Home Blog Page 147

नेपालबाट विश्वभर शान्ति र सद्‍भावको सन्देश प्रवाह गर्दै राष्ट्रसंघीय महासचिव गुटेरेस फिर्ता

काठमाडौं- जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै र शान्तिभूमि नेपालबाट विश्वशान्तिको अपिल गर्दै विश्व संस्था  फर्कनुभएको छ ।

एकातिर उहाँले जलवायु परिवर्तनमा भूमिका नभएपनि परिणाम चाँही भोग्नुपर्ने नेपालको समस्याको अन्तर्राष्ट्रियकरण गर्नुभयो भने अर्कोतिर बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेर विश्वभर शान्ति र सद्‍भावको सन्देश प्रवाह गर्नुभयो ।

अधिक मात्रामा हरित ग्यास उत्सर्जन गर्ने मुलुकहरूलाई लक्षित गर्दै भिडियो सन्देशमार्फत सगरमाथाबाट गुटेरेसले भन्नुभयो- विकासका नाममा उन्माद रोक । अनि प्रकृतिको वरदान पाएको पोखराबाट गुटेरेसको शङ्खघोष थियो- प्रकृतिविरुद्धको युद्ध रोक । यतिमात्र होइन विश्वशान्तिका लागि प्रतिवद्ध विश्व संस्थाका महासचिव गुटेरेसले शान्तिको मुहान पवित्रस्थल लुम्बिनीबाट विश्व समुदायलाई अपिल गर्दै भन्नुभयो- संसारभरका युद्ध अन्त्य गरौं, शान्तिको मार्गमा लागौं ।

यस अर्थमा महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण त गर्‍यो नै सँगसँगै ज्ञानभूमी शान्तिभूमी नेपालको प्रतिष्ठा विश्वभर फैलायो । विश्व संस्था संयुक्त राष्ट्रसंघको नेतृत्वको भ्रमण र नेपाली भूमिबाट दिएको सन्देशले नेपालको पहिचान र समस्या उजागर मात्र गरेको छैन, आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति गर्विलो र दर्बिलो हुने विश्वास गरिएको छ ।

गुटेरेसको नेपाल भ्रमण संक्रमणकालीन न्यायका लागि जति महत्त्वपूर्ण रह्यो, जलवायु परिवर्तनले मुलुकभित्र पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने अवसरका रूपमा पनि उत्तिकै सान्दर्भिक देखियो ।

खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति गुटेरेसले गहिरो चिन्ता मात्र व्यक्त गर्नुभएन, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा फसेको नेपालजस्तै राष्ट्रलाई अत्यधिक अन्तर्राष्ट्रिय सहयोग गर्न विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । उहाँले विगत ३० वर्षमा नेपालले एक तिहाइ हिउँ गुमाएको प्रसङ्गसमेत उल्लेख गर्दै यहाँका हिमनदी उच्चगतिमा पग्लिरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनका कारक मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र प्रभावित मुलुकहरूका लागि क्षतिपूर्ति प्रबन्धमा धेरै चासो नदिइरहेका बेला राष्ट्रसंघका महासचिवले विश्को सर्बोच्च शिखर सगरमाथाबाट प्रवाह गरेको सन्देश निकै महत्वपूर्ण छ ।

जलवायु परिवर्तनमा भूमिका नभएको नेपालले भोगिरहेको असर विश्व संस्था संयुक्त राष्ट्रसंघबाटै अन्तर्राष्ट्रियकरण हुनु आफैंमा दीर्घकालीन महत्वको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सुरु हुनु एक महिनाअघि नेपाल आएर राष्ट्रसंघका महासचिव गुटेरेसले दिएको विश्वव्यापी सन्देशलाई अर्थपूर्ण मानिएको छ ।

उहाँले कोप–२८ मा जलवायु परिवर्तनले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । संसदमा गुटेरेसको सम्बोधनसँगै अब नेपाल र नेपाल जस्ता हिमाली देशहरुले जलवायु परिवर्तनका कारण भोग्दै आएको समस्या र उठाउँदै आएको मुद्दा राष्ट्र संघको टेबुलमा पुगेको छ ।

राष्ट्रसंघका महासचिवले समेत अन्तर्राष्ट्रियकरण गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत बलियो ढंगले उठाउने अवसर अब नेपालसामू छ । अर्कोतर्फ लुम्बिनी गएर महासचिव गुटेरेसले शान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई आग्रह गर्दै संसारभर भइरहेका युद्ध अन्त्यका लागि आह्वान गर्नुभयो ।

मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र सयुंक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो भएको बताएर उहाँले लुम्बिनीको गरिमा र महिमाको सन्देश विश्वभर प्रवाह गर्नुभयो । भगवान गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीमा उभिएर विश्वलाई शान्तिको आग्रह गर्न पाउँदा खुशी र गौरवान्वित भएको भाव स्वयं महासचिव गुटेरेसको अनुहारमा प्रतिविम्वित भैरहेको थियो ।

नेपालको आफ्नै मौलिक किसिमको शान्ति प्रक्रियाले पनि गुटेरेसको भ्रमणमा चर्चा पाएको छ । उहाँले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । शान्ति प्रक्रिया पूरा होस् भन्ने संयुक्त राष्ट्र सङ्घको सन्देशले यो प्रकृया छिटो पूरा गर्न नेपालमाथि अन्तर्राष्ट्रिय चासो र दबाब पनि सिर्जना भएको छ ।

राष्ट्रसंघका महासचिवले नेपाललाई असाधारण देशको संज्ञा दिनुभएको छ । नेपालको प्रकृति, संस्कृति र आतिथ्यताको प्रवृत्तिले उत्साहित गुटेरेसले नेपाल विश्वको मित्र भएको भन्दै संसारभरका पर्यटकलाई नेपाल घुम्न आह्वान पनि गर्नुभयो । राष्ट्रसङ्घको नेतृत्वबाट १५ वर्षपछि भएको नेपाल भ्रमणले निकै महत्वपूर्ण अर्थ राखेको छ ।

गुटेरेसको नेपाल भ्रमण नेपालका लागि एउटा अवसर मात्र होइन, नेपाल सरकारलाई पनि अझ बढी काम गर्न दबाब सिर्जना गरेको छ । नेपालको अन्तर्राष्ट्रिय मर्यादा र महत्व घट्यो भन्नेहरुलाई राष्ट्रसंघीय महासचिवको नेपाल भ्रमण र संसदमा गरेको सम्बोधनले जवाफ दिएको विश्लेषण पनि गरिएको छ ।

नेपालले उठाउँदै आएका विषय र मुद्दाहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने महासचिवको प्रतिवद्धताले नेपालको उपस्थिति अन्तर्राष्ट्रिय समुदायमा थप उजागर हुने विश्वास गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32739

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ- किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान तीन वर्षअघि सुरु गरिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अभियानअन्तर्गत लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ फूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन् ।

यसका लागि आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पूरा गर्ने गरी सुरु गरिएको अभियान साकार बन्दै गएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभएको छ ।

किरात ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासका ठाउँमा बहुवर्षे फूलका बिरुवा रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी तर, साझा परिकल्पना गरिएको थियो ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि यस वर्ष प्रदेश सरकारबाट रु एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको जनाइएको छ ।

आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ ।

यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ”, उहाँले भन्नुभयो, “फूलको बगैँचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको नेतृत्व नगरपालिकाले गरेको छ । भविष्यमा यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

दिक्तेलस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली रहेको छ ।

उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढीवरिपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

उच्च हिमश्रृङ्खला तथा तराईका समथर भू–भागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् ।

मझुवाको अर्थमाझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ ।

माझकिरात भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबीएलएल परियोजनाको रु ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २० लाखको लागतमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।

मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । “मझुवागढी हाम्रो ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो ।

मझुवागढीलाई संरक्षण र विकास गर्न नगरपालिका लागिपरेको छ”, उहाँले भन्नुभयो, “मझुवागढीको चौतर्फी विकासमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि सकारात्मक देखिनुभएको छ । उहाँले आफैँ आएर स्थलगतरूपमा अवलोकन भम्रण गर्नुभएपछि रु २० लाख बजेटसमेत उपलब्ध गराउनुभएको छ । यसले हाम्रो अभियानलाई ठूलो सहयोग पुगेको छ ।”

मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले प्रवेशद्धार, पदमार्ग निर्माण, खानेपानीको व्यवस्थालगायतका भौतिक पूर्वाधार निर्माणको गरेको छ । मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान सामाजिक सञ्जालमा देखेर विभिन्न क्षेत्रका व्यक्तिले आफू पनि सहभागी हुन पाउनुपर्ने अनुरोध आउने गरेको नगर प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/32738

लाखौंको लगानी बालुवामा पानी

दाङ- तुलसीपुरमा रहेको मासु मार्केटलाई व्यवस्थित गर्न २०७३ साल बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । मासु वधशालामा हुने फोहर व्यवस्थापनलाई सहज बनाएर बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको मार्केटका पसलमा ग्यास सहज बनाउनको लागि बनाइएका २ वटा प्लान्ट अहिले प्रयोग विहीन हुँदा राज्यको पैसा बालुवा पानी हाले जस्तै भएको छ ।

मासु मार्केटमा विभिन्न ४१ वटा मासुका पसलहरू रहेका छन् । त्यहाँ भएको फोहरमैला व्यवस्थापन गर्ने र त्यसबाट ग्यास उत्पादन गर्ने गरी २ वटा ग्यास प्लान्ट वैकल्पिक उर्जा केन्द्रको सहयोगमा निर्माण गरिएको थियो ।

निर्माण भएको केही समयसम्म सञ्चालन भएपनि अहिले दुबै प्लान्ट प्रयोगविहीन भएको तुलसीपुर मासु मार्केटका अध्यक्ष इन्द्रलाल खत्री बताउनु हुन्छ ।

दुबै बायोग्यास प्लान्ट निर्माणको लागि २० लाख खर्च भएको थियो । तर, दुबै प्रयोग विहीन भएपछि पुन सञ्चालन ल्याइदिन आफूहरूले पटक पटक उपमहानगरलाई अनुरोध गर्दा वेवास्ता गरेको व्यवसायिक निम बहादुर डाँगी बताउनु हुन्छ ।

शुरुमा निर्माण भएको ग्यास प्लान्ट खसी, बाख्रा वधशालाका व्यवसायीले प्रयोग गरेका थिए । पछि अर्को ग्यास प्लान्ट निर्माण भएपछि त्यो राँगा वधशालामा दिइएको थियो । ग्यास प्लान्ट सञ्चालनमा नहुँदा आफूहरूलाई समस्या भएको व्यवसायी अर्जुन खड्का बताउनु हुन्छ ।

यता तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले भने मासु व्यवसायीहरूले सही रुपमा सदुपयोग गर्न नसक्दा अहिले ग्यास प्लान्ट जीर्ण अवस्थामा पुगेको बताउनु हुन्छ ।

राज्यले लाखौँ खर्च गरेर बनाएका संरचनाहरू यस्तो अवस्थामा हुनु निकै दुखद पक्ष हो ? जुन उद्देश्यका लागि निर्माण गरिएको हो ? त्यसको सही सदुपयोग गर्न सम्बन्धित निकायले ध्यान दिने की ? राज्यको लगानी हो ? भन्दै वेवास्ता नगरौँ ।

https://ujyaalonepalnews.com/archives/32737

नेपालले पर्यटन प्रवर्द्धन र प्रविधि रुपान्तरणमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको छ: मन्त्री साउद

वाशिङटन डिसी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताउनुभएको छ ।

ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उहाँको भनाइ थियो ।

वाशिङटन डिसीमा‘युनाइटेड स्टेटस इन्स्टिच्युट फर पिस’द्वारा मङ्गलबार आयोजित नेपालको वैदेशिक नीतिको परिदृश्य विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो “नेपाल दुई ठूला र शक्तिशाली तथा द्रुतगतिले विश्व अर्थतन्त्रमा अगाडि बढिरहेका देश भारत र चीनको बीचमा भएकाले दुवैसँग मित्रवत सम्बन्ध कायम गर्दै अगाडि बढिरहेको छ ।” उहाँले साथै सार्वभौम, समानता, पारस्परिक सम्मान, सहकार्यका साथ एकअर्काको संवेदनशीलता र भावनालाई सम्मान गर्दै अगाडि बढेको बताउनुभयो ।

मन्त्री साउदले नेपालको राजनीतिक प्रक्रियाले दिगोपन हासिल गर्दै गएकाले अब आर्थिक विषयलाई केन्द्रमा राखेर सोहीअनुसार नेपालको कूटनीति परिचालित हुने छ भन्नुभयो ।

प्रजातान्त्रिक अभ्यासका आधारशिलामा नागरिकले प्रजातान्त्रिक समाज र स्वतन्त्रतामार्फत आवधिक निर्वाचनलाई अङ्गीकार गर्दै अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीहरूसँग प्रजातान्त्रिक संस्था र संरचना क्रियाशील छन्, यसको कारणले महिलाको राजनीतिमा उच्चस्तरको सहभागिता सम्भव भएको छ ।

नेपालको संविधानको भावनाअनुसार राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भइसक्नुभएको छ भने सङ्घीय संसद, प्रदेश सभामा ३३ प्रतिशत महिलाको व्यवस्था गरेका छौँ । हामीहरूको नागरिकको ठूलो हिस्सा देश बाहिर पनि रहेकाले उनीहरूको अधिकार संरक्षण र प्रोत्साहन गर्दै उनीहरूलाई मातृभूमिसँग जोड्ने कुरामा केन्द्रित रहेको छ । ”

मन्त्री साउदले नेपाल–अमेरिकाको सम्बन्ध ७६ वर्ष लामो र बलियो सम्बन्ध भएको राजनीतिक, आर्थिक विकास, सांस्कृति, शैक्षिकलगायतमा उल्लेखनीय साझेदारको रूपमा काम गर्दै आएको बताउनुभयो ।

दुई देश बीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र नागरिकको सशक्तीकरणको मूल्य, मान्यतामा आधारित रहेको स्मरण गर्नुहुँदै उहाँले अमेरिका नेपालको महत्त्वपूर्ण र ठूलो विकास साझेदार भएकाले त्यसको प्रभावकारिता नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा देखिएकोे उल्लेख गर्नुभयो ।

नेपाल र अमेरिकाले विश्वका साझा चुनौतीमा बहुराष्ट्रिय फोरमहरूमा रचनात्मक ढङ्गले काम गरेको उल्लेख गर्नुहुँदै मन्त्री साउदले नेपालले अमेरिकाबाट वैदेशिक प्रत्यक्ष लगानी, व्यापार विस्तार, पर्यटनको संवर्द्धन र प्रविधि रुपान्तरणमा थप सहयोग र साझेदारीको अपेक्षा गरेको छ भन्नुभयो ।

युएसआइपीकी दक्षिण एसियाली निर्देशक तमन्ना शालीकुडिनले सञ्चालन गर्नुभएको कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन लगायत दूतावासका अधिकारीलगायत प्रवुद्ध समूहको सहभागिता थियो ।

https://ujyaalonepalnews.com/archives/32736

पाँच सय वर्ष पुरानो कात्तिके नाच (फोटो फिचर)

मकवानपुर- मकवानपुर जिल्लाको पर्यटकीय स्थल थाहा नगरपालिका-९ चित्लाङमा कात्तिके नाच सकिएको छ । कोजाग्रत पूर्णिमादेखि चार दिनसम्म कृष्णलिला सहितको कात्तिके नाच नाच्ने प्रचलन रहेको छ ।

चित्लाङ माझगाउँमा शनिबार बेलुकादेखि सुरु भएको नाच मंगलबार बिहान राँगाको बलि दिएर प्रसाद बाँडेपछि विधिवत् रुपमा सकिएको हो । चित्लाङका नेवार समुदायले करिब पाँच सय वर्षदेखि यो नाच नाच्दै आएका छन् ।

गाउँमा रोगव्याध नलागोस् भनेर नाँच नाच्दै आएको स्थानीय बताउँछन् । पूर्णिमाको अघिल्लो दिन कोतघरबाट स्वच्छन्द भैरवको रथ भैरब थानमा लगिन्छ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच सुरु हुने गर्दछ ।

गाउँका मुख्य गुरुको घरबाट पूजा गरी पाँचवटा देवता गणेश, भैरब, बराही, कुमारी र महालक्ष्मीको नाच निकालिने गरिन्छ । नौवटा देवताको नाच ९ वर्षमा देखाइन्छ भने पाँचवटा देवताको नाच हरेक वर्ष देखाउने प्रचलन रहिआएको छ ।

चित्लाङको मौलिक नाच बनियाका साथै देवता, सिकारी, बाठा नाच समेत देखाइन्छ । जात्राको अन्तिम दिन बिहान मुखुण्डो लगाएर स्वच्छन्दभैरव, गणेश, वराही, महालक्ष्मी र कुमारीको रुप धारण गरेका व्यक्तिले बलि दिएको राँगाको घाँटीमा मुख लगाएर आलो रगत पिउने प्रचलन छ ।

अन्तिममा प्रसाद स्वरुप बलि दिएको राँगाको मासु बाँडेर जात्रा समापन हुन्छ । नाच हेर्नका लागि चित्लाङ वरपरका बज्रबाराही, मार्खु, कुलेखानीका साथै हेटौंडा लगायत काठमाडौं, ललितपुरबाट मानिसहरु आउने गरेका छन् । परापूर्वकालदेखि चल्दै आएको नृत्य संरक्षणका लागि सबैले सहयोग गर्नुपर्नेमा स्थानीयको जोड छ ।

https://ujyaalonepalnews.com/archives/32730

महासचिवको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको नेताहरूको ठहर

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनबाट सकारात्मक सन्देश प्रवाह भएको राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिनुभएको छ । संयुक्त बैठकपछि सञ्चारकर्मीसँग उहाँहरूले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक रहेको बताउनुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महासचिव गुटेरेसले नेपाल भ्रमणका क्रममा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र सगरमाथा र अन्नपूर्ण आधार क्षेत्र, पोखरा र लुम्बिनीलाई चयन गर्नुले उहाँको नेपालप्रतिको निकटता झल्किएको उल्लेख गर्नुभयो ।

“महासचिव गुटेरेसको भ्रमणले नेपालीलाई गौरवान्वित तुल्याएको छ, उहाँको भ्रमणबाट हामी अत्यन्तै खुसी छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “शान्तिप्रक्रिया टुङ्ग्याउन उहाँका सुझाव महत्त्वपूर्ण छन्, यसमा हामी विश्व समुदायको समर्थनको अपेक्षा गर्छौँ ।”

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महासचिव गुटेरेसको सम्बोधन सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासचिव गुटेरेसले जलवायु परिर्वतनको असरबाट प्रभावित नेपाललाई सहयोग गर्न विश्व समुदायलाई आह्वान गर्नुभयो, उहाँले आफूले संयुक्त राष्ट्रसङ्घबाट समेत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

महासचिव गुटेरेसको नेपाल भ्रमणले विश्वमा नेपालको मान प्रतिष्ठा बढेको नेता कोइरालाको भनाइ छ । सबैलाई न्याय हुने गरी शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन महासचिवले सुझाव दिनुभएको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकतामा अगाडि बढेको बताउनुभएका महासचिव गुटेरेसको सम्बोधन प्रशंसायोग्य रहेको बताउनुभयो । जलवायु परिर्वतनबाट नेपाललाई परेको असर कम गर्नका लागि विकसित देशले सहयोग गर्नुपर्छ भन्ने महासचिव गुटेरेसको भनाइ महत्त्वपूर्ण रहेको उहाँको प्रतिक्रिया थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समयानुकूल नेपालको अवस्थाबारे महासचिव गुटेरेसले चित्रण गर्नुभएको उल्लेख गदै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष केसीले पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले मंगलबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, जलवायु परिर्वतनले पारेका असर, गरिबी निवारणलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँले कार्बन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्नेमा जोड दिनुभएको थियो ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा नेपालले शान्ति सेनामार्फत गरेको योगदानको उच्च प्रशंसासमेत गर्नुभएको थियो । साथै, उहाँले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनी जानुभएको थियो ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/32728

प्रधानाध्यापक हत्या प्रकरण: दश जना पक्राउ

बारा- स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

https://ujyaalonepalnews.com/archives/32727

आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

काठमाडौँ- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि आज पुनः हुने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गर्नुभएको थियो । आज बाँकी सुनुवाइ हुनेछ ।

संविधान दिवसका अवसरमा यही असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो ।

राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।

साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।

https://ujyaalonepalnews.com/archives/32726

राष्ट्रपतिबाट आममाफी पाएका रामचन्द्र अपहरणको धम्कीको आरोपमा पक्राऊ

चितवन । चितवनमा मानिसलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।

पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ ।

थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा २५ लाख रुपैयाँ माग गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको कमाण्डमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।

मकवानपुर हेटौडा उपमहानगरपालिका स्थायी ठेगना भएका थापा भरतपुर महानगरपालिका वडा नं. ९ मा बस्दै आएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले पत्रकार सम्मेलनमा जानकारी दिए ।

चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो ।

अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32724

सुलेमान शंकर (ईकु) सहित ९ जना कलाकार जुवा खालबाट पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको मैतिदेवीबाट कलाकार सुलेमान शंकर (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ ।

मैतिदेवीस्थित डान्सबारमा संचालित जुवा खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

पक्राउ पर्नेमा गायक चक्र बम, शंकर आचार्य, सुलेमान शंकर र नरेन्द्र विष्टसहित ९ जना छन् । जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ ।

शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/32721