गर्ने योजना भएपनि पटक पटक पहिरो खसेपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।

निर्माण कम्पनीले अहिले सुरुङ् मार्गको बाहिरपट्टि सरसफाई गरी रिब निर्माण गरेको जनाएको छ । डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम भैसकेका छन् ।

डिजाइन स्वीकृत नहुँदा २०७९ असोजदेखि गर्ने भनिएको सुरुङ् मार्गको काम २०७९ चैतदेखि सुरु भएको थियो । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो ।

सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33048

गुल्मीका कृषकलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान

गुल्मी- मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २५ जना अगुवा कृषकलाई मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीले तीन दिनसम्म कृषकहरुलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान गरेको हो ।

सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ । कतिपय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउनुपर्ने अवस्था रहेको थियो ।

यही समस्यालाई समाधान गर्न जिल्लाका कृषकलाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिमबाट सिप सिकेपछि अब गाउँमा गएर मर्मत गर्नसक्ने भएको कृषकहरुको भनाइ छ ।

अगुवा कृषकहरु छनोट गरेर गाउँका पनि कृषि मेशिनरी औजार उपकरणहरु गाउँमै मर्मत गर्न सक्ने गरि तालिम प्रदान गरिएको हो ।

किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन बृद्धि गर्न र कम समयमा परिश्रमबाट खेतीपाती गर्नका लागि कृषि मेशिनरी औजार उपकरणहरु प्रदान गरिदै आएको छ । कृषिको आधुनिकीकरणसँगै गाउँमा कृषकहरुले गोरु पाल्न समेत छोडी सकेका छन् ।

https://ujyaalonepalnews.com/archives/33044

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

काठमाडौं- यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ ।

असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले ग्रहमा तातो हरितगृह ग्याँस प्रदूषण रोक्न विश्वका नेताहरूमाथि यस महिना संयुक्त राष्ट्र सङ्घको कोप २८ जलवायु सम्मेलनका लागि दुबईमा भेट्ने तयारी गरिरहेका बेला कहिल्यै पनि त्यति दबाबका लागि आवश्यक नभएको बताएका छन् ।

यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।

आँधीलाई अधिक क्रूर र विनाशकारी बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वव्यापी तापक्रम वृद्धिद्वारा प्रेरित एक घटना समुद्री सतहको तापक्रम यस महिनाको लागि अहिलेसम्मकै उच्च रेकर्ड गरिएको छ ।

“अक्टोबर २०२३ मा असाधारण तापमानको विसङ्गति देखिएको छ, जसले यस पहिलेको चार महिनाको विश्वव्यापी तापमान रेकर्डलाई मेटाएको छ,” सी ३ एसका उपनिर्देशक सामन्था बर्गेसले भन्नुभयो । “सन् २०२३ रेकर्डमा सबैभन्दा न्यानो वर्ष हुनेछ, र हाल यो पूर्वऔद्योगिक औसतभन्दा १.४३ डिग्री सेल्सियस बढी छ ।”

“कोप २८ मा जाने महत्वाकांक्षी जलवायु कार्यको लागि तात्कालिकताको भावना कहिल्यै उच्च भएको छैन ।

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा करिब २०० देशले औद्योगिक युगभन्दा अघिदेखि नै विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने र सम्भवतः सुरक्षित १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए ।

यी तापमान सीमाहरू एक वर्षको सट्टा धेरै दशकहरूमा औसतको रूपमा मापन गरिनेछ । यस वर्ष पनि एक तापमान वृद्धिका कारण ‘एल निनो’ मौसम घटनाको सुरुवात भएको छ, जसले दक्षिणी प्रशान्तमा पानीलाई न्यानो पार्छ र बाहिर तातो मौसमलाई बढावा दिन्छ ।

वैज्ञानिकहरूले सन् २०२३ को अन्त्यमा र अर्को वर्ष यसको सबैभन्दा नराम्रो असर महसुस हुने अनुमान गरेका छन् । कोपर्निकसका अनुसार औद्योगिक युगभन्दा अघिको उक्त महिनाको औसतभन्दा अक्टोबर १.७ डिग्री सेल्सियस बढी तातो थियो ।

सन् १८५० देखि सन् १९०० सम्मको औद्योगिक औसतभन्दा १.४३ डिग्री सेल्सियस बढी सन् १९४० को जनवरीयताको विश्वव्यापी औसत तापक्रम मापन गरिएको छ ।

यी आधिकारिक रेकर्डहरू बाहेक, जलवायु अझ पछाडि जाने अनुमानित तथ्याङ्क अध्ययनपछि सार्वजनिक भउका वैज्ञानिकहरूले बताएका छन् । यस वर्ष देखिएको तापमान मानव इतिहासमा अभूतपूर्व हुन सक्छ, सम्भवतः एक लाख वर्षभन्दा बढीमा सबैभन्दा तातो हुन सक्छ ।

ध्रुवीय क्षेत्रहरू बाहेक गत महिनाको महिनाको लागि औसत समुद्री सतह तापमान २०.७९ डिग्री सेल्सियस सम्म पुगेको बताइएको छ । वैज्ञानिकहरूका अनुसार औद्योगिक युगको सुरुवातदेखि नै मानव गतिविधिबाट उत्पन्न हुने अतिरिक्त तापको ९० प्रतिशत महासागरले सोसेको छ ।

https://ujyaalonepalnews.com/archives/33043

राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो ।

जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/33042

सामाजिक सद्‍भाव र एकताका निम्ति एमालेको अभियान

काठमाडौँ- सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा(एमाले)ले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले राससलाई बताउनुभयो ।

अभियान बैतडीको झुलजवाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित हुनेछ । बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उपमहासचिव ज्ञवालीले अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग, पार्टी स्थापनाको ७५औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन र स्थानीय सम्बन्ध तथा राष्ट्रिय सन्देश मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33041

न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति

काठमाडौँ- नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रमको फेरबदलबाट न्यायकर्मीहरूलाई अपमानित गरेको भन्दै त्यसलाई सच्च्याउन न्यायपरिषद् समक्ष आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई बारले पुनः रोलक्रमको फेरबदल सम्बन्धमा धानाकर्षणपत्र बुझाउँदै न्यायपालिकाको सुदृढीकरण गर्ने महत्त्वपूर्ण जिम्मेवारी भएको परिषद्ले केही व्यक्तिलाई मात्र फाइदा पुग्नेगरी गरिएको संशोधन अमान्य भएको जनाएको छ ।

बारले गत आसोज २ गते गरेको निर्णयबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको स्मरण गराउँदै सच्च्याउन माग गरेको छ ।

बारले २०८० असोज १ गते नेपाल राजपत्रमा प्रकाशित न्याय परिषद्को सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति बिमती जनाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त संशोधनले नेपालको संविधानको धारा १४१ (३), प्रचलित कानुन र न्यायका मान्य सिद्धान्तसँग प्रत्यक्षरुपमा बाझिन गएको छ र यो संशोधन पश्चगामी, विभेदपूर्ण, पूर्वाग्रही र स्वेच्छाचारी रहेको हुँदा खारेज गर्न माग गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33040

जाजरकोट भूकम्प पीडितहरु धादिङ निलकण्ठका स्थानीयको सहयोग

धादिङ- गत ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाई गएको भूकम्पका कारण  प्रभावित भूकम्प पीडितहरुका लागि धादिङका स्थानीय सर्व साधरणले सहयोग संकलन गरी पठाएको छ ।

निलकण्ठ नगरपालिकास्थित नगर  क्षेत्रका स्थानीयले सो सहयोग जुटाएको हो ।

सहयोग स्वरुप चार सय भन्दा धेरै भूकम्प पीडितहरुका लागि  न्यानो कपडाका साथै एक सय तीस थान जाडोका लागि फाइवर सिरक रहेको छ ।

यी सामाग्री जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरी कार्यालय गजुरीको सहयोगमा   जाजरकोटमा पठाइएको हो ।

निलकण्ठ नगरपालिकास्थित वडा नम्वर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले आफुले असायहरुका लागी स्थापना गरेको वडा अध्यक्ष अक्षय कोषको र स्थानीय धादिङबासीले संकलन गरेको तीन लाख पचास हजार रकमबाट सामान खरिद गरी भूकम्प पीडितहरुका लागि सहयोग स्वरुप पठाइएको हो ।

सो राहात सामग्रीमा बढ्दो जाडोका कारण भूकम्प पीडितहरु थप समस्यामा नपरोस् भन्दै तत्कालका लागि न्यानो कपडा पठाइएको हो ।

यसैगरी नेपाल रेडक्रसस सोसाइटी धादिङले पनि न्यानोका लागि कम्वल र तत्कालाका लागि अस्थाई वसोवास गर्न टहरा बनाउन त्रिपाल सहयोग स्वरुप पठाइएको छ ।।

https://ujyaalonepalnews.com/archives/33039