Home Blog Page 6

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सामाजिक सञ्जालमार्फत घृणास्पद अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जालमार्फत झापावासीलाई लक्षित गरी घृणास्पद र आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले चुँडाललाई पक्राउ गरिएको पुष्टि गरे । झापाको चुनावी नतिजा सार्वजनिक भएपछि एउटा भिडिओ सार्वजनिक गर्दै चुँडालले झापाका बासिन्दालाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’, ‘देश बेच्ने’ जस्ता अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेका थिए ।

उनको उक्त घृणास्पद अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुनुका साथै सर्वसाधारणले कानुनी कारबाहीका लागि प्रहरीलाई अनुरोध गरेका थिए ।

चुँडालविरुद्ध यसअघि पनि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अर्को एक विषयलाई लिएर सुनसरी जिल्लाबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । यसैक्रममा झापावासीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको अर्को घटना बाहिरिएपछि उनलाई समातिएको एसएसपी खड्काले जानकारी दिए ।

यसअघि पनि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा-५ मा चुनाव जिते आफूले ‘दिसा खाने’ जस्ता आपत्तिजनक टिप्पणी उनले गरेका थिए । पक्राउ परेका चुँडालमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) को कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवनपछि विवाद हुँदा खैरहनीमा एकजना माथि चक्कु प्रहार

चितवन । चितवनको खैरहनी नगरपालिका–१३ हर्नरीमा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्।

गए राति करिब २०:४० बजे जिल्ला कैलाली घर भई हाल खैरहनी–१३ हर्नरीमा मजदुरी गर्दै बस्दै आएका ३१ वर्षीय हरि कुमार चौधरीमाथि सोही स्थानमा मजदुरी गर्दै बस्ने ३३ वर्षीय लालबहादुर चौधरीले चक्कु प्रहार गरेका हुन्।

मादक पदार्थ सेवनपछि सामान्य विवाद हुँदा लालबहादुरले हरि कुमारको ढाडमा धारिलो हतियार (चक्कु) प्रहार गर्दा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते चौधरीलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाइएको छ।

घटनामा संलग्न लालबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खोलामा डुबेर चितवनमा एकजनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–१० दर्लामी टोलस्थित जेठार खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

हिजो २०८२ फागुन २७ गते बिहान अन्दाजी ८:३० बजेतिर खोलाको पानीमा घोप्टो परेको अवस्थामा राप्ती नगरपालिका–५ मङ्गलटारी बस्ने ६८ वर्षीय लालबहादुर छुमी मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो। पोस्टमार्टम पश्चात शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको छ ।

पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।

त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार छ जना घाइते भएका छन्। प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते छन्।

घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

बालेनले जिते “कान काट्छु’ भनेपछि तनाब …

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह फराकिलो मतान्तरसहित विजयी भए।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतको अन्तरले पराजित गरे। बालेनले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली मात्र १८ हजार ७ सय ३४ मतमा सिमित भए।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै चुनावअघि ‘बालेनले जिते भने आफ्नो कान काट्छु’ भनी अभिव्यति दिएकी रेनुका बरालले भने यतिबेला चर्को मानसिक तनाव र सार्वजनिक सास्ती खेप्नुपरेको छ।

निर्वाचनको समयमा आफ्नो पार्टीप्रतिको समर्थन जनाउने क्रममा दिएको अभिव्यक्तिकै कारण अहिले उनलाई बाटोमा हिँड्नसमेत मुस्किल परेको छ।

कालिमाटी तरकारी बजारमा जाँदा उनलाई केही व्यक्तिले घेराउ गर्दै ‘बालेनले जित्यो, अब कान काट्नुपर्‍यो’ भन्दै दुर्व्यवहार गरेका थिए। भिडबाट आत्तिएर उनी गाडीमा चढेर भाग्नुपरेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ।

सामाजिक सञ्जालमार्फत उनले भ्युज बढाउने नाममा आफ्नो अनुमतिबिना भिडियो खिचेर चरित्रहत्या नगर्न चेतावनी दिएकी छन्।

‘म कालिमाटी तरकारी बजार जाँदा मलाई एक हुल भिडले घेरेर कान काट्नुपर्‍यो भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्नुभएको छ। यसले मलाई मानसिक तनाव दिएको छ।’ उनले भनेकी छन्।

आफूलाई गरिखान दिन अपिल गर्दै उनले कानुनी उपचार खोज्ने बताइन्। ‘मान्छेले दुनियाँ दिवाना गर्दा केही नहुने, मैले गरिखान खोज्दा मलाई मानसिक तनाव दिने ? अब म यसको कानुनी उपचार खोज्न साइबर क्राइममा केस हाल्छु। न्यायका लागि प्रधानमन्त्री सुशीला कार्कीको ढोका ढकढक्याउन जान्छु।’

टिकटकलगायतका प्लेटफर्ममा उनको खोजी गर्दै भिडियो र तस्बिर राखेर एआईको समेत प्रयोग गरी ट्रोल बनाइएपछि उनले आफूमाथि मानसिक हिंसा भएको सुनाइन्।

नारी दिवसको सन्दर्भ पारेर उनले आफूलाई सम्मानपूर्वक बाँच्न दिन आग्रह गरेकी छन्। चुनावी माहोलमा एमालेप्रतिको मायाका कारण आफूले त्यस्तो अभिव्यक्ति दिएको स्पष्ट पार्दै उनले अरु कसैलाई हानि पुर्‍याउने कुरा नगरेको दाबी गरेकी छन्।

उनले थपिन्, ‘मैले मेरो भिडियोमा मेरै कान काट्ने भनेकी छु, तपाईंहरुको कान काट्ने त भनेकी छैन नि। निर्वाचनको समयमा हरेक पार्टीका कार्यकर्ताले आफ्नो पार्टीप्रतिको स्नेहले केही न केही बोलेकै हुन्छन्। यसमा कसैलाई केको पिर ?’ आफ्नो छोराछोरी, श्रीमान् र इष्टमित्रले पनि सामाजिक सञ्जाल हेरिरहेको उल्लेख गर्दै बाटोमा घेरेर दुर्व्यवहार गर्दा आफ्नो मानवअधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक हनन भएको उनले औंल्याएकी छन्।

९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ

काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए । ‘उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौं ।’

प्रहरीका अनुसार उनीहरुको साथबाट नौ थाल सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ ।

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई समेत शंकास्पद वस्तुसहित पक्राउ गरेको जनाएको छ ।

पर्सा क्षेत्र नं –२ का नेकपा उम्मेदवार चौधरी र सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव पक्राउ

काठमाडौँ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीका अनुसार गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। मौन अवधिका बेला मंगलबार राति यादव नगदसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीले गाडीबाट रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।

एन्जल फाउन्डेसनको सहयोगमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, विशेषज्ञसहितको सेवाबाट स्थानीय लाभान्वित

चितवन,फागुन १४- रत्ननगर–४ स्थित बुद्ध ज्योति इङ्लिस स्कुलको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।

बिहीबार विद्यालयको आफ्नै प्रांगणमा सञ्चालन गरिएको उक्त शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी विभिन्न समस्याहरूको विशेषज्ञद्वारा निःशुल्क जाँच गरिएको थियो। स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरमा उल्लेख्य
सहभागिता रहेको थियो।

विद्यालयका प्राचार्य बैकुण्ठ मरहठ्ठाका अनुसार, यस प्रकारका कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त शिविर एन्जल फाउन्डेसन, उर्लाबारी (मोरङ) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। शिविरमा १२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो, जसमा MBBS चिकित्सक डा. मनिष कुमार यादव, सिनियर काउन्सिलर अस्मिता शर्मा, फार्मेसीयन अशोक ताजपुरिया, ल्याब असिस्टेन्ट पूजा राजवंशी, सिनियर ल्याब असिस्टेन्ट अनुपा राई, बजार व्यवस्थापक कृष्ण बडु तथा सुदिक्षा निरौला र नर्सिङकर्मी सीमा चौधरी लगायतको उपस्थिति थियो।

शिविरमा ल्याब परीक्षण अन्तर्गत एचआईभी, हेपाटाइटिस, सिफिलिस तथा अन्य यौनरोगसम्बन्धी परीक्षण गरिएको थियो। साथै रगत परीक्षण, सुगर तथा रक्तचाप जाँच समेत गरिएको थियो। परीक्षणपछि सेवाग्राहीलाई तत्कालै रिपोर्ट प्रदान गरिएको थियो।
त्यसैगरी मलद्वारसम्बन्धी रोग, पाइल्स, फिसर र फिस्टुलाको जाँच गरी आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। आफ्नै स्थानमा विशेषज्ञसहितको गुणस्तरीय सेवा पाएको भन्दै सेवाग्राहीहरू उत्साहित देखिएका थिए।

वि.सं. २०७९ सालमा स्थापना भएको एन्जल फाउन्डेसनले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले साना किसान, सहकारी, बैंक तथा शैक्षिक संस्थासँग समन्वय गर्दै देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको शिविर प्रमुख प्रकाश राजवंशीले जानकारी दिए।

हाल उक्त संस्थाले चितवनको रत्ननगरमा शिविर सञ्चालन गरेको हो। पूर्वी चितवनमा मात्रै दुई हजारभन्दा बढी सेवाग्राहीलाई सफल उपचार सेवा प्रदान गरिसकेको र पछिल्लो समय सेवाग्राहीको रोजाइमा पर्न थालेको डा. अस्मिता ओलीले बताइन्।

रवि सत्य होलान् भनेर गृहमन्त्री बनाएको थिएँ, तर अपराधी निस्किए: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति आरोप लगाउँदै उनी अपराधी निस्किएको टिप्पणी गरेका छन्।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा आयोजित मतदाता भेटघाट कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले लामिछानेलाई विगतमा आफूले नै विश्वास गरेर गृहमन्त्री बनाएको प्रष्टीकरण दिएका हुन्।

रास्वपा नेताहरूको पछिल्लो कार्यशैली र अभिव्यक्तिप्रति रुष्ट देखिएका ओलीले लामिछानेलाई सुध्रिने अवसर दिइए पनि त्यसको दुरुपयोग भएको बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘रवि सत्य होला, केही राम्रो काम गर्ला भनेर मैले नै पहल गरेर उपप्रधान तथा गृहमन्त्री बनाइदिएको हुँ। त्यतिखेर त मुद्दामामिला लागेको थिएन, सुध्रिएला भन्ने थियो। तर, तिनै मान्छे अपराधी निस्किए, त्यतिखेर मलाई अपराधी हुन् भन्ने थाहा थिएन।’

सोही क्रममा ओलीले नयाँ भनिएका दलहरूबाटै समाजमा अराजकता र हिंसाको मानसिकता विकास गर्न खोजिएको भन्दै रास्वपाको कार्यशैलीको आलोचना गरे।

लामिछानेले केही दिनअघि दिएको भ्रष्टाचारीको घरमा डोजर चलाउने अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै ओलीले भने, ‘पाए भने यिनीहरूले मान्छेलाई रुखमै बाँध्छन्, घरै जलाइदिन्छन्।’