Home Blog Page 7

रास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश

१४-फाल्गुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका छन् ।
आज बर्दघाट १२ चौपत्तामा आयोजित चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएका हुन् ।
रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।
ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए।
चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाइ धक्का लागेको छ । रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट थिए ।
सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्यागको घोषणा गरेका थिए।

टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा

पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् ।

राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ ? स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु !’

उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै दुई दिनअघि पनि फेसबुक स्टाटस लेखेका थिए ।

०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए । त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए । पार्टी छाडेका राई अहिले पनि टिकटको आकांक्षी रहेको बताइएको छ ।

गएको निर्वाचनमा १० हजार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेललाई टिकट दिएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए ।

टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै पछिल्लो समय दर्जनबढी नेताहरूले रास्वपा छाडिसकेका छन् ।

जेनजी आन्दोलनबारे बीबीसीको खुलासा : फिल्डबाट गोली चलाउन अनुमति मागेपछि खापुङले भनेका थिए- ‘कर्फ्यू लागिसक्यो, आदेश माग्नुपर्दैन’

काठमाडौं : नेपालमा हजारौं युवा र निहत्था प्रदर्शनकारीहरूमाथि घातक हतियार (गोली) चलाउन देशका पूर्व प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलासा गरेको छ।

भदौ २३ गते काठमाडौंमा मारिएका १९ जनामध्ये स्कुलको पोशाकमा रहेका एक किशोर पनि थिए। भीडबाट टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो। यस घटनामा दर्जनौं मानिस घाइते भएका थिए।

राजनीतिक भ्रष्टाचारविरुद्ध हप्तौंदेखि गुम्सिएको आक्रोशपछि जेन-जी भनेर चिनिने युवा पुस्ताले गरेको यो प्रदर्शनपछि थप आन्दोलन चर्किएको थियो। जसको फलस्वरूप भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ को घटनाक्रमको विस्तृत विवरण भएको प्रहरीको एक आन्तरिक कागजात फेला पारेको दाबी गरेको छ।

यसले ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको देखाउँछ। यो आदेश फिल्डमा रहेका अधिकारीहरूले गोली चलाउन पटक-पटक अनुमति मागेपछि दिइएको थियो।

वाकेटकीबाट सञ्चारका लागि प्रयोग गर्न प्रहरीमा कल साइन राखिन्छ। ‘पिटर १’ प्रहरी महानिरीक्षक (आईजीपी) का लागि प्रयोग हुने कल साइन हो।

खापुङले आफूले उक्त आदेश दिएको कुरा अस्वीकार गरेका छैनन्। तर, नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको अनुमति पाएपछि र कानुनअनुसार बल प्रयोगका अन्य सबै उपाय अपनाइसकेपछि मात्र यस्तो आदेश दिइएको जनाएको छ।

जेन-जी आन्दोलनपछि अवकाश पाएका खापुङले बीबीसीको प्रतिक्रियाको अनुरोधलाई भने जवाफ नदिएको रिपोर्टमा उल्लेख छ।

बीबीसीले परीक्षण गरेको भिडिओ प्रमाणअनुसार सो दिन ज्यान गुमाउने १९ जनामध्ये सबैभन्दा कान्छा, १७ वर्षीय श्रीयम चौलागाईं निहत्था थिए र उनी घटनास्थलबाट बाहिरिने प्रयास गरिरहँदा मारिएका थिए।

भदौ २३ गतेका घटनाहरूबारे अहिले सार्वजनिक छानबिन भइरहेको छ तर यसको प्रतिवेदन आउन बाँकी छ। अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन। त्यस्तै, आगामी फागुन २१ गते आम निर्वाचन हुँदैछ।

बीबीसीले ४ हजारभन्दा बढी भिडिओ र फोटोहरूको विश्लेषण गरेर यस घटनाको सिलसिलेवार विवरण तयार पारेको उल्लेख गरेको छ।

चुनाव छल्दै सिंगापुर उडे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।

देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष) मा देखिनुभएको थियो,’ स्रोतले भन्यो, ‘अरु २–३ जना पनि साथमै देखिन्थे ।’

यसअघि नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार आएको थियो ।

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

कैलाली । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् ।

चुनाव प्रचार–प्रसारका लागि घरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

‘जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचार–प्रसारको क्रममा दुवै पक्षबीच झडप भएको हो,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले भने ।

उनका अनुसार झडपमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी घाइते भएका छन् ।

घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक भुवन तिमिल्सेनाको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यसैबीच घटनाको छानबिनका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘छानबिन र अनुसन्धानपछि घटनाबारे थप विषय प्रष्ट हुन्छ ।’

प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बेला एमाले र रास्वपा दुवैले घटनाबारे एकले अर्कोलाई आरोप लगाएका छन् । रास्वपाका कार्यकर्ताहरूले आफ्ना युवाहरूमाथि आक्रमण गरेको राष्ट्रिय युवा संघ नेपाल बैतडीका अध्यक्ष यज्ञराज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमालेको चुनावी प्रचार–प्रसारमा रहेको बेला युवाहरूको टोलीमाथि रास्वपामा क्रियाशील समूहहरूले साङ्घातिक हमला गरेको र उक्त आक्रमणमा परी युवा संघ बैतडीका नेता जनक धामी र माधव धामी घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘तत्काल आपराधिक घटनामा संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय युवा संघ नेपाल प्रशासनसमक्ष अनुरोध गर्दछ,’ जिल्ला अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाको नाममा गाउँ–घरमा अराजक गतिविधि गर्ने, चरित्र हत्या गर्ने र सामाजिक सञ्जालमा नेकपा (एमाले) र एमालेका नेता–कार्यकर्ताविरुद्ध अफवाह फैलाउने र मान-मर्दन गर्ने शक्ति, समूह र व्यक्तिहरू समयमै सचेत र सजग नभएमा राष्ट्रिय युवा संघ नेपाल इँटको जवाफ पत्थरले भनेझैँ जवाफी प्रतिकारमा उत्रन बाध्य हुनेछ।’

रास्वपा जिल्ला सभापति भीम नाथले जारी गरेको विज्ञप्तिमा भने एमालेका कार्यकर्ताहरूले आफ्ना कार्यकर्ताहरूलाई कुटपिट गरेको उल्लेख छ ।

उनले जारी गरेको विज्ञप्तिमा डिलासैनी गाउँपालिका वडा नं। ७ मल्लालेकमा चुनाव प्रचारका क्रममा मोटरसाइकलमा सवार रा।स्वा।पा। डिलासैनी-०७ का सभापति लाल सिंह धामी र सदस्य लोकेन्द्र धामीमाथि जिपमा सवार नेकपा (एमाले) का कार्यकर्ताले आक्रमण गरेको उल्लेख छ ।

‘घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न हामी माग गर्दछौं। घाइते नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीपंक्तिलाई संयम र एकताका साथ लोकतन्त्रको रक्षामा उभिन आह्वान गर्दछौं,’ जिल्ला सभापति नाथले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रत्ननगरमा पाइप फ्याक्ट्रीमा काम गर्ने क्रममा लडेर महिला गम्भीर घाइते

उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवास्थित पशुपति पाइप फ्याक्ट्रीमा काम गर्ने क्रममा एक महिला कामदार गम्भीर घाइते भएकी छन्।

मकवानपुरको थाहा नगरपालिका–४ घर भई हाल रत्ननगर–१४ पिठुवामा बस्दै आएकी ४४ वर्षीया अनिता लामा फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा लडी टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई उपचारका लागि तत्काल भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको छ। उनको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सोमबार अपरान्ह झन्डै ४:३० बजेको हो ।

सबैले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेद्वार घोषणा गर्न रेनु दाहालको आह्वान

चितवन : नेकपा उम्मेदवार रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा सबै राजनीतिक दलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान गरेकी छन्। चुनावी घरदैलो अभियानका क्रममा बोल्दै उनले विगतका कामको मूल्याङ्कनका आधारमा समर्थन नगर्न कुनै कारण नदेखिएको जिकिर गरेकी हुन्।

उनले भनिन, “दुईवटा पार्टीका प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता दिइसक्दा अन्य दलहरूले पनि रेणु दाहाललाई समर्थन नगर्नुपर्ने कुनै कारण छैन। कसैले पनि समर्थन गर्न नपर्ने अवस्था छैन।” भरतपुर महानगरपालिकाको विकास अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सिङ्गो चितवन जिल्लालाई अभिभावकत्व दिने बताईंन् ।

उनले चुनावी मैदानमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह पनि गरिन् । “ठूला–ठूला सपना र आश्वासनका शब्दजालबाट जनतालाई भुल्याउने काम भइरहेको छ। त्यस्ता भ्रमका खेतीमा नपर्नुस्,” उनले भनिन् ।

उनले भावनात्मक भाषणभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिन आग्रह गरिन् । “कुराले होइन, व्यवहारले हुन्छ। कुरा गर्ने कि काम गर्ने रोज्ने, त्यो तपाईंहरुकै हातमा छ,” उनको भनाइ थियो । दाहालले
माडी र भरतपुर क्षेत्रमा समानान्तर रूपमा घरदैलो कार्यक्रम गरिरहेकी छन् ।

रास्वपालाई ठुलो झड्का : जिल्ला सभापति नै कांग्रेसमा फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्।

रास्वपा मकवानपुरले आज हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। पराजुलीलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराए।

पार्टी छाडेको घोषणा गर्दै पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा समर्पित रहँदै आएको थिएँ। त्यसपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरेँ।’

उनले अगाडि लेखेका छन्, ‘जहाँ रहे पनि म सधैँ भुईँमान्छेको सेवकका रूपमा जनताको सेवामा समर्पित रहन प्रयासरत थिएँ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ जस्तो विकट क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गर्नु मेरो लागि जनविश्वासको प्रमाण थियो।’

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले भनेका छन्, ‘समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो। सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो।’

उनले नेतृत्वको मूल्यांकन गर्ने शैलीमाथि प्रश्न उठाउँदै थपेका छन्, ‘हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको छ। यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसक्ने अवस्था देखिएकाले स्थापना कालदेखि आबद्ध रहेको पार्टीबाट आजकै मितिदेखि अलग रहने निर्णय गरेको छु।’

हेर्नुस् उनको फेसबुक स्टाटस

सबैमा नमस्कार।
म विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा समर्पित रहँदै आएको थिएँ। त्यसपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरेँ।
जहाँ रहे पनि म सधैँ भुईँ मान्छेको सेवकका रूपमा जनताको सेवामा समर्पित रहन प्रयासरत थिएँ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ जस्तो बिकट क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गर्नु मेरो लागि जनविश्वासको प्रमाण थियो।
तर समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठिक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो। सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो। मैले सधैँ इमानदारी, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ। कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग म सहमत हुन सकिनँ।
यस निर्णयलाई कसैले अन्यथा अर्थ लगाउन सक्लान्, तर मेरो लागि मूल कुरा पार्टी स्थापना गर्दा अघि सारिएको उद्देश्य र व्यवहारबिचको अन्तर हो। जब आदर्शभन्दा फरक बाटो समातिएको महसुस भयो, तब आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको छु।
रास्वपामा मलाई माया, साथ र विश्वास गर्ने सम्पूर्ण साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। म पार्टीमा नरहँदा केही सीमित व्यक्तिहरूलाई सुखानुभूति हुन सक्ला, तर भविष्यमा कसैले पनि मेरो जस्तो नियति भोग्न नपरोस् भन्ने कामना गर्दछु।
रास्वपा पार्टीको जिल्ला सभापति पदमा रहँदा विभिन्न कोणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरू, शुभेच्छुकहरू तथा कार्यकर्ताहरूमा हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरूको साथ, समर्थन र विश्वास नै मेरो राजनीतिक यात्राको बलियो आधार रहनेछ।
हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको छ। साथै, यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसक्ने अवस्था देखिएकाले स्थापना कालदेखि आबद्ध रहेको पार्टीबाट आजकै मितिदेखि अलग रहने निर्णय गरेको सम्बन्धित सबैमा जानकारी गराउँदछु।
आगामी दिनहरूमा पनि म सदाझैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताए । बसमा ४६ यात्रु रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार जारी राख्दा मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ ।

बस सडकबाट ३ सय मिटर तल खसेको पाइएको छ । आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
घाईतेहरुको विवरण

रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । यसअघि रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै मत माग्दै आएका थिए ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही राजनीतिक दल र उम्मेदवारहरूले धातु, काठ वा अन्य सामग्रीबाट बनेका त्रियामी (थ्री-डी) आकारका भौतिक चुनाव चिन्ह बोकेर हिँड्दा शान्ति सुरक्षामा प्रतिकूल असर परेको भन्दै यस्तो निर्णय गरेको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरूपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिन्ह प्रयोग गरी प्रचारप्रसार नगर्न र नगराउन सरोकारवाला सबैमा अनुरोध छ।”

आयोगले केवल तोकिएको मापदण्डका झण्डा र चिन्हहरू मात्र प्रयोग गरी स्वस्थ र मर्यादित निर्वाचन प्रचारप्रसार गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ।

कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना र गुनासाहरू प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।