Home Blog Page 84

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, करिब ५० हजार जना सहभागी हुने अपेक्षा

भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी फागुन १८ गते नारायणी नदीकिनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसद्हरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।

करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने छ । महानगरपालिकाका २९वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातिहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।

‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ ।

यस्तै, महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक, दल, बुद्धिजीवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तर्क्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन् ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाइमा वर्षभरि ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब दुई लाख बाह्य पर्यटक तथा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताए ।

भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्ष कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैँडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए ।

भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेस्टुरेन्टहरुले छूट सुविधा यसअघि नै घोषणा गरेका छन् । भ्रमण वर्षभरि सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।

पिठुवा खानेपानीले घटायो पानीको मूल्य

उज्यालो नेपाल – रत्ननगरको वडा नं १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको महसुलमा समायोजन गरेको छ।

संस्थाको नवनिर्वाचित कार्यसमितिले यसअघि कायम खानेपानीको मूल्य समायोजन गरेको हो।

संस्थाले खानेपानीको न्यूनतम महसुल ८० रुपियाँ बाट घटाएर ७० रुपियाँ कायम गरेको छ।

यसैगरी मिटर रिडिङ भएको एकहप्ता भित्र खानेपानीको महसुल बुझाउने ग्राहकलाई दिइँदै आएको ३ प्रतिशतको छुटलाई बढाएर ५ प्रतिशत छुट दिने निर्णय गरिएको छ।

सामुदायिक विद्यालयहरुलाई दिइँदै आएको ५० प्रतिशत छुटको व्यवस्थालाई परिवर्तन गरी ६० प्रतिशत पुर्याईएको छ।

त्यसैगरी मर्मतको लागि लिइँदै आएको बीस रुपियाँ महसुल समेत पूर्ण रुपमा हटाईएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए। नयाँ मूल्य चैत १ गतेबाट लागू हुनेछ।

कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

१४ फागुन, काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् ।

आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा पीडित आफै अदालत जान पाउछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् ।

यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो।

अनिल शाहले टी-२० टिममा पनि कम ब्याक गरेका छन्। त्यस्तै नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी, रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने छ। टी-२० सिरिजको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दै छ।

अस्पतालमा एक दिनको शिशु छोडेर आमा र हजुरआमा भागे

वीरगञ्जमा एक दिनको शिशु (छोरी) लाई अस्पतालमा छोडेर आमा र हजुरआमा फरार भएका छन्।

नारायणी अस्पतालमा शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन्। सुत्केरी बेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिइन्।

भोलिपल्ट शनिबार बिहान ६:३० बजे ३ केजी तौल भएकी स्वस्थ छोरी जन्माएकी थिइन्। चौथो सन्तान पनि छोरी नै जन्मिएको भनेर सासुआमा बेडी रिसाइरहेकी थिइन्। शनिबार दिनभर अस्पतालमै बसेका उनीहरु साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर भाग्न सफल भएका हुन्।

साँझ बेडमा बच्चा मात्रै देखेपछि स्वास्थ्यकर्मीहरुले उनीहरूको खोजी सुरु गरेका थिए। तर उनीहरु भेटिएनन्। आइतबार दिउँसो यो समाचार तयार पार्दासम्म उनीहरु बच्चा लिन आएका छैनन्।

प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर भागेको जानकारी दिइन्। ‘अस्पतालमा सासु र बुहारी मात्रै आएका थिएन, श्रीमान् खै भन्दा कमाउन गएका छन् भनेर भनेकी थिइन्।’ उनले भनिन् ‘ छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन्, बच्चा नै छोडेर भाग्छन् जस्तो लागेको थिएन। हिजैदेखि खोजी रहेका छौँ, भेटिरहेका छैनौँ।’

बच्चा स्वस्थ रहेको र एनआइसीयुमा राखिएको उनले बताइन्। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चितरञ्जन साहले बताए।

‘विस्तृत विवरण अस्पतालको रेकर्डमा छैन, रानीघाट ६ भनेर ठेगाना लेखाएका रहेछन्, दुवै महिलासँग मोबाइल थिएन’ उनले भने ‘ छोरी जन्मेका कारण नै छोडेर भागेको हुन सक्छ। प्रहरीसँगको समन्वयमा खोजी भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले उनीहरूको खोजतलास जारी रहेको बताए। उनीहरुले गलत ठेगाना टिपाएर गएकोले खोजीमा कठिनाइ भइरहेको उनको भनाई छ।

‘उनीहरुले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन, पहिले नै योजना बनाएर घटना घटाएको आशंका हामीले गरेका छौँ।’ डिएसपी थापाले भने ‘ अस्पतालमा भर्ना गराउन कुनैपनि आइडी कार्ड नचाहिने हुँदा गलत गर्नेलाई पनि सहज भएको छ।’

भरतपुर भ्रमण वर्ष: र्‍यालीमा सहभागी उकृष्ट वडालाई एक लाख रुपैयाँको पुरस्कार

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट र्‍याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत र्‍यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ ।

र्‍यालीमा सहभागिहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने छ । भरतपुरका २९ वटाका र्‍याली समुह मध्ये प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ ।

र्‍यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै र्‍यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ । उत्कृष्ट समुहलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्नु हुनेछ ।

यस्तै उत्कृष्ट र्‍याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट र्‍याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः रु २० हजार, रु १५ हजार र १० हजार पुरस्कार राशी रहेको छ । उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले रु २० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।

महानगरपालिकाले र्‍यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ ।
र्‍यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फहर आफैले व्यवस्थापन गर्नुपर्ने छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य बनाउन नारायणी किनारमा ५० हजारभन्दा बढीको सहभागिता गराउने गरी महानगरपालिकाले तयारी गरिरहेको छ । ठुलो जनमानसको बीचमा भ्रमण वर्षको उद्घाटन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा भरतपुरलाई परिचित बनाउने महानगरले लक्ष्य लिएको छ ।

उद्घाटन समारोहका दिन नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, नेपालका शिर्ष नेतृत्व, बुद्धिजीवि, कर्मचारी, राष्ट्रिय कलाकारको उपस्थिति रहने छ । भ्रमण वर्षको औपचारिक उद्घाटनपछि वर्षभरि नै पर्यटकीय गतिविधिहरु हुनेछन् ।

यसका लागि महानगरपालिकाले पाटेबाघ देखाउन ओपन जु, संग्रालयका रुपमा दियालो बंगलालाई सञ्चालनमा ल्याउन लागेको छ । महानगरपालिकाका मुख्य ७ वटा प्रमु्ख पर्यटकीय गन्तव्यसहित ३५ वटा पर्यटकीय गन्तव्यको पहिचान गरिसकेको छ । भ्रमण वर्ष २०२४ लाई सफल बनाई भरतपुरलाई देशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ ।

अनेमसंघ रत्ननगरको सातौं नगर अधिवेशन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । आइतबार सम्पन्न सातौं नगर अधिवेशनले केसीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष सविता चौधरी, सचिवमा गीता सिंखडा, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा कोपिला पौडेल चयन गरिएको छ ।

निर्बाचन समितिको संयोजकमा अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य सरस्वती विष्ट र सदस्यहरुमा विमला दुवाडी, लक्ष्मी कोइराल, ज्वाला पुरी वन, विन्दा कार्की, अन्जना गौतम रहेका थिए । सर्वसम्मत निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी विष्टले पद तथा गोपनीयताको सपथग्रहण गराएकी थिइन् ।

कार्यक्रममा संघको स्थापपना तथा संस्थागत विकासमा योगदान गरेका महादेवी खतिवडा, चन्द्रिका बस्नेत, विष्णुकुमारी आचार्य, सपना बोहरा, वीरन्जना सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरुले पार्टीलाई संकट पर्दा अनेमसंघले काँध थाप्ने गरेको भन्दै एमालेलाई पुरानै अबस्थामा फर्काउन कस्सिएर काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश साँसद जेएन थपलियाले एमालेलाई कमजोर बनाएर नेपालको राष्ट्रियता माथि खेल्ने विदेशी शक्तिको योजना सफल नहुने भन्दै एमाले फेरी नेपाली राजनीतिको अग्रपंक्तिमा आउने विश्वास व्यक्त गरे ।

पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले एमालेजन एकताबद्ध भएर पार्टीलाई जुरुक्क माथि उठाउने बेला आएको बताए । अनेमसंघ जिल्ला अध्यक्ष विमला दुवाडीले एमालेले कहित्यै नहार्ने गरी पार्टी संगठन विस्तारमा लाग्नुपर्ने बताइन् ।

नवनिर्वाचित नगर अध्यक्ष केसीले पहिलो कार्यकालमा बटुलेको अनुभवलाई पार्टी निर्माणमा लगाउने आफुलाई अबसर प्राप्त भएको भन्दै महिला दिदीबहिनीलाई संगठित गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । एमालेलाई कमजोर विदेशी शक्तिको इसाामा गठबन्धन गरिएको उनको भनाई छ ।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य प्रभा बराल, विष्णु कुमारी गोतामे, केन्द्रीय सल्लहाकार सदस्य महादेवी खतिवडा, पार्टी जिल्ला उपाध्यक्ष कमल पाठक, पार्टीका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, अनेमसंघ जिल्ला सह इज्चार्ज लक्ष्मी कोइराला, प्रदेश कमिटी सदस्य नारायण वन,राजाराम रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगरमा विद्यालयकाे हाेस्टेलमा छात्राले गरिन आ*त्महत्या

रत्ननगर, फागुन १२ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षीय सालिन पाेखरेलले आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ । घटना विहान १०:३० बजे भएकाे हाे ।

गाेरखा घर भई रत्ननगर वडा नं १५ माधवपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी छात्राले हाेस्टेलकाे काेठाकाे सिलिङमा स्काउटकाे डाेरीमा झुण्डिएर आत्महत्या गरेकी हुन । २ बर्ष अघि स्कुलमा भर्ना भएकी उनी हाेस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुवा आमाकाे सम्बन्धविच्छेद भएपछि शालिन मामा घरमा बसेर पढ्न थालेकाे बुझिएकाे छ ।

हाल आमा वैदेशिक राेजगारीकाे लागि दुवई र बुवा काठमाडाैंमा रहेका छन् । घटनाकाे कारण खुल्न सकेकाे छैन् । प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । विद्यालयका शिक्षकहरुका अनुसार सालिन पाेखरेल अनुशासित र लगनशिल विद्यार्थी हुन ।

चितवनको खैरहनीमा एक युवकको शव फेला , हत्याको आशंका

चितवन , ८ फाल्गुन । चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो ।

खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

घटनाको अनुसन्धानको लागि फरेन्सिक चिकित्सकसहित , तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गर्न लागेको भण्डारीले बताए ।

 

डीएसपी हुँ भन्दै चालकलाई अपशब्द बाेल्ने व्यक्ति पक्राउ

काठमाण्डाै – आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा काठमाण्डाै महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् ।

गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए ।

गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई उल्टै थर्काउँदै कुटपिटको समेत प्रयास गरेका थिए ।

उनलाई सार्वजनिक हित, मूल्य मान्यता र नैतिकताविरुद्धका कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

धम्काउने व्यक्ति प्रहरीका कर्मचारी नभएको पनि नेपाल प्रहरीले स्पष्ट पारेको छ ।