Home Blog Page 40

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

पोखरा । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

भोलिबाट चितवन महोत्सव सुरु हुँदै

चितवन, पुष २४ – उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको छ ।

‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइँदैछ । अध्यक्ष श्रेष्ठका अनुसार यस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने छ ।

अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको हो । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने छ ।

महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहने छ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिँदै छ । महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने छन् ।

महोत्सवमा बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्नेगरी भरतपुर महानगरपालिकाको समन्वयमा रोजगार परिसर समेत राखिनेछ ।

महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोतसव प्रत्येक दुई वर्षमा आयोजना गरिँदै आइएको छ । महोत्सवको उद्घाटन अघि भोलि बिहान ७ बजेबाट शोभा यात्रा निकाल्ने तयारी गरिएको छ ।

सबेरै भूकम्पको धक्का; सयौं मानिसहरू सडकमा निस्किए

काठमाडौं : चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान नेपाल–चीन सिमाना तिब्ब्त केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।

काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको छ । विहान ६ः५१ बजे गएको भुकम्पपछि सयौं मानिसहरु घर बाहिर निस्किएका छन् । माथिल्लो तल्लामा रहेका मानिसहरु अत्तालिँदै बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ। काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, चितवन लगायतका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । यसको धक्का बंगलादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ । यसको केन्द्रबिन्दु चीनको तीब्बतमा रहेको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।

रत्ननगर १५ मा लोकसेवा तयारी कक्षाको समापन

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाको समापन गरिएको छ । सोमबार माधवपुर माविमा आयोजित एक औपचारिक कार्यक्रमका बिच तयारी कक्षाको समापन गरिएको हो ।

समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले विद्यार्थीहरुलाई आफ्नो निजामती जीवन बारेको अनुभव सुनाउंदै कठोर मेहेनत गरेमात्र लोकसेवा परिक्षामा सफलता पाईने बताए । सरकारी सेवाको क्षेत्रमा चितवनबासीको सहभागिता अत्यन्त न्यून रहेको भन्दै लम्सालले यस्ता नि:शुल्क तयारी कक्षाहरुले रत्ननगरका युवालाई सरकारी सेवामा जोड्न मद्दत मिल्ने बताए ।

कार्यक्रममा सभाध्यक्ष, वडाध्यक्ष आशिक तामाङले शिक्षित बेरोजगार न्यूनीकरणका लागी वडा कार्यालयले कक्षा संचालन गरेको जानकारी दिए । तयारी कक्षाले ‘देश बनेन भनेर चिन्तित युवा’हरुलाई देश बनाउने अभियानमा जोडने तथा विदेश पलायन रोक्ने विस्वास आफुले लिएको उनले बताए ।

लोकसेवा सारथि प्रा.लीले तयारी कक्षाको सहजीकरण गरेको थियो । कक्षामा ३५ जना विद्यार्थी सहभागी थिए । सुरुमा ६० दिन भनेर सुरु गरिएको कक्षा विद्यार्थीहरुकै अनुरोधमा ८० दिन सम्म संचालन गरिएको हो । कक्षामा सहभागीहरुलाई नि:शुल्क पुस्तक समेत वितरण गरिएको थियो।

कार्यक्रममा वडासदस्यद्वय लिलादेवी पोखरेल र रुकमाया परियार, लोकसेवा सारथीका संचालक महेश घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य मदन भुजेलले संचालन गरेका थिए ।

क्यानडा समिट २०२५ आयोजना गर्दै आइसीसीसी

काठमाडौँ- क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र सर्वाधिक विश्वासिलो परामर्श केन्द्र इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘क्यानडा समिट २०२५’ आयोजना गर्ने भएको छ।

आगामी जनवरी ९ तारिखका दिन संस्थाले बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कार्यक्रम आयोजना गर्ने भएको हो। कार्यक्रम आईसीसीसीको पुतलीसडक कार्यालयमा हुनेछ।

कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने मौका हुनेछ।

सहभागीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञहरूसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाहरूका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्नेछन्।

यो समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। थप जानकारीका लागि ०१-५९१५४५० वा ०१-५९१५४५१ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

रत्ननगरमा ४५ दिने लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजना तथा लोकसेवा सारथी प्रालिको सहजीकरणमा सञ्चालित ४५ दिने लोकसेवा आयोगको तयारी कक्षा एक कार्यक्रमबीच समुद्घाटन भएको छ

कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले स्वदेशमै रहे राष्ट्रसेवामा लाग्न युवाहरुलाई आग्रह गर्दै लोकसेवा तयारीको लागि ४५ दिनको समय अपुग भएमा थप कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले दत्तचित्तका साथ विषयकेन्द्रित भएर एउटा असल राष्ट्रसेवक कर्मचारीका रुपमा सरकारी सेवा गर्ने सोच राखेर लोकसेवाको तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नगरउपप्रमुख यादवप्रसाद पाठकले लोकसेवा रहरले मात्र नभई पूर्णकालीनरुपमा सहभागी भई आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

यस्तै, रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङले जनप्रतिनिधिसँग समाजले गरेको अपेक्षा पूरा गर्न लोकसेवाको तयारी कक्षा एक रहेको बताए ।

लोकसेवा सारथी प्रालिका सञ्चालक महेश घिमिरेले सार्वजनिक सेवामा प्रवेश गर्न चाहनेका लागि आफ्नो संस्थाले समन्वय गर्दै आएको बताए ।

प्रशासन शाखा प्रमुख सबिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा ११० जना विद्यार्थी सहभागी छन् । सो अवसरमा गत वर्ष रत्ननगर–१५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाबाट लोकसेवा परीक्षा पास गरेका मोहनबहादुर लम्साललाई २० हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।

पिठुवा खानेपानीको सातौँ साधारणसभा; एक वर्षमा झन्डै दुई करोड आम्दानी

निराजन घिमिरे- रत्ननगरको पिठुवामा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एकवर्षमा झन्डै २ करोड रुपैयाँ आम्दानी गरेको छ। शनिवार सम्पन्न  सातौँ  वार्षिक साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक वर्ष २०८०-८१ मा सो संस्थाले १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको हो ।

विभिन्न १३ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ४६ हजार रूपैया आम्दानी गरेको हो । संस्थाले कुल आम्दानीमा १ करोड ५७ लाख ५२ हजार खर्च कटाएर ३७ लाख ६१ हजार बचत गर्न सफल भएको छ ।

वि.स २०६७ सालमा स्थापना भएको सो संस्थामा हाल ४६७३ उपभोक्ता छन् । रत्ननगरको वडा नं. १४, १५ र १६ मा विच्छ्याइएको १०९ किमी लामो पाईप संजालबाट संस्थागत धारा ११, विपन्न वर्ग धारा २६३ र निजी धारा ४३९९ जडान गरिएको छ।

बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थामा अध्यक्ष हरिकुमार श्रेष्ठले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम, सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विमला पाण्डे बन्जाराले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको नीति तथा कार्यक्रममा ५०० जना क्षमताको सभाहल निर्माण, जियोग्राफिक इन्फर्मेसन सिस्टम (जी.आई.एस), सुचना प्रवाहको लागी एसएमएस सिस्टम, सामुदायिक विद्यालय र क्रियापुत्री भवनलाई पानीको महसुलमा ६० प्रतिशत छुट, नियमित महसुल तिर्ने ग्राहकलाई ५ प्रतिशत छुट, पानीको न्युनतम महसुलमा १० रुपियाँ कम गरि ७० रुपियाँ कायम गर्ने, मिनिरल वाटर उत्पादन गर्ने जस्ता विषय समेटिएका छन् ।

कार्यक्रममा पुर्व कार्यसमिति, लेखासमिति, पुर्व कर्मचारी, जग्गादाता तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुने पुर्वकर्मचारी हरुमा प्रेमप्रसाद ढकाल, ठानेश्वर ढकाल, बद्रीनाथ न्यौपाने, मुरली थापा छन् । त्यस्तै पुर्वकर्मचारी स्व. बाबुराम थापामगरलाई मरणोंपरान्त सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा जग्गादाता कालिका ७ निवासी शेरकुमारी थापा र रत्ननगर १४ मा रहेको एसवाई प्यानल कम्पनी समेत छन् । एसवाई प्यानलले खानेपानीको मुख्यकार्यालय परिसरमा दुई लाख ३३ हजारको लगानीमा अपरेटर आवास गृह निर्माण गरिदिएको छ ।

कार्यक्रममा उत्कृष्ट दुई कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ । प्रशासन तर्फ अस्मिता लामिछाने र प्राविधिक तर्फ प्रकाश स्याङबो तामाङलाई जनही रु. ५००५ सहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, वडा नं. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं. १५ का अध्यक्ष आशिक तामांङ, नेपाली काँग्रेसका नगर उपसभापती कमलनाथ अधिकारी, एमालेका जिल्ला कमिटि सचिवालय सदस्य प्रेम दुवाडी, माओवादी नेता दिलबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष तुलबहादुर रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सचिव रुपेश तिवारीले सञ्चालन गरेका थिए।

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर

१९ पुस, काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।

दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । सूचनामा लेखिएअनुसार दरखास्त फाराम भरेकाहरुको सम्पर्क मिति फागुन ६ गते तोकिएको छ । तर सम्पर्क राख्ने स्थान भने पदअनुसार फरक फरक छ ।

सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा र सहायक निरीक्षकमा आवेदन दिएकाले दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा, जवानहरुले परीक्षा सन्चालन हुने सम्बन्धित कार्यालयहरुमा सम्पर्क राख्नुपर्ने छ । अरु पदकालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् भर्नाको सूचना–

 

के भएको थियो सचिनलाई ?

उज्यालो दर्पण- बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनी १३ वर्षका थिए ।

उपचारका संलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । त्यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो ।

यस्तै करिब ६ महिनाअघि टिचिङमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पछिल्लो समय भने उनी संक्रमणका कारण भर्ना भएका थिए । अस्पताल भर्ना गर्दा उनी ‘सेप्टिक सक’मा थिए । त्यसको उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो ।

सचिनले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको श्वर रहेको ‘वरको छायाँले’ बोलको गीतमा सचिनले राजेश हमालसँग अभिनयसमेत गरेका छन् ।

त्यस्तै सचिनको श्वर र अभिनय रहेको ‘ओठ खोलेर’ बोलको गीतको म्युजिक भिडियो झन्डै २ करोड पटक हेरिएको छ । त्यस्तै उनले अस्मिता अधिकारीसँग ‘के छ र हजुर’ बोलको गीतसमेत गाएका छन् । केही वर्षदेखि उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा चर्चासमेत भएका थिए । उनका बुवा तेजेन्द्र परियारले सचिन बिरामी रहेको र उपचार भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

१५ औं संस्करणको चितवन महोत्सव पौष २५ गते देखि

भरतपुर । चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा १५ औं चितवन महोत्सव २०८१ हुने भएको छ ।

चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

प्रत्येक २/२ वर्षमा हुँदै आएको महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा दिने उद्देश्यले आयोजना गरिने महोत्सवमा पुर्‍याउदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि १०० र विद्यार्थीका लागि ५० रुपैँया तोकिएको छ । त्यस्तै टिकट भौतिक रुपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था रहेको आन्तरिक तथा वाह्य पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १५ दिनको अवधिमा करिब ३० करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको उनले बताएका छन् ।

परम्परागत खानाको प्रवर्द्धनका लागि विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पौष २८ देखी माघ ७ गतेसम्म नारायणगढ कै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।