Home Blog Page 146

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

काठमाडौँ- नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ ।

नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ ।

सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । लगानीमैत्री वातावरण बनाउन सरकारले आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेटमार्फत पनि लगानीकर्तालाई प्रोत्साहन गरिएको बताउँदै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिनुभयो । नेपालमा लगानीमैत्री वातावरण बनेकाले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा नेपालले बाह्य लगानी भित्र्याउन चाहेको बताउनुभयो । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश निर्यात गर्न तयारी गरेको जानकारी दिनुभयो ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले पछिल्ला वर्षहरुमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बताउनुभयो । नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सहज बन्दै गएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण बनेको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आह्वान गर्नुभयो । अध्यक्ष ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह पनि गर्नुभयो ।

लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्रमा ठूलो पूँजीको आवश्यकता रहेको बताउँदै लगानीकर्ताका लागि यस क्षेत्रमा अथाह अवसर रहेकाले पुँजी परिचालन गर्न अनुरोध गर्नुभयो

उक्त दूतावासका अनुसार सम्मेलनमा बेलायती बैंक, निजी लगानीकर्ता, बीमा कम्पनी, अन्य युरोपेली मुलुकका वित्तीय संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।

https://ujyaalonepalnews.com/archives/32778

शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर टुङ्ग्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

“शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो, “खासगरी पीडितलाई न्याय दिनुपर्दछ ।”

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिकरुपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताउनुभयो । “हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन् । ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ ।” चाडपर्व परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उहाँले विभिन्न सन्दर्भले चाडपर्वलाई पुष्टि गरेको बताउनुभयो ।

चियापानमा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, विभिन्न पार्टीका शीर्ष नेता, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक परिषद्का पदाधिकारी, कर्मचारी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो । सहभागीलाई एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

पार्टीका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालदेखि चियापानको आयोजना गर्नुभएको हो । त्यसपछि एमालेले नियमितरुपमा हरेक वर्ष दसैँ र तिहारकाबीचमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरिएको थिएन ।

https://ujyaalonepalnews.com/archives/32777

राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो साता र प्रतिनिधिसभा र प्रदेशसभाको एक–एक तथा स्थानीय तहको रिक्त २४ पदको निर्वाचन वैशाखमा गर्न अनौपचारिक परामर्श दिइएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी छरिएर रहेका सात वटा कानुनलाई एकीकृत गर्न बनेको विधेयकलाई आगामी सदनको अधिवेशनबाट पारित गरिदिन आग्रह गर्नुभयो ।

प्रस्तावित कानुनमा आवधिक निर्वाचनको मिति किटान गरिएको, निर्वाचनको मौन अवधि हटाएर मतदानको २४ घन्टाअघि प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको समितिलाई जानकारी दिइयो ।

निर्वाचनमा राजनीतिक दलले सबै तहका निर्वाचनमा कम्तीमा ३३ प्रतिशत उम्मेदवार महिला उठाउनुपर्ने अनिर्वाय व्यवस्था र भ्रष्टाचारको सजायसम्बन्धी मुद्दा अदालतमा दायर भएका व्यक्तिका हकमा उम्मेदवार बन्न नपाउने प्रावधानका लागि विधेयकमा प्रस्ताव गरिएको छ ।

विद्युतीय मतदान उपकरणबाट निर्वाचन गराउँदा उपकरण खरिद गर्न मात्रै रु छ अर्ब बढी खर्च लाग्ने अवस्था रहेकाले त्यसले खर्चको पाटोबाट गम्भीर तुल्याए पनि उपकरणको प्रमाणीकरण भएको खण्डमा प्रयोगमा ल्याउन आयोग तयार रहेको समितिलाई जानकारी गराइयो । विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकको व्यवस्था तत्तत् स्थानमा रहेका नागरिकको नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरी सुझावका लागि वेभसाइटमा राखिएको जानकारी दिँदै यसै आर्थिक वर्षदेखि उक्त कार्य प्रारम्भ गरिने आयोगले जनाएको छ ।

यस्तै मतदाता नामावली दर्ता तथा अद्यावधिकको विवरण लिने कार्य नियमित भइरहेको तथा कुनै पनि नेपाली नागरिकले आफू बसोबास गरेको जिल्लाबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने गरी बाह्य जिल्ला दर्ता कार्य निरन्तर भइरहेको पनि सो अवसरमा जानकारी दिइयो । मतदाता नामवली दर्ता तथा अद्यावधिक कार्यलाई थप व्यवस्थित गर्न स्थानीयतहको समन्वय र सहकार्यमा यसै आर्थिक वर्षदेखिकार्य प्रारम्भ गरिने पनि प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

निर्वाचन पैसा, पद र शक्तिको आडमा नभइ निष्ठा र सिद्धान्तले जित्नुपर्छ भन्नेमा आयोग विश्वस्त रहेको जनाउँदै प्रमुख आयुक्त थपलियाले निर्वाचनका बेला अस्तव्यस्त हुने अघिपछि सुस्त रहने चरित्रलाई सुधार गरी सधैँभरी प्रभावकारी तुल्याइएको दाबी गर्नुभयो । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा महिलाको उचित सहभागिताका सवालमा उठेका प्रश्नलाई आयोगले समयमै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

अनितादेवीले निर्वाचन घोषणा भइसकेपछि राष्ट्रसेवक कर्मचारीको रोकिनुपर्ने र आचारसंहिता उलङ्घनका घटनामा सबै दल र उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । बैठकमा समिति सदस्य चित्रबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, हितराज पाण्डे, बलराम अधिकारी, वासुदेव घिमिरे र हृदयराम थानीले पछिल्लो समय सिद्धान्त र दर्शनका आधारमा नभइ पैसा खर्च गरेर निर्वाचन जित्ने प्रवृत्ति मौलाएकाले यसका कारण लोकतन्त्र र सुशासनमा चुनौती उत्पन्न गरिरहेको धारणा राख्नुभयो ।

बैठकमा समितिका सदस्यहरू प्रकाश अधिकारी, रवी लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, रघुजी पन्त, सरिता प्रसाइँ, पृथ्वीसुब्बा गुरुङ, अम्बिका बस्नेत, राजेन्द्र राईले लोकतन्त्रको प्राणका रुपमा रहेको निर्वाचनलाई पैसा र पहुँचको राजनीतिले धुमिल्याएको विचार प्रकट गर्नुभयो ।

उहाँहरूले निर्वाचन अत्यन्त खर्चिलो भएको, निष्ठाको राजनीतिक ओझेलमा परेको, योग्यता र क्षमताको कदर नभएको, धनीमानी र पहुँचवालाको बोलवाला हुने गरेका जस्ता कार्यले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रश्न खडा भइरहेको धारणा राख्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32776

रत्ननगरमा फुटवल ः वडा नं ९ र १४ सेमिफाइलनमा प्रवेश

रत्ननगर । रत्ननगरमा मेयर कपका लागि खेलाडी छनोटका गर्न आयोजित वडा स्तरीय फुटवल प्रतियोगितामा दुई वटा वडा सेमिफाइलनमा प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न दुई छुट्टा छुट्टै खेलबाट वडा नं वडा नं ९ र वडा नं १४ सेमिफाइनलमा प्रवेश गरेको रत्ननगर खेलकुल विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।

पहिलो खेलमा वडा नं १४ ले वडा नं २ लाई शुन्यका विरुद्ध ४ गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो खेलमा वडा नं ७ लाई पराजित गर्दै वडा नं ९ सेमिफाइनलमा प्रवेश गरेको हो ।

रत्ननगर नगरपालिका खेलकुल विकास समितिको आयोजनामा वडा नं ८ स्थित बाघमारा खेल मैदानमा कार्तिक १० गतेबाट प्रतियोगिता सुरु भएको हो ।

१७ टिक सहभागी सो प्रतियोगिताको फाइनल कार्तिक १८ गते हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र दोस्रो हुने टिमले २५ हजार पुरस्कार सहित शिल्ड तथा मेडल प्रदान गरिने समितिका संयोजक चौधरीले बताए ।

https://ujyaalonepalnews.com/archives/32754

सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

रत्ननगर, कार्तिक १५ । पूर्वी चितवनको सौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीको आयोजनामा कार्तिक १८ गतेदेखी २१ गतेसम्म वडा नम्बर ७ को सिसुवार मैदानका प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

खेलको माध्यमबाट सौराहाको पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेशको ७ टिम र २ विभागीय टिमको सहभागिता रहने पन्तले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई दुई लाख, दोस्रो हुने टोलीलाई एक लाख, तेस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ र विभिन्न विधामा ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एमाले रत्ननगर नगर कमिटी उप सचिव सागर मिश्रले जानकारी दिए ।

देशभरबाट १६० भन्दा बढी खेलाडीको उपस्थिती रहने प्रतियोगितामा १८ लाख भन्दा बढी खर्च हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एमाले रत्ननगरका सह इन्चार्ज केशब आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा युवा संघ चितवन जिल्ला अध्यक्ष झलकराज भट्ट, युवा संघ जिल्ला तथा नगरका नेताहरूको उपस्थिती रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/32752

कालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

 उज्यालो नेपाल, चितवन । कालिका नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० आज (बुधबार) बाट सुरु भएको छ । नगरपालिकाको वडा नं. ३ मा मिलिजुली युवा क्लब र आयाम युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको आज एक समारोह बीच प्रदेश सांसद गीता गुरुङले समुद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि वडाध्यक्ष बिरेन्द्र तामाङले वडाले खेलकुद पर्वद्धनमा सदैव सहयोग गर्ने बताए । वडा कार्यालय निरन्तर खेलमैदान स्तरोन्नति संगै खेलकुद प्रतियोगिताहरु संचालन गर्न सकारात्मक रहेको वडाध्यक्ष तामाङले बताए।

मिलिजुली युवा क्लबका अध्यक्ष नवराज घलानको सभापतित्वमा भएको कार्यक्रममा आयाम युवा समाजका अध्यक्ष नग्रेन्द्र गिरिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, राजनैतिक दलका नगर र वडा स्तरिय प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा विभिन्न १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले एक लाख पचपन्न हजार पांच सय पचपन्न नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद ७५  हजार ५५५  सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत गरीएको खेल संयोजक राजु भुलुनले बताए ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक मिलिजुली युवा क्लबले पाहुना टोली पर्सा व्वाईजलाई १-० ले स्तब्ध बनाएको छ । पाहुना टोलीले प्रतिष्पर्धी घरेलु टिमका खेलाडीलाई डि-बक्स भित्र लड़ाएपछी पाएको पेनाल्टी सुटआउटको मौकालाई सदुपयोग गर्दै मिलिजुलीका अमित भ्लोनले टिमलाई १-० को अग्रता दिलाएका थिए । खेलमा मिलिजुलीका विजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । उनले मौलाकाली केबलकारको तर्फबाट एउटा टिकट र थ्रीई ग्लोबल कन्सल्टेन्सीको तर्फबाट नगद रु एकहजार प्राप्त गरेका छन् ।

भोली आयोजक बि र राप्तीपारी समाज कालिका २ भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल कार्तिक २७ गते हुनेछ ।

 

https://ujyaalonepalnews.com/archives/32749

आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

चितवन- अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।

पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ ।

थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए ।

https://ujyaalonepalnews.com/archives/32748

व्यापारीले आयात गर्न छाडेपछि महँगो हुँदै प्याज

पर्सा- नेपाली व्यपारीले भारतबाट आयात गर्न छाडेपछि सिमाक्षेत्रमा प्याजको मूल्य आकासिएको छ । नेपालको मुख्य व्यापारी नाका वीरगन्जलाई प्रयोग हुने आयातमा कमी आएपछि पछिल्लो चार दिनमै प्याजको मूल्य करिब दोब्बरले वृद्धी भएको हो ।

चार दिन अगाडी वीरगन्ज बजारमा ६० रुपैयाँ प्रतिकिलोमा विक्री हुँदै आएको प्याज हाल प्रतिकिलो एक सय ५ रुपैयामा विक्री भइरेहको व्यपारीहरु बताउछन् ।

भारतमा प्याजको मूल्य वृद्धी भएको र नेपाल सरकारले आलु प्याजको आयातमा १३ प्रतिशत भ्याटसहित २७ प्रतिशत कर लगाएपछि आयात गर्न छाडिएको व्यापारी रुपेश कुमार गुप्तालेजानकारी दिनुभयो । उहाँले भारतबाट आयात हुने आलु प्याजलाई भ्याटको दायरमा राखेपछि आयात गर्न छाडिएको बताउनुभयो ।

वीरगन्जमा हाल विक्री भइरहेको प्याज सिमावर्ती भारतीय सहर रक्सौलबाट साईकलमा मगाई वीरगन्जवासीलाई उपलब्ध गराइएको व्यपारी गुप्ताको भनाइ रहेको छ ।

प्याजसँगै अहिले वीरगन्जको तरकारी बजारमा टमाटर, अदुवा लगायत हरियो तरकारीको मुल्य आकासिएको उपभोग्ताहरु बताउँछन् ।

दैनिक उपभोग्य बस्तुमा देखिएको अस्वभाविक मृल्य वृद्धी र महँगीलाई नियन्त्रण गर्न नेपाल सरकारले पहल गर्नुपर्ने उपभोग्ताहरुको भनाइ रहेको छ ।

https://ujyaalonepalnews.com/archives/32747

शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएक शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६० लाख दुई हजार दुई सय २५ बराबरको छ लाख १६ हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ ।

https://ujyaalonepalnews.com/archives/32746

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवा सहभागी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी हुनुभएको छ ।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२:३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २:३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/32740