Home Blog Page 41

दुःखद खबर: भाईरल ब्वाई सचिनको निधन

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनी १३ वर्षका थिए ।

सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।

बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

नगरस्तरीय चित्रकला प्रतियोगितामा आधारभूत विद्यालय शान्तिबजारकि शुभेच्छा काफ्ले प्रथम

उज्यालो दर्पण- चितवनको खैरहनीमा आयोजित अन्तरविद्यालय चित्रकला प्रतियोगितामा आधारभूत विद्यालय शान्तिबजारकि शुभेच्छा काफ्ले प्रथम भएकी छन्।

खैरहनी ३ को आधारभूत विद्यालय गोठश्वरको ५७ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित सामुदायिक विद्यालयको आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा काफ्ले प्रथम भएकी हुन् ।

प्रतियोगितामा नगर भित्रका २० वटा सामुदायिक विद्यालयका ३८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा जनएकता आधारभूत विद्यालयका छात्र रोशन राजवंशी द्वितीय र माध्यमिक विद्यालय गवैका छात्र आरभ ढकाल तृतीय हुन सफल भएका छन् भने आधारभूत विद्यालय कुनाघारीका छात्रा करिश्मा कुमारी बैठाले सान्त्वना पुरस्कार जितेकी छन् ।

विद्यार्थीमा अन्तरनिहीत प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक गोकुल पराजुलीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष पूर्ण बहादुर गुरुङ, कार्यपालिका सदस्यद्वय विष्णुमाया विक र आनन्दराम दराई, वडा सदस्यहरू प्रज्वला कुमारी घिमिरे, माधव श्रेष्ठ र कृष्णबन्धु भुर्तेल, विद्यालय व्यवस्थापन समितिको सदस्य शिव आले मगर लगायतको उपस्थिति थियो ।

सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रममा वार्षिक खेलकुद, पुरस्कार वितरण, शिक्षक सम्मान, विज्ञान प्रदर्शनी, लगायतका कार्यक्रम हुनेछन् । वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल कार्यक्रम यहि पौष २२ गते हुनेछ ।

पूर्वी चितवनमा गैंडा आतंक एकको मृत्यु नौ घाइते

चितवन —गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १६ की ६८ वर्षीया कृष्णकुमारी थापा रहेकी छन् ।

थापालाई घरमै बसिरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा गैंडाले आक्रमण गरेको हो । मंगलबार बिहान खैरहनीको ज्यामिरे क्षेत्रमा २ जनालाई घाईते बनाएको सो गैंडाले दिउँसो रत्ननगर पुगेर थापालाई आक्रमण गरेको हो। खैरहनीमा घाइते हुनेहरुमा कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत छन्।

मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। थापाका श्रीमान् डम्बरबहादुर थापा समेत गैंडाको आक्रमणबाट घाइते भएका वडाध्यक्ष हेमराज थापाले जानकारी दिए।

रत्ननगरमा गैंडाको आक्रमणबाट थापाका श्रीमान् सहित अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा रत्ननगर न.पा.१२ बस्ने बर्ष ७२ का चेतनाथ चौलागाई, बर्ष ३९ की सीता पोख्रेल, बर्ष २५ को पुजन बि.क र रत्ननगर १४ बस्ने बर्ष ६० की मिना गुरुङ छन्। घाइतेहरूको भरतपुर सरकारी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको सो गैंडाले पौष १३ गते राप्ती नगरपालिकाको अमिलिपानी सामुदायिक वन क्षेत्रमा २ जनालाई घाइते बनाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।

मंगलबार विहान खैरहनी क्षेत्रमा देखापरेको गैंडालाई नियन्त्रणमा लिन हात्ती सहितको टोली खटिएको थियो। तर स्थानीयको अत्याधिक भीडका कारण गैंडा भड्किएर घटना घटेको मगरले बताए। गैंडा हाल रत्ननगरको वार्ड नम्बर ९ मा रहेको मिलिजुली सामुदायिक वनमा प्रवेश गरेको छ।।

अंकुरम पोलिक्लिनिक चौथो वर्षमा प्रवेश; बिरामीसँग उत्सव साटासाट

चितवन । रत्ननगर १० वैरियामा रहेको अंकुरम पोलिक्लिनिकले आँफ्नो चौथो वर्षिक उत्सव सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीसँग मनाएको छ । २०७७ सालमा स्थापना भएको पोलिक्लिनिकले सोमबार १३२ जना बिरमीलाई निशुल्क ओपिडी सेवा सहित अन्य जाँचमा समेत ५० प्रतिशत छुट गरेको पोलिक्लिनिककी सञ्चालिका अञ्जना जोशिले जानकारी दिईन् ।

पोलिक्लिनिकले वार्षिक उत्सवको अबसरमा भिडियो एक्सरे, रगतबाट हुने विभिन्न जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो । पौस ११ गतेदेखि लागु हुने गरि पोलिक्लिनिकले दिएको छुट सुविधा पौस २९ गते सम्म रहने छ ।

जनसेवा भावनाको आधारमा सञ्चालन गरिएको पोलिक्लिनिकमा सोमबार चितवनमा ख्याति प्राप्त वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीको उपस्थितीमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

मानसिक तथा नशा रोग विशेषज्ञ खगेन्द्र काफ्ले र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रमेश घिमिरेले पनि बिरामीको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।

पोलिक्लिनिकले फार्मेसी सेवा, ल्याव(प्याथोलोजी) सेवा, भिडियो एक्सरे, मुटुकोे भिडियो एक्सरे, ई.सि.जी., सामान्य सल्यक्रिया, चिरफार एवम प्लास्टर सेवा, माईनर ट्रमा केयर, नेवुलाईजर सेवा, अक्सिजन सेवा, दाँतको उपचार आदि सेवा दिने गरेको छ ।

हिमालयन तिम्ला गुरुङ समाजले मनायो ल्होसार पर्व, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

निराजन घिमिरे- रत्ननगरको वडा नं. १६ पिठुवामा रहेको हिमालयन तिम्ला गुरुङ समाजले विभिन्न कार्यक्रमको आयोजना गरेर तमु ल्होसार पर्व मनाएको छ। हरेक वर्ष तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आईरहेको समाजले यो वर्षपनि विभिन्न कार्यक्रम गरि पर्व मनाएको हो।

 

 

 

पर्वको अवसरमा पिठुवाको खैरेटी मुनालटोलमा रहेको समाजको सामुदायिक भवनमा सामुहिक भोजन, शुभकामना आदानप्रदान तथा सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । समाजले भद्रकाली माध्यमिक विद्यालयका २५ जना छात्रछात्रालाई सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा फरक क्षमताका भरत गुरुङलाई पुरस्कृत समेत गरिएको छ। हातखुट्टाले लेख्न नसक्ने भरतले मुखले कलम च्यापेर लेखेकै भरमा कक्षा १२ उतिर्ण गरि हाल स्नातक तहको अध्ययन गरिररहेका छन्। उनै भरतलाई रोहित घले स्मृति प्रतिष्ठान भरतपुरले नगद बिस हजार सहित पुरस्कृत गरेको हो। भरतको अध्ययनको लागी सम्पूर्ण खर्च रत्ननगर नगरपालिकाले उपलब्ध गराएको छ भने कलेज आउनजानको लागी वडा कार्यालयले व्यवस्थापन गर्ने वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।

संस्थाले प्रत्येक वर्ष लोसारको दिनमा विशेष कार्यक्रम आयोजना गर्दै आईरहेको छ । २०६२ सालमा गुरुङ समुदायको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संस्थाको गठन गरिएको हो । स्थानीय गुरुङ समुदाय बाट चन्दा उठाएर जम्मा गरिएको ४ लाख ५० हजार रुपियाँले खरिद गरिएको घडेरीमा विभिन्न संघसंस्था र स्थानीय सरकार तथा सांसद विकास कोषबाट प्राप्त रकमले सामुदायिक भवनको निर्माण गरिएको पुर्व अध्यक्ष वुद्धिमान गुरुङले जानकारी दिए ।

तमु ल्होसार बिशेष गरी नेपाली पात्रोअनुसार पुष १५ का दिन मनाउने चलन छ। तमू भाषामा ल्हो (वर्ग) र सार (नयाँ पालुवा फुल्नु/फेर्नु ) भन्ने जनाउँदछ। पुरानो वर्गलाई बिदाई गर्दै नयाँ ल्हो (वर्ग) को आगमनको उपलक्ष्यमा नयाँवर्षको रुपमा यो चाड मनाईन्छ। तमूहरुको यस महान चाड ल्होसारको उपलक्ष्यमा एक अर्काप्रति “आँशिमाला” (शुभकामना) आदानप्रदान गर्ने चलन छ। तमुहरुमा कुन सालमा जन्मेको भन्दा पनि कुन ल्हो हो भन्ने कुरामा उमेरको गन्ति गर्दछ साथै विवाह, शुभ कामहरुको थालनी गर्दा पनि प्रायजसो ल्हो नै हेराएर गरिन्छ।

जनविश्वास जित्दै कालिका नगरअस्पताल; दैनिक ३०० सेवाग्राहीले उपचार सेवा लिँदै

निराजन घिमिरे- चितवनको कालिका नगरपालिकामा रहेको कालिका नगर अस्पतालले सेवाग्राहीको जनविश्वास जित्दै गएको छ । अस्पतालले गुणस्तरीय सेवा दिन थालेपछि अस्पताल प्रति स्थानीयको जनविश्वास बढ्दै गएको हो । फलस्वरूप अस्पतालमा सेवाग्राहीहरुको चाप बढेको छ ।

वि.स २०७६ सालमा तत्कालिन जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल स्थापना गरिएको थियो । अस्पतालले पछिल्लो समय सेवाको गुणस्तरमा वृद्धि गरेको छ । आधुनिक मेसिन र दक्ष स्वास्थ्यकर्मीहरुका कारण सेवाको गुणस्तर वृद्धि गर्न सकिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।

आईतबार सेवाग्राही संग प्रतिक्रिया लिँदै मेयर विनोद रेग्मी

कालिकावासीको जीवनरक्षा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नगरप्रमुख रेग्मीले पालिकाको साधनस्रोतको उच्चतम प्रयोग गरेर अस्पतालमा सेवाप्रवाह गरिएको बताए। आईतवार अस्पतालको अनुगमन गर्नेक्रममा उज्यालो नेपालकर्मी संग कुरा गर्दै मेयर रेग्मीले कालिकाबासीले उपचारका लागि भरतपुर र रत्ननगरका अस्पताल धाउन नपर्ने गरी विशेषज्ञ सेवा थप गर्दै लैजाने बताए ।

अस्पतालमा हाल डाक्टर र स्वास्थ्यकर्मी गरी ४० जना कर्मचारी कार्यरत छन् । अस्पतालले ओपिडी, आकस्मिक, प्रसूतिसेवा, सुरक्षित गर्भपतन, अत्याधुनिक ल्याब, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, रेबिज रोगविरूद्धको भ्याक्सिन, थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण सेवा दिँदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन जीवन खरेलले जानकारी दिए ।

अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर खरेलसहित ६ जना मेडिकल अधिकृत तहका डाक्टर कार्यरत छन् भने फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरहरुले समेत सेवा दिँदै आएका छन् । अस्पतालमा फिजियोथेरापी र दन्त सेवा सुरुवात गर्नको लागी काम अगाडी बढाईएको नगर उपप्रमुख विमला तामाङले जानकारी दिइन् ।

अस्पतालमा केहिदिन अघिमात्रै अत्याधुनिक मेसिन सहितको ल्याब विस्तार गरिएको थियो । सो मेसिनको जडान पश्चात  थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण सुरु भएको छ । त्यस्तै सेवाग्राहीहरुको चाप बढेसंगै भिड व्यवस्थापनको लागी टोकन सिस्टमको सुरुवात गरिएको छ । यसबाट टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य गर्न सहयोग पुगेको कालिका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए।

चौबिसै घन्टा सेवा प्रदान गर्दै आएको १५ शैयाको सो अस्पतालमा पाँचवटा शैया आकस्मिक कक्षमा रहेका छन्। उपचार गर्न आएका बिरामीलाई सकभर रिफर गर्न नपर्ने गरी स्वास्थ्य सेवा प्रदान गरिएको छ । उपचारमा आएका १० प्रतिशत मात्र बिरामी रिफर भएर अन्य अस्पतालमा जाने गरेको मेसु खरेलले जानकारी दिए ।

नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध सो अस्पताल प्रथम विन्दु रहनेगरी कालिका नगरपालिकाले झन्डै एकहजार घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाले निशुल्क बिमा सहितको स्वास्थ्यसेवा प्रदान गरेपछि अस्पतालमा सेवाग्राहीहरुको चाप बढेको हो ।

 

गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवन —गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ। ( प्रतीकात्मक तस्विर)

रत्ननगरमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन

चितवन । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ ।

रत्ननगर वडा नं ३ शान्तिचोक स्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले डिलर उद्घाटन गरेको हो ।

शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरियालले सयुक्त रुपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर उद्घाटन गरेका थिए ।

कम्पनीको डिलरसीपका चार श्रेणीहरूमध्ये “एम्पोरियो“ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ ।

यहि वर्षको मंसिरबाट औपचारिक उत्पादनमा आएको विश्वस्तरीय लेमिनार टायल्सलाई इञ्जिनियर, निर्माण ब्यवसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्याधिकरुपमा रुचाइएको छ ।

कम्पनीले आफ्ना उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ १०० भन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ ।

लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन लुम्बिनी सेरामिक्सले आउँदो वर्ष २०२५ मा अन्य ५० भन्दा बढी विशेष शोरूमहरूको स्थापनाको यात्रातर्फको पहिलो पाइला भएको टिप्पणी गरे ।

“चितवनमा हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं र हाम्रा उत्पादनहरुमाथि विश्वास राख्दै नेपाली उपभोक्तालाई यहीँ उत्पादित विश्वस्तरीय शतप्रतिशत भिट्रिफाइड टायल्स उपलब्ध गराउने हाम्रो प्रतिबद्धता पूरा गर्ने दिशामा हामीलाई साथ दिनुभएकोमा हामी जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सप्रति आधार छौं,” उनले भने, “हाम्रो पहिलो फ्रेञ्चाइज शोरूमको उद्घाटनले भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने तर्फको लुम्बिनी सेरामिक्सको यात्राको थालनीलाई संकेत गरेकोछ ।”

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा टायलहरु चारवटा आकारमा उपलब्ध हुनेछन् ।

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् । उद्घाटन कार्यक्रम जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सका सञ्चालक सागर दुवाडीको अध्यक्षतामा भएको थियो ।

ज्येष्ठ नागरिक दिवस: रत्ननगरमा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छोराबुहारी सम्मानित

उज्यालो दर्पण- चितवनको रत्ननगर १६ मा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छोराबुहारीलाई सम्मानित गरिएको छ । १६ नं. वडा कार्यालयले ज्येष्ठ नागरिक दिवसको अवसरमा विहिवार  वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण र हेरचाह गर्ने १४ जोडी छोराबुहारीलाई सम्मान गरेको हो ।

वडाका १० वटै टोलबाट छनोट गरिएका दम्पती तथा बुहारीहरूलाई सम्मान गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । सो अवसरमा आफ्ना आमाबुबा तथा सासुससुरालाई राम्रो हेरचाह गर्ने भाइकाजी/रन्जिता थापा, रोहिणी/बबिता बजगाईं, हरि/सुनिता घले, गजेन्द्र/सपना खनाल खतिवडा, नेत्रप्रसाद/डिलुमाया अर्याल घिमिरे, सीता अधिकारी, भुवनेश्वर/धर्मकुमारी पोख्रेल, मुक्तिनाथ/जुनु भट्टराई, बुद्धि/सावित्री थापा, श्रीमाया गुरूङ, बोधनाथ/सीता न्यौपाने, हरिप्रसाद अधिकारी, लक्ष्मी पराजुली, चिजकुमार/डिल्दु श्रेष्ठ  सम्मानित भएका छन् ।

कार्यक्रममा आफ्नो पूर्ण अपांग श्रीमानको उत्कृष्ट स्याहारसुसार र हेरचाह गर्ने पुष्पा घिसिङलाई समेत सम्मान गरिएको छ। पुष्पाका श्रीमान् प्यारालाइसिस रोगका कारण झन्डै ८ वर्षदेखि शौचालय समेत जान नसक्ने गरि असक्त भएका छन् । ओछ्यानमै थला परेका श्रीमानको पुष्पाले राम्रो हेरचाह गर्दै आईरहेकी छन् ।

यस्तै र्यक्रममा ज्येष्ठनागरिक लक्षित स्वास्थ्यसेवामा समर्पित स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्मा, सिअनमी निरीक्षक गीता रायमाझी, ल्याब असिस्टेन्ट कविता ढकाल, अहेब बन्दना घिमिरे, महिला स्वास्थ्य स्वयंसेविका सुमित्रा रिजाल, अनुराधा सुवेदी, नरकुमारी पुडासैनीलाई पनि सम्मान गरिएको थियो ।

वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक प्रेमप्रसाद पन्तको अध्यक्षता तथा वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडासदस्यहरु सरिता गुरुङ, ज्ञानेन्द्र रेग्मी, रिता वि.क, चिजकुमार श्रेष्ठ, पिठुवा सिकाई केन्द्रका अध्यक्ष नेत्र घिमिरे, भद्रकाली माविका प्रअ चिरन्जीवी खनाल, अस्थाई प्रहरीपोष्ट पिठुवाका इन्चार्ज अर्जुन घिमिरे लगायतको उपस्थिति थियो ।

वडासदस्य ज्ञानेन्द्र रेग्मीले स्वागत् मन्तव्य राखेको कार्यक्रम वडासचिव मन्जु पौडेलले संचालन गरेकी थिईन्। कार्यक्रममा ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक पन्तलाई एकथान साइकल प्रदान गरी सम्मान गरिएको थियो ।

 

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवन । नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गरेका छन् । सिंहले उद्घाटन गरेसंगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ । जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवन सौराहाले महोत्सवको आयोजना गरेको हो ।

सो अबसरमा उपप्रधानमन्त्री सिंहले पशु अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् । हात्तीले चितवनको पर्यटन विकासमा महत्पवूर्ण भूमिका निर्बाह गरेको भन्दै उनले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताए ।

अधिकारका नाममा हात्ती महोत्सव रोकिनु हुँदैन उनले भने महोत्सवलाई जनाबरमैत्री बनाउदै अझै शक्तिशाली बनाउनु पर्छ । हात्तीका गतिविधि अबलोकन गर्न पर्यटन आउने भन्दै उनले यो सकरात्मक पक्ष भएको बताए ।
हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उनले महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चितवनका पर्यटन व्यवसायीको हात्ती प्रतिको लगाब र प्रतिबद्धताको अगाडि अधिकारको नाममा गरिएको विरोध निरही रहेको उपप्रधानमन्त्री सिंहले बताए । वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उनले पर्यटकीय गतिविधिलाई कुनैपनि बहनामा विरोध गर्ने छुट कसैलाई नभएको उल्लेख गरे । चितवनको सफारी पर्यटनलाई असर पर्ने गरी हात्ती महोत्सवप्रति असहमति जनाउन नहुने उनको तर्क छ ।

चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपन नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यस अन्तर्गगत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए। स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उनले संरक्षण र पर्यटनलाई संगसंगै अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सम्पदा जोगाउदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उनको भनाई छ । प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले पशुअधिकारकर्मीहरुले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताए । उनले बृहत पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाब दिए  ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीले चितवनको पर्यटन विकासको लागि पाहुनालाई प्रधान गरिने सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । चिन सरकारले भ्रमणबर्षको घोषणा गरी आफ्ना नागरिकलाई जनसुकै देशमा घुम्न जान आह्वान गरेको भन्दै त्यसको भरपुर फाइला चितवनका पर्यटन व्यवसायीले लिने गरी तयारी गर्नुपर्ने उनको भनाई छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले हात्ती महोत्सवलाई विवादित बनाएर चितवनको पर्यटनलाई ध्वस्त पार्ने खेल सुरु भएको बताए ।

कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ र व्यवसायी हरिप्रसाद पाठकलाई सम्मान गरिएको छ । कार्यक्रममा महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको बताए ।

हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग वि.दु.वि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम हुने संघका महासचिव गुणराज श्रेष्ठले जानकारी दिए । विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।

संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, वडा नं ७ का वडाध्यक्ष सजना महतो, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष कुमारमणि थपलिया, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा लगाउतले मन्तव्य राखेका थिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो हात्ती महोत्सवको सहआयोजकमा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल छन्  ।