Home Blog Page 66

चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ

१४ जेठ, चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति विश्वनाथ थारु महेश हुन् ।

गत वैशाख ३० गते बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गरेको प्रहरीको दाबी छ । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्णरुपमा जलेको थियो ।

पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दै विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।

पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर-२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाको कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ ।

थारुले विगतमा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् ।

चितवनमा चारवटा सवारीसाधन एकआपसमा ठोक्कियो

चितवन , १४ जेठ । चितवनमा चारवटा सवारीसाधन दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्र किलोमा गएराती चारवटा सवारी साधन एक आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइतेहरुमध्य ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।राती करिव १२:३५ बजे काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बर को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरीतर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाएको प्रवक्ता रिजालले बताए ।

दुर्घटनामा परि अन्दाजी १७ वर्षको पुरुषको मृत्यु भएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् सडक अबरुद्ध भएकोमा राती करिव २:३० बजे बाटो एक तर्फी सुचारु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

चितवनमा केरा काटेर नष्ट गरेको आरोपमा ४ जना बालक पक्राउ

चितवन, जेठ १३- चितवनको खैरहनीमा किसानले लगाएको केरा काटेर नष्ट गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् । गएको जेठ १ गते राति करिब ११ बजेको समयमा पाँच कठ्ठामा लगाएको ३१५ बोट केरा काटिएको थियो ।

पक्राउ परेका बालकहरुको नाम भने प्रहरीले खुलाएको छैन । उनीहरु एक जना १२ वर्ष, एक जना १३ वर्ष र दुई जना १४ वर्षका रहेका छन् । प्रहरीले उनीहरुको परिवर्तित नाम ठाउँको नामबाट मगनीचोक (क), होलिल्याण्ड (क), चौबिसकोठी (क), धुसरी (क) राखेको छ ।

रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर उनीहरुले केरा नष्ट गरेका थिए । घटनामा संलग्न उनीहरुलाई प्रहरीले जेठ १० गते पक्राउ गरेको हो ।

उनीहरु ‘घर बाहिर एक रात ‘नाइट स्टे’ बस्ने भनेर चार जनाबीच सल्लाह भएपछि घरनजिकै र सुरक्षित हुन्छ भनेर केराखेती भएको ठाउँमा बसेको र त्यहाँ बस्ने क्रममा कसले कति केरा काट्ने भन्ने उट्पट्याङ चलेको देखिएको प्रहरीले बताएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

रत्ननगरमा अत्याधिक गर्मीका कारण विद्यालय बन्द

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पछिल्लो समय बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यालय बन्द गरेको छ ।

आइतबार एक सुचना जारी गरी नगरपालिकाले गर्मीका कारण शिक्षण सिकाइ प्रभावित भएको भन्दै जेठ १९ गते सम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

नयाँ योजना निर्माणको लागी पिठुवा सिकाईको अन्तरक्रिया कार्यक्रम

उज्यालो नेपाल- नयाँ योजना निर्माणको लागी रत्ननगरको वडा नं. १६ मा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागी वार्षिक कार्ययोजना तय गर्न केन्द्रले कार्यक्षेत्र भित्रका जनप्रतिनिधी, संस्थाका सल्लाहकार तथा पुर्व पदाधिकारीहरु संग अन्तरक्रिया गरेको हो ।

ईच्छाकामनाको वडा नं. ७ स्याँङदीमा आयोजना गरिएको कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा, वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं. १४,१५,१६ का वडा सदस्यहरु, नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, सल्लाहकार समिति सदस्यहरु, पुर्व पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

आगामी वर्षको कार्ययोजना तय गर्नको लागी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष नेत्र घिमिरेले बताए । केन्द्रले आफ्नो प्रस्तावित कार्ययोजनामा अनौपचारिक शिक्षा, भवन निर्माण, तथा विभिन्न सिपमुलक तथा रोजगारमूलक तालिमहरु संचालन गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा केन्द्रका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको प्रस्तावित कार्ययोजनामा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केन्द्रका सल्लाहकार समिति सदस्य हरिकुमार श्रेष्ठले सिपमुलक तालिमहरु संचालन गर्दा त्यसको प्रतिफलको ग्यारेन्टी हुनेगरी मात्र सहभागी छनोट गर्नुपर्ने सुझाव दिए ।

तालिम लिने तर आयआर्जनमा नलाग्ने प्रवृतिको अन्त्य गर्न सिप प्रदान गरिसके पश्चात विभिन्न तहका सरकारहरु संगको समन्वयमा लगानीको लागी पनि सहजीकरणको आवश्यकता रहेको उनले औंलाए ।

केन्द्रका पुर्व अध्यक्ष हरिश्चन्द्र अधिकारीले पनि प्रतिफल मुल्यांकन गरेर मात्र कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङले पछिल्ला दिनमा पिठुवा सिकाईको सक्रियताको खुलेर प्रशंसा गरे । कुनै समय वर्षको एकपटक भ्रमण मात्र जाने संस्थाको रुपमा चिनिएको केन्द्रले पछिल्ला दिनमा बढाएको सक्रियताले सिकाई केन्द्रको मर्म र भावनाको प्रतिनिधत्व गरेको उनले बताए । वडाले केन्द्र संग गरिरहेको सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नगरशिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले रत्ननगर क्षेत्रमा रहेका पाँचवटा सिकाई केन्द्र मध्ये सबैभन्दा सक्रिय पिठुवा सिकाई केन्द्र रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले केन्द्र संगको हातेमालो कायमै रहने भन्दै पूर्ण सरसफाई वडा घोषणाको लागी केन्द्र मार्फत कार्यक्रम संचालन गर्न एकलाख बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

केन्द्रले यस अघि तिनवटै वा संगको सहकार्यमा सवारीचालक तालिम, सेक्युरिटी तालिम, विरुवा कलमी तालिम लगायतका कार्यक्रम संचालन गरेको थियो । प्रस्तावित कार्ययोजनामा पनि मागमा आधारित विभिन्न तालिमहरु संचालन गर्ने लक्ष्य राखिएको छ । जसमा सिलाईबुनाई, कृषि तालिम, पोल्ट्री तालिम, आईसीटि तालिम, मन्टेश्वरी तालिम लगायत छन् ।

केन्द्रका अध्यक्ष घिमिरेले सहभागीहरुबाट आएको सुझावलाई ग्रहण गर्दै प्रस्तावित कार्ययोजनालाई परिमार्जन गरेर लागु गरिने जानकारी दिए । कार्यक्रम केन्द्र कि कार्यालय सचिव सर्मिला लामिछानेले संचालन गरेकी थिईन् भने सहभागीहरुलाई उपाध्यक्ष कल्पना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

रोजगारीका लागि कुवेत पुगेकी कमला ११ दिनदेखि सम्पर्कविहीन

रसुवा : रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।

छोरीसँग अन्यत्र काम गर्ने वा नेपाल फिर्ता पठाइदिने भनेर कम्पनीले पासपोर्ट मागेपछि सम्पर्कविहीन भएको र अधिकारीको पहलमा खोजी भइरहेको परिवारले बताएको छ।

खोजीका लागि सक्दो सहयोग गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाई अनुरोध गरेका छन् । वाइवा समेत २६ जना कुवेतमा हराइरहेको सूचना छ ।

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका

देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए ।

टोलीले हत्केलामा जउन राखेर डोरीमा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।

भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ ।

झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनले बाताए । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भने ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा लिएर अनुसन्धान गर्न अदालतको आदेश

धनुषा — जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिएको छ ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए ।

सिरोहियालाई मंगलबार काठमाडौँ बात पक्राउ गरेर धनुषा ल्याएको हो ।

राप्तीका मेयरको दुई वर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि

राप्ती, जेठ ९ । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ ।

दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध थिचोल्दै उनले नगरको विकासमा उपलब्धि हासिल गरेका दावी गरेका छन् । उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन सुरु भएको छ । उनले विकास निर्माण र नगरबासीको चाहना र गरिवी निबारणलाई प्राथमिकता दिएर काम गरेका छन् ।

उनले नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाएका छन् । नगरको भौगोलिक अवस्था र यसको आधारमा उनी जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत छन् । मेयर लामाले नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो परिवर्तन गरेका छन् ।

उनले निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणा कार्यान्वयनमा लगेका छन् । राप्तीका जनताले अहिले पढ्न पैसा तिर्नु पदैन । स्वास्थ्य सेवा सहज भएको छ । आफ्नो कार्यकालमा उनले विपन्न घर बनाउने घोषणा गरे । उनले ५०५ घर बनाउने प्रतिवद्धता अनुरुप काम सुरु गरेका छन् । तर राप्तीमा राजनीतिक द्धन्द र टकरावले जनताले विकासको पर्याप्त प्रयोग गर्न पाएका छैनन् ।

मेयर र उपमेयरको कार्यकक्षामा जनप्रतिनिधिले नै लगाएको ताला तीन महिना सम्म खुल्न सकेको छैन् । सोही कारणले विकासमा ढिलाई भएको छ । जनप्रतिनिधि बीचको अनावश्यक द्धन्दल दुई बर्षमा मेयर लामाले सोचे जस्तो काम गर्न नसकेको बताए । अबरोधका बीच मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आबास निर्माण देखि उनीहरुको जीवन स्तर उकास्ने गरी पालिकाको योजनालाई विकटमा उकालेका छन् ।

घन्टौ हिड्नुपर्ने कान्देलीको लागि, सुत्केरीको पीडामा तड्पिएका वासवाङका महिलाहरुको लागि, छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउनकै लागि शमशेर लामाले योजनालाई पहाड केन्द्रीत गरेका हन । ६५ प्रतिशत भुभाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकै पकट फेर्न मुश्किल छ उनले भने चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ ।

जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नु पर्छ भन्दै मेयर लामा विकटका बस्तीहरुमा पुग्ने गरेका छन् । विकटमा जाँदा उनी रित्तो हात जादैनन, नाना, छाना र खाना लिएर उनी बस्तीमा पुग्ने पहिलो मेयर हुन । आत्मनिर्भर जनताको परिकल्पना सहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल बर्ष पुरा गरेका छन् ।

म आफै राप्तीमा जन्मिएर यही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु उनले भने अध्ययनको क्रममा केही समय म नगर भन्दा वाहिर रहेता पनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले राजनीतिको माध्यमवाट जनताको सेवामा लागि परेको छु । २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचमा मेयर भएका उनी ओडारमा बस्ने चेपाङ देखि आलिसान महलमा बस्ने सम्मका व्यक्तिको अभिभावक हुन ।

बस्ने वास नभएका, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उनको लागि कम चुनौतीपूर्ण थिएन् । आधा जनतालाई छिटो विकास चाहिएको थियो उनले भने सडक निर्माण, खानेपानी, यातायाता र विद्युत्को पहुँच पुगोस भन्ने थियो । दुई बर्षको अबधिमा मेयर लामाले ३२५ विपन्न परिवारको लागि आबास निर्माण गरेका छन् ।

शिक्षाका परिर्वतन ल्याउन उनले ठुलै कसरत गरे । राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अन्तर्गत हरेक बर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ । स्वास्थ्यमा नगरबासीलाई निःशुल्क एम्बेलेन्स, विरामीलाई निःशुल्क रगत, १० हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ ।

नमुना कान्दाको अभियान अन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहुँच, कान्दामा फोर जि इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाले बताए ।

कृषि तर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनलाइ सहजीकरण, सिंचाइको लागि स्यालो बोरिङ्ग वितरण, बेमौसी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ । भुमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ्ग समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् । नागरिकको गुनासो सुन्न र उनीहरुको आबश्यकता पहिचान गर्न जनतासंग मेयर कार्यक्रम सुरु गरिएको छ । राप्ती नगरपालिकालाइ प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यमबाट भइरहेका छन् ।

सो नगरपालिकाले चालु आर्थिक बर्ष देखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखि नगरलाई कफी जोन घोषणा गर्न वडा नं १३ स्थित गुन्द्रीमा कफीको विउ राख्दै कृषकलाई अनुदानमा कफी खेती सुरु गरिएकोमा वडा नं १० देखि १३ का किसानहरु कफी खेती तर्फ आकर्षित भएका छन् ।

गर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र जिल्लाको जेलमा सारियो

चितवन । जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए । यहाँ रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको उनको भनाइ छ ।

“क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सरसफाई, खानपानलगायत कुरामा बिशेष ध्यान दिन भनेका छौँ”, आचार्यले भने, “यो समयमा लामखुट्टेको टोकाईबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाई गर्नेलगायत कुरामा विशेष निगरानी राखिरहेका छौँ ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तिव्र हुने भएकाले थप सतर्कता अपनाइएको उनको भनाइ छ ।

कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए । भिमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज कारागार नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ३५ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४० जना, उनीहरुसँग आश्रित दुई बालबालिका र दुई सय ५५ क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९५ जना छन् ।